आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ।
सोमबार (आज) त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा अलआउट हुँदै १४० रन बनायो। स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक ४५ रन बनाइन्। स्कटल्यान्डकी ओपनर क्याथरिन फ्रेजर शून्य रनमै आउट भइन्। त्यस्तै, स्कटल्यान्डकी अर्की ओपनर डार्शी कार्टर १ रन बनाएर आउट भइन्।
नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट लिइन् भने रुविना क्षेत्रीले ३ विकेट लिइन्। त्यस्तै, सीता राना मगर, रुविना क्षेत्री, कविता जोशी र रिया शर्माले समान १-१ विकेट लिए।
आज दुवै टोलीलाई सुपर सिक्समा पुग्न जित्नै पर्ने दबाब रहेको छ। स्कटल्यान्डसँग पराजित भएमा नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त हुनेछ। नेपाल पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो, भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो।
यस्तै तेस्रो खेलमा भने टेस्ट राष्ट्र जिम्बाव्वेलाई ६ विकेटले पराजित गर्दै सुपर सिक्सको सम्भावना कायम राखेको हो। नेपालको प्लेइङ ११ मा कप्तान इन्दु बर्मासहित पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, मनिषा उपाध्याय, सीता राना मगर, रोमा थापा र कविता जोशी रहेका छन् ।
प्रकाशित: १२ माघ २०८२ १०:३१ सोमबार





