इस्लामिक रिभोल्युशनरी गार्ड्स कर्प्स (आईआरजीसी)ले इजरायलमाथि युद्ध सुरु भएदेखिकै सबैभन्दा ठुलो आक्रमण गरेको बताएको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणमा धेरै मिसाइल प्रहार गरिएको छ, जसमा लामो दूरीको खोरमशहर ब्यालिस्टिक मिसाइल पनि छ।
इरानले मिसाइलहरूले क्षेत्रमा रहेका धेरै इजरायली लक्ष्य र अमेरिकी अड्डाहरूलाई निशाना बनाएको बताएको छ। आईआरजीसीले शत्रु(अमेरिका-इजरायल)लाई पूर्ण रूपमा नहराएसम्म आक्रमण जारी राख्ने बताएको छ।
उसले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको छ। जस अनुसार खोरमशहरमा तीन घण्टाभन्दा बढी समयसम्म लगातार सुपर-हेभी मिसाइल प्रहार गरिएको थियो।
इरानले तेल अभिभको दक्षिणमा रहेको हेला उपग्रह सञ्चार केन्द्र र पश्चिम जेरुसेलमको बिर याकुब र हाइफामा रहेका सैन्य स्थलहरूलाई निशाना बनाएको बताएको छ। इराकको एर्बिलमा रहेको अमेरिकी अड्डा र बहराइनको मनामामा रहेको अमेरिकी पाँचौं नौसेना फ्लीटको मुख्यालयमा पनि आक्रमण गरेको दाबी गरेको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानसँगको युद्धको खर्चका लागि अर्बौं शेकेल छुट्याउने बताएका छन्। युद्धका बाबजुद पनि देशको अर्थतन्त्र बलियो रहेको बताएका छन्।
नेतान्याहूले अमेरिका र इजरायलले युद्धमा धेरै इरानी सरकारी लक्ष्यहरूमा आक्रमण गरेको र जारी राख्ने बताए।
उता, इरानी राजधानी तेहरानमा रातभर ठुलो विस्फोटको आवाज सुनिएको छ। इजरायली रक्षा बलले तेहरान र तब्रिजका धेरै स्थानहरूमा एकैसाथ आक्रमण गरेको बताएको छ।
इजरायली रक्षा बलका अनुसार तब्रिजमा रहेको विशेष एकाइ कमान्ड केन्द्रलाई निशाना बनाइएको थियो भने तेहरानमा रहेको इमाम हसन सुरक्षा एकाइको सैन्य परिसर र ब्यालिस्टिक मिसाइल प्रक्षेपणसँग जोडिएका कमान्ड केन्द्रलाई पनि लक्षित गरिएको थियो।
मराघेह प्रान्तमा रहेका गुप्तचर तथा सामान्य सुरक्षा प्रहरी कमान्ड केन्द्रहरू र तब्रिजमा रहेको बासिज फोर्सेसको ठुलो कम्पाउन्डलाई पनि निशाना बनाइएको थियो। इजरायलले इरानबाट प्रहार गरिएका केही मिसाइलहरूलाई रोकेको बताएको छ।
अर्कोतर्फ, अमेरिकी रक्षामन्त्री पिट हेगसेथले शत्रु(इरान)लाई पूर्ण रूपमा हराउन नसकेसम्म अमेरिका पछि नहट्ने बताएका छन्। एजेन्सी
प्रकाशित: २७ फाल्गुन २०८२ ०८:५६ बुधबार





