२४ पुस २०८२ बिहीबार
image/svg+xml
प्रवास

डिभी खारेज गर्ने विधेयकप्रति ओबामा असन्तुष्ट

माथिल्लो सदनबाट पारित हुने संभावना न्यून-
वासिङटन, मंसिर १७ (एजेन्सी)- अमेरिकाको तल्लो सदनले डिभी(डाइभर्सिटी भिसा) लटरीको साटो त्यहाँ प्रविधिमा उच्चशिक्षा हासिल गरेका विद्यार्थीलाई ग्रीन कार्ड दिने नयाँ कानुन 'स्टेम एक्ट' शुक्रबार पारित गरेको छ।  

रिपब्लिकन पार्टीको बहुमत रहेको हाउस अफ रिप्रजेन्टेटिभ्सले १३९ का विरुद्ध २४५ मतले एक्ट पारित गरेको हो। उक्त एक्ट माथिल्लो सदन सिनेटमा प्रस्तुत हुनेछ। तर, राष्ट्रपति बाराक ओबामाको डेमोक्रेटिक पार्टीको बहुमत भएको सिनेटबाट उक्त एक्ट पारित हुने सम्भावना न्युन छ।

सिनेटबाट समेत एक्ट पारित भएमा यसले डाइभर्सिटी भिसा लटरी खारेज हुनेछ र यो एक्ट लागू हुनेछ।

ओबामाले उक्त एक्टविरुद्ध असहमति जाहेर गर्दै आप्रवासी कानुनमा व्यापक सुधारको साटो रिपब्लिकनले संकुचित कदम चालेको प्रतिक्रिया दिएका छन्।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्सले शुक्रबार 'स्टेम एक्ट' पारित गरेपछि त्यहाँ आप्रवास कानुनबारे ठूलो बहस शुरु भएको छ। नयाँ कानुन अनुसार विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितमा स्नातक र उच्च अध्ययन गरेका विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिइने प्रावधान छ। स्टेम अर्थात् एसटिइएमले साइन्स, टेक्नोलजी, इन्जिनियरिङ र म्याथ विषयलाई जनाउँछ।

त्यहाँको डेमोक्रेटिक पार्टी उदार आप्रवास कानुनका पक्षमा उभिँदै आएको छ भने रिपब्लिकन पार्टी कडा आप्रवास कानुनको पक्षमा वकालत गर्दै आएको छ। आप्रवास नीति र कानुन परिमार्जनमा अमेरिकामा अर्को वर्ष दुवै पार्टीबीच घमासान हुने संकेत स्टेम एक्टले दिएको छ।

डाइभर्सिटी भिसाअन्तर्गत वर्षेनी ५५ हजार विदेशीलाई अमेरिकाले भिœयाउने गर्छ। डाइभर्सिटी भिसालाई प्रतिस्थापन गर्ने उद्देश्य राखि रिपब्लिकन पार्टीले प्रस्तावित स्टेम एक्ट हाउस अफ रिप्रजेन्टेभिभ्सबाट पारित गराएको हो। यो एक्टले कानुनी रूपमा अमेरिकामा भित्रिने आप्रवासीलाई मात्र नियन्त्रण नगरेर त्यहाँ अवैध बसोबास गरिरहेका एक करोड १० लाख आप्रवासीलाई प्रभावित पार्नेछ।

आप्रवासी नीति तर्जुमामा जानकार रिप्रजेन्टेटिभ लुइस गुटिरेजले अमेरिकी आप्रवासी नीतिको आधारभूत मान्यता र आप्रवासीलाई स्टेम एक्टले नमज्जाले झापड हानेको बताए।
सन् १९९० मा अमेरिकाले डिभीअन्तर्गत आप्रवासी भिœयाउन थालेको हो। डिभीअन्तर्गत अमेरिकाले अफ्रिकी आप्रवासीको संख्या बढाउने लक्ष्य राखेको थियो। सन् २०१० मा अमेरिकामा आप्रवासीमा २५ हजार अफ्रिकी राष्ट्रबाट, ९ हजार एसियाली राष्ट्रबाट र १६ हजार युरोपेली राष्ट्रबाट भित्रिएका थिए।

कतिपय अमेरिकाली डिभीले आप्रवासी कानुनको उद्देश्य पूर्ति नगरेको आरोप लगाउने
गर्छन्। अफ्रिकी र पूर्वी युरोपेली राष्ट्रका वासिन्दा परिवार पुनर्मिलन र दक्ष जनशक्ति भिसाअन्तर्गत अमेरिका भित्रिइरहेकाले डाइभर्सिटी भिसा लटरी कार्यक्रममा जालसाजी हुने गरेको र आतंकवादी त्यहाँ भित्रिन सजिलो उपाय भएको उनीहरू दाबी गर्छन्।

प्रकाशित: १६ मंसिर २०६९ २१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App