२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसले ६०-७० सिट ल्याउने आशा थियो, लज्जाजनक भयो: रामहरि

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले चुनावअघि पार्टीले प्रत्यक्षतर्फ कम्तीमा ६० देखि ७० सिट जित्ने अपेक्षा गरे पनि अन्तिम नतिजा लज्जाजनक आएको बताएका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै उनले पार्टीको कमजोर प्रदर्शनलाई गम्भीर रूपमा लिएको बताएका हुन्।

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा खतिवडाले भने, ‘हाम्रो पूर्वअनुमान र ग्राउन्ड रिपोर्ट अनुसार प्रत्यक्षतर्फ ६० देखि ७० सिट आउँछ भन्ने पूर्ण विश्वास थियो। तर, परिणाम हाम्रो कल्पनाभन्दा बाहिर गयो, यो हाम्रा लागि लज्जाजनक अवस्था हो।’

उनले पार्टी नेतृत्वप्रति लक्षित गर्दै पुराना अनुहार र कार्यशैलीप्रति जनताको चरम वितृष्णा देखिएको औंल्याए। कांग्रेसकै गढ मानिएका क्षेत्रमा समेत पराजय भोग्नुपरेको विषयलाई उनले पार्टीभित्रको टिकट वितरण र आन्तरिक व्यवस्थापनको कमजोरीका रूपमा व्याख्या गरे।

‘जनताले हामीलाई पत्याएनन्, उनीहरूले नयाँ र युवा नेतृत्व खोजेका छन् भन्ने सन्देश यो चुनावले दिएको छ,’ खतिवडाले भने।

समानुपातिकतर्फ पनि कांग्रेसको मत खस्किएको विषयमा उनले पार्टीले गुटबन्दी र आसेपासेलाई मात्र च्याप्ने प्रवृत्ति अन्त्य नगरेसम्म सुधार सम्भव नभएको सुनाए।

उनले भने, ‘जनताले हामीलाई भोट नदिएर ठूलो पाठ सिकाएका छन्। अब पनि हामी सुध्रिएनौं र पुरानै शैलीमा चलिरह्यौं भने हाम्रो अवस्था झन् नाजुक बन्नेछ।’

प्रकाशित: २७ फाल्गुन २०८२ १९:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App