१२ माघ २०८२ सोमबार
image/svg+xml
समाज

जग्गादाता १७ जना सम्मानित

शिलालेख स्तम्भको अनावरण गर्दै जग्गादाता ।

सशस्त्र प्रहरी बल नेपालका लागि खोटाङस्थित गुल्म भवन निर्माणार्थ निःशुल्क जग्गा उपलब्ध गराउने १७ जना स्थानीयलाई सम्मान गरिएको छ।  

सदरमुकाम दिक्तेल रुमाकोट मझुवागढी नगरपालिका–४ लफ्याङ र वडा नम्बर ५ को खाल्ले सीमास्थित मझुवागढीमा स्थापित गुल्म भवन निर्माणका लागि करोडौँ मूल्यको जग्गा प्रदान गर्ने जग्गादातालाई सम्मानपत्र प्रदान गर्नुका साथै गुल्म भवन परिसरमा शिलालेख स्तम्भ निर्माण गरी नाम अंकित गरिएको हो।

माओवादी सशस्त्र द्वन्द्वकालमा अस्थायी गुल्म स्थापना गरिएको सो स्थानमा २०६७ सालदेखि सशस्त्र प्रहरी बलले नं. ७ गुल्म हेडक्वाटर हलेसी, खोटाङ नाम दिएर स्थायी भवन निर्माण गरेको छ। गुल्म भवन निर्माणका लागि १७ जना स्थानीयले कुल ४३ रोपनी ४ आना २ पैसा १ दाम क्षेत्रफल बराबरको करोडौँ मूल्यको जग्गा निःशुल्क उपलब्ध गराएका हुन्।

सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसको अवसरमा शुक्रबार गुल्म भवन परिसरमा निर्माण गरिएको जग्गादाताहरूको शिलालेख स्तम्भको अनावरण गरिएको छ। सबैभन्दा बढी ७ रोपनी २ पैसा १ दाम जग्गा दान गर्ने सावित्रा विष्ट र ५ रोपनी २ पैसा ३ दाम जग्गा दिने खड्गबहादुर कटवालको हातबाट संयुक्त रूपमा शिलालेख स्तम्भको अनावरण गरिएको हो।

अन्य जग्गादातामध्ये भूपराज कटवालले ५ रोपनी ३ दाम, भीमबहादुर कटवालले ३ रोपनी ११ आना २ दाम, गोविन्दबहादुर कटवाल (क) ले ३ रोपनी ५ आना २ दाम, सीताराम कटवालले ३ रोपनी २ आना ३ दाम जग्गा प्रदान गरेका छन्। त्यसैगरी धनमायाँ कटवालले २ रोपनी १० आना १ पैसा ३ दाम, छत्रबहादुर कटवालले २ रोपनी १० आना, भक्तबहादुर कटवालले २ रोपनी, पुष्पबहादुर कटवालले २ रोपनी, ध्रुवलाल कटवालले १ रोपनी १ आना २ पैसा १ दाम, केशरबहादुर कटवालले १ रोपनी १ आना २ पैसा १ दाम, ललितबहादुर कटवालले १ रोपनी २ पैसा ३ दाम, चंखबहादुर कटवालले १ रोपनी, कृष्णबहादुर कटवालले १४ आना २ दाम, खेमबहादुर कटवालले १३ आना २ पैसा र बर्तकुमारी राजबंशीले १२ आना १ पैसा जग्गा दान गरेका छन्।

कार्यक्रममा गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र न्यौपानेले जग्गादाता १७ जना तथा गुल्म स्थापनामा योगदान पुर्‍याउने अन्य २५ जना स्थानीयलाई सम्मानपत्र प्रदान गरे। यस अवसरमा तत्कालीन संविधानसभा सदस्य विशाल भट्टराई, तत्कालीन जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चामलिङ र वरिष्ठ अधिवक्ता देवराज कटवाललगायतलाई पनि सम्मान गरिएको थियो।

स्थापना दिवसकै अवसरमा सशस्त्र प्रहरीले जिल्लाका विभिन्न स्थानीय तहका ७० वर्ष नाघेका ३५ जना ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप न्यानो टोपी वितरण गरेको छ। जाडो मौसममा केही राहत मिलोस् भन्ने उद्देश्यले न्यानो टोपी वितरण गरिएको डिएसपी न्यौपानेले जानकारी दिए।

प्रकाशित: ९ माघ २०८२ २०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App