११ कार्तिक २०८१ आइतबार
image/svg+xml
प्रवास

एनआरएनए ग्लोबल कन्क्लेभ तथा वार्षिक साधरणसभा सुरु

गैरआवासीय नेपाली संघमा सरकारले कुनै हस्तक्षेप गर्दैन : प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौंमा एनआरएनए ग्लोबल कन्क्लेभ तथा वार्षिक साधरणसभा सुरु भएको छ। रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित एनआरएनए डे र वार्षिक साधरणसभा सुरु भएको हो।  

गैरआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताए। प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताउँदै उनले भने', 'नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन्। अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन। मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ।'  

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरे। उनले सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न आग्रह गर्दै भने, 'म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो। एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन्। हामीले त्यस हैसियतले काम गर्ने हो।'  

'सरकारको तर्फबाट गैरआवासीय नेपाली संघमा कुनै हस्तक्षेप गर्दैन। तपाईहरुले राजनीतिक दलको राजनीति संघमा नगरिदिनु,’ उनले भने,‘ एनआरएनएको पदाधिकारी दलको होइन संस्थाको हुनुपर्छ।’  

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली नागरिकताको कुनै प्रयोग नभएको बताउँदै उपयोगी बनाउन के के गर्नुपर्ने हो प्रस्ताव ल्याउन आग्रह गरेका छन्। संसदबाट ऐन संसोधन गर्ने पर्ने आश्वासन दिँदै उनले एनआरएनएलाई नेपालमा काम गर्नको लागि पूर्वधार तयार भैसकेको बताए।  

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली एक जुट भएर राष्ट्रलाई योगदान गरेको बताए। गैरआवासीय नेपाली विश्वभर अवैतानिक दुतको रुपमा रहेको चर्चा गर्दै उनले गैरआवासीयहरुले नेपाललाई जसरी विश्वसामु प्रस्तुत गर्छन् नेपालको छवी त्यस्तै बन्ने उल्लेख गरे। गैरआवासीय नेपालीलाई नागरिकता नै दिएपनि त्यसको उपयोग हुन नसकेको बताउँदै मन्त्री लेखकले भने, 'अहिले नागरिकता बोकेर कुनै सरकारी कार्यलयमा पुग्दा कुनै अधिकार पाएको छैन । संविधान मै भएको व्यवस्था कार्यन्वयन गर्न आगामी अधिवेशनमा संसोधन प्रस्ताव लैजान सक्छौं।’  

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा।उपेन्द्र महतोले व्यक्तिगत रुपमा जति सफल भएपनि देश सफल हुनुपर्ने उद्देश्यले एनआरएनए अभियान शुरु भएको स्मरण गर्दै सुरुमा मुटुबाट सोचेपनि पछिल्लो समय बौद्धिकता लगाउँदा गैरआवासीय संघमा समस्या आएको बताए। ‘हामीले विदेशको धनाढ्य, ठुलो विश्वविद्यालयको प्रोफेसर भनेर नेपालमा मन्त्रालय, विश्वविद्यालयलाई सुझाव दिने गरेका छौं,’ महतोले भने,‘तर अभियानलाई नै संगै राख्न सकेनौं। सबैले संकल्प गरौं देश समृद्धि नभएसम्म केही हुँदैन।’उनले छिट्टै नै एकजुट भएर गैरआवासीय अभियानलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।  

गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले विश्वभर नेपालको राम्रो इमेज बनाउने काम गरिरहेको बताउँदै नेपालमा प्राकृतिक प्रकोप पर्दा गैरआवासीय नेपाली सधै तयार रहेको उल्लेख गरे। ‘विदेशमा बस्ने नेपालीले वार्षिक १५ खर्ब बढी रेमिट्यान्स पठाएका छन्। ठुलो लगानी समेत भित्रिएको छ,’ अध्यक्ष केसीले भने,‘नेपालमा लगानी गर्न विदेशी भएर गर्नुपर्ने अवस्था छ। कानुन संसोधन गरेर सिमा नतोकी लगानी भित्राउन दिनुपर्छ।’ उनले नेपाल सरकारको हस्तक्षेपकै कारण गत अधिवेशन विवादमा परेको बताए। ‘सिआईबी लगाएर धरपडक गरियो। तर अनुसन्धान रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएन,’ उनले भने।  

संघले नेपालमा १ अर्ब बढी परोपकारका क्षेत्रमा काम गरेको पुस्तक सार्वजनिक गरेको छ। उपाध्यक्ष हेमराज शर्माले नेपालमा १ खर्ब बढी लगानी गरेको तथ्यांक रहेको बताए। ‘गैरआवासीय नेपाली संघ सीमित व्यक्तिको बनाउने की सबैको बनाउने भन्ने दन्दको कारण उतार चढाव देखिएको छ,’ उनले भने,‘केहीले नयाँ पद्धति स्वीकार नगर्दा समस्या देखिएको छ।’ शर्माले एनआरएनए ऐनका केही व्यवस्था संसोधनको आवश्यकता रहेकाले सरकारले अगाडी बढाउन आग्रह गरे।

आइतबार सुरु कार्यक्रममा नेपालमा आर्थिक रुपान्तरका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पीएनओ), जलवायु परिवर्तनले महिला तथा  बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धी विषयमा घनीभूत छलफल हुनेछ।  

कार्यक्रमको दोस्रो दिन सोमबार राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र  नेपाल पर्यटन प्रवर्धन : नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिका लगायतका सत्रहरु समावेश गरिएका छन्। यसैबीच २८ अक्टोबर २०२४ तदनुसार कार्तिक १२ गते गैरआवासीय नेपाली संघको विधान अनुसार नियमित वार्षिक साधारण सभा आयोजना गरिनेछ । संघका ६० भन्दा बढी देशका प्रतिनिधिहरुले प्रत्यक्ष र भर्चुर्अल माध्यमद्धारा सहभागीता जनाउने छन्। साथै आर्थिक तथा वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ। 

प्रकाशित: ११ कार्तिक २०८१ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App