काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ को आधारभूत तह कक्षा ८ को उत्तीर्ण परीक्षाका लागि ५७ वटा केन्द्र तोकेको छ।
आगामी चैत ५ गतेदेखि सञ्चालन हुने परीक्षाका लागि आधारभूत तह परीक्षा समितिको आज बसेको बैठकले परीक्षा केन्द्र निर्धारण गरेको हो।
गत माघ १४ गते बसेको बैठकले चैत ५ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए।
यस वर्ष ४९४ वटा विद्यालयका १९ हजार ११७ जना विद्यार्थी आधारभूत तह उत्तीर्ण परीक्षामा सहभागी हुँदैछन्।
यसमा १० हजार ७४५ जना छात्र र आठ हजार ३७२ जना छात्रा छन्। विद्यालयको प्रकृतिका आधारमा दुई वटा कारागार र एउटा विशेषसहित ७७ वटा सामुदायिक विद्यालयका चार हजार ६१४, २० वटा वैकल्पिक विद्यालयका ८३७ जना, ६ वटा धार्मिक विद्यालयका ७० जना र ३९१ वटा संस्थागत विद्यालयका १३ हजार ५९६ जना विद्यार्थीले परीक्षामा सहभागी हुने प्रमुख ढकालले जानकारी दिए।
परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्र कायम गरिएको विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोक्ने निर्णय भएको छ।
प्रकाशित: २७ फाल्गुन २०८२ १९:४१ बुधबार





