नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले चुनावमा पार्टीको पराजय र जनताको वितृष्णा बढ्नुमा टिकट बाँडफाँटमा देखिएको विकृति मुख्य कारण रहेको बताएका छन्।
बुधबार नागरिक न्युजको ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा कुरा गर्दै उनले पार्टी नेतृत्वले जनभावना बुझ्न नसकेको र आसेपासेलाई मात्र अवसर दिँदा यस्तो परिणाम आएको औंल्याए।
खतिवडाले समानुपातिक निर्वाचन प्रणालीको समेत आलोचना गरे। ‘हामीले त समानुपातिक प्रणालीलाई भँडुवा प्रणाली पो बनायौं। जसले धेरै पैसा दिन सक्छ वा जो नेताको नजिक छ, उसैले टिकट पाउने अवस्था आयो,’ उनले भने, ‘यसले गर्दा इमान्दार र क्षमतावान् कार्यकर्ताहरू ओझेलमा परे।’
उनले पार्टीभित्रको गुटबन्दी र नेतृत्वको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाए। ‘हाम्रो पार्टीमा एउटै व्यक्तिले पटक-पटक अवसर पाउने, तर नयाँ र सक्षम अनुहारलाई सधैं रोक्ने प्रवृत्ति छ,’ उनले भने, ‘यही कारणले गर्दा जनताले हामीलाई विकल्पका रूपमा हेर्न छाडेर नयाँ शक्तिहरूतर्फ आकर्षित भएका हुन्।’
खतिवडाले चुनावको नतिजाले कांग्रेसलाई ठूलो झड्का दिएको र यसबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले भने, ‘हामीले जनतालाई ठूला आश्वासन दियौं, तर सामान्य सेवा प्रवाह र सुशासनमा ध्यान दिएनौं। यसको सजाय हामीले चुनावमा पायौं।’
उनले कांग्रेसले अबको दिनमा आफ्नो कार्यशैली सुधार्नुपर्ने र युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औंल्याए। ‘जनताले हामीबाट परिवर्तन खोजेका छन्। यदि हामीले आफूलाई सुधारेनौं भने हाम्रो अवस्था झन् खस्किनेछ,’ उनले चेतावनी दिए।
प्रकाशित: २७ फाल्गुन २०८२ १९:५१ बुधबार





