१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

प्रधान सेनापति म्याराथन माघ २४ मा

प्रधान सेनापति खुला म्याराथन दौड प्रतियोगिताको ११औं संस्करण आगामी माघ २४ गते काठमाडौंमा आयोजना हुने भएको छ।

नेपाली सेनाको २६३औं सेना दिवस तथा महाशिवरात्रिको अवसरमा हुने प्रतियोगितामा दुई हजार पाँच सयभन्दा बढी धावकको सहभागिता हुने भएको छ। नेपाली सेनाले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो।

बलियो एकता, सुरक्षित राष्ट्र भन्ने राष्ट्रिय भावनासहित प्रतियोगिता सञ्चालन गरिने जनाइएको छ। प्रतियोगिता पाँच विधामा सञ्चालन हुनेछ। ४२.१९५ किलोमिटर पूर्ण म्याराथन पुरुष खुलातर्फ २५० जनाको सहभागिता रहनेछ। २१ किलोमिटर हाफ म्याराथन महिला तथा पुरुष खुलातर्फ ६०० जना सहभागी हुनेछन्। सेनाका कर्मचारी, अवकाशप्राप्त सैनिक तथा कक्षा १०–१२ का विद्यार्थीका लागि १० किलोमिटर दौड आयोजना गरिनेछ।

जसमा आठ सय जनाको सहभागिता रहने अनुमान गरिएको छ। सेनाका उच्चपदस्थ अधिकारी तथा आमन्त्रित अतिथिका लागि पाँच किलोमिटर वाकाथनमा चार सय ५० जना सहभागी हुनेछन्। सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा ७–९ का विद्यार्थीका लागि पाँच किलोमिटर दौड आयोजना हुने भएको छ।

 प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कारसँगै मोटरसाइकल तथा स्कुटरजस्ता आकर्षक पुरस्कार प्रदान गरिनेछ। म्याराथन पुरुष खुलातर्फ प्रथम हुने खेलाडीले तीन लाख, द्वितीयले दुई लाख र तृतीयले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। यस विधामा चौथोदेखि दशौँ स्थानसम्म स्थान हासिल गर्ने खेलाडीहरूलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ।

हाफ म्याराथन महिला तथा पुरुष खुलातर्फ पहिलो हुने खेलाडीले एक लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: १२ माघ २०८२ १०:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App