१२ मंसिर २०८१ बुधबार
image/svg+xml
प्रवास

क्रोएसियामा नेपाली दूतावास खोल्न माग

क्रोएसियामा बसोबास गर्ने नेपालीहरूले नेपाली दूतावास स्थापना गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई सहयोगको आग्रह गरेका छन्। जाग्रेबमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेपाली समुदायका प्रतिनिधिहरूले क्रोएसियामा नेपालीहरूको सङ्ख्या बढ्दै गइरहेको र दूतावासको आवश्यकता महसुस गरिएको बताएका हुन्। 

एनआरएनए का केन्द्रीय उपाध्यक्ष हेम राज शर्माले संस्थाले नेपाली र नेपालबीचको सम्बन्ध सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्। उनले भने, “गैरआवासीय नेपाली संघको अभियानले विदेशी भूमिमा बस्ने नेपालीहरूको समस्याहरू समाधान गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ। यद्यपि संस्था ठूलो हुदै गएपछि केही चुनौतीहरूको सामना गर्नुपरेको छ।” 

शर्माले थपे, “संस्था बढ्दै जान्छ, चुनौतिहरु पनि थपिन्छन्। हामी यसको समाधानका लागि तयार छौं र संस्थामा भएका असन्तुष्टिहरूलाई सम्बोधन गरेर आगामी महाधिवेशन आयोजना गर्ने तयारीमा छौं।” क्रोएसियास्थित नेपालीहरूलाई अष्ट्रियास्थित नेपाली दूतावासले सेवा पुऱ्याउँदै आएको भए पनि कर्मचारी अभावका कारण सेवा अपुग भएको उनीहरुको गुनासो रहँदै आएको छ। 

एनआरएनए क्रोएसियाका अध्यक्ष साइमन लामाले दूतावास स्थापना गर्न तत्काल पहल गर्न अनुरोध गरे। गैरआवासीय नेपाली संघ क्रोएसियाका अध्यक्ष साइमन लामाले क्रोएसियामा करिब ३०,००० नेपालीहरू बसोबास गर्दै आएको जानकारी दिए। उनले क्रोएसियामा नेपाली दूतावासको अभावका कारण राहदानी र कन्सुलर सेवामा असुविधा भइरहेको उल्लेख गरे। 

लामाले भने, “क्रोएसियामा वर्क परमिटमा आएका नेपालीहरूले समयमै तलब नपाउने र कामको ग्यारेन्टी नभएको समस्याको सामना गरिरहेका छन्। यहाँ नेपालीहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ, त्यसैले नेपाली दूतावासको तत्काल स्थापना गर्नका लागि एनआरएनएलाई पहल गरिदिन अनुरोध गर्दछु।” सो अवसरमा केन्द्रीय उपाध्यक्ष शर्माले दूतावास स्थापना सम्बन्धी पहल गर्ने प्रतिबद्धता जनाएका छन्। 

प्रकाशित: १२ मंसिर २०८१ ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App