२७ पुस २०८२ आइतबार
image/svg+xml
ब्लग

थाइल्यान्ड जाँदा

थाइल्यान्ड सरकारले यौन पर्यटनलाई लहलहाउँदो बाह्रमासे बालीका रूपमा मलजल गरेर हुर्काएको रहेछ।


यता हामी वर्षाले ल्याएको प्राकृतिक विपत्ति अवलोकन गर्दैछौं, उता जहाज उचाइ लिँदैछ। पुतलीजस्ता थाई एयर होस्टेसहरू चिया, कफी र ह्विस्की बाँड्दैछन्। दुई पेग ह्विस्कीले ऊर्जा दियो। आँखा तिरमिराउँदै थियो। एअरहोस्टेजलाई सोधेँ, 'तिम्रो भाषामा नमस्तेलाई के भन्छ?'
'सवान्डी खाप,' दुई हात जोडेर मुस्काउँदै उनले जवाफ फर्काइन्।
जहाजभन्दा तलतल बादल मडारिँदै थिए। पर क्षितिजसम्म निलो समुद्र देखिँदै थियो। बंगालको खाडी, पूर्वी भारत र बर्मालाई पार गर्दै करिब तीन घण्टामा थाइल्यान्डको अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण भयो। नेपालमा मध्यदिन हिँडेका हामी थाइल्यान्ड पुग्दा साँझ परिसकेको थियो।


पाँचदिने भ्रमण रोमान्चक बनाउने जोहो गर्दै ड्युटी फ्री सपबाट केही रक्सीको बोतल खरिद गरेर बाहिरिने क्रममा भेटिइन् - हिस्सी परेकी गोरी थाई गाइड लेक। हेटौंडा ग्रुपको प्ले कार्ड हातमा हल्लाउँदै उनी हाँस्दै हामीतिर आइन्। हामी पछि लाग्यौं। बैंककदेखि ८० किलोमिटरबाहिरको विमानस्थलबाट हामी लाग्यौं थाइल्यान्डको प्रसिद्ध समुद्र बिच पत्तायातिर। पत्ताया थाइल्यान्डको पर्यटकीय ठाउँ। सडक महोत्सका बेला झिलिमिली भएजस्तै थिए सडकहरू। रात छिप्पेसँगै मानिसको भीड बढ्दै थियो। रात्रिक्लब, डिस्को र पब, बारहरूबाट आएको चर्को संगीतको धुनसँगै मानिस मदमस्त थिए। मसाज सेन्टरमा थाई सुन्दरीहरूको मोलमोलाइ चल्दै थियो।


विश्वप्रख्यात परम्परागत थाई मसाज नेपाली ग्रामीण समाजमा सुत्केरी आइमाई र बच्चालाई तेल लगाउने शैलीकै कला, कौशल र पद्दतिको विकसित रूपझैं लाग्थ्यो।


दोस्रो दिन पहाड, जमिन र जंगलको मात्र अनुभव संगालेको हाम्रो मनमस्तिष्क पत्तायाको छालसँगै बत्तिँदै थियो। निलो समुद्रमा हराउँदै कोरल टापु पुग्यौं। समुद्रमा बत्तिरहेको जहाज छालसँग टकराउँदै ठूलो आवाज निकाल्छ। आवाजले मन सिरिंग हुन्छ। रंगीविरंगी डुंगा र मोटरबोट समुद्रभरि कुदिरहेका थिए।


प्यारासुटमा उडेर माथिबाट समुद्रको दृष्यावलोकनबाट हामी रोमान्चित भयौं। कोरल टापुकिनारको छालमा हामीले धित मरुन्जेल पौडी खेल्यौं। त्यहाँ नेपाली भाषामा बोलेको सुनियो। अमेरिका जाने क्रममा फुर्सदको समय बिताउन यहाँ आएको रहेछ नेपाली परिवार। नेपालीको पर्यटन गन्तव्यस्थल थाइल्यान्ड बन्दै गरेको अनुभव सँगाल्यौं। समुद्री यात्राको रमाइलो अनुभव बटुलेपछि होटल फर्कियौं। खाना खाएर हामी थाई परम्परागत संस्कृति र सभ्यताको अवलोकन गर्न सहरदेखि टाढा सानो पहाडी गाउँ लाग्यौं।

मौलिक थाई परम्परागत नृत्य, संस्कृति, रहनसहन र जवनशैलीको अनुपम उदाहरणको संगम ठाउँ। रातमा कहिल्यै नसुत्ने पत्ताया रंगीचंगी र झिलिमिली दुलहीझैं सिगारिएको थियो। सडकचोक र गल्लीगल्लीमा सडक महोत्सवझैं मेला थियो। जीवन बाँच्ने कला र जीविकोपार्जनको थरिथरि रूपरंग सडकभरि छताछुल्ल पोखिएको थियो। नाइट क्लब डिस्को बार तथा पवहरूबाट आएको संगीतको चर्को आवाजमा पत्ताया झुमिरहँदा हामी रंगन संसारमा विलिन भयौं।


तेस्रो दिन। हाम्रो गन्तव्य राजधानी बैंकक। बाटोमा हामीले प्रसिद्ध चिडियाखानाको अवलोकन गर्‍यौं। बाघ, हात्ती र गोहीजस्ता जनावरको मनोरन्जनपूर्ण प्रस्तुति हेर्नलायककै थियो। असंख्य पर्यटक उक्त कार्यक्रम हेर्न ओइरिएका थिए। चिडियाघरको व्यवस्थापन अत्यन्त व्यवस्थित थियो। आफन्तका लागि केही उपहार तथा आफ्ना आवश्यक सामग्री खरिद गर्ने सबैको इच्छाअनुसार हामीलाई हाम्री गाइड लेकले बैंककका विशाल डिपार्टमेन्टल स्टोरमा लैजाने भइन्। हामी उनको पछि लाग्यौ। 'विग-सि' र 'प्लाटिनियम' जस्ता विशाल सपिङ सेन्टरमा केही सरसामान किनेर बजार हेर्‍यौं। बैंककका सफा र चौडा सडकमा सवारी साधनको लावालस्कर ताँतीबीच पाँचौं दिनको भ्रमण अवधिमा कहिल्यै कुनै गाडीको कर्कस हर्न सुन्न परेन। सडक जाम र लोड सेडिङको कुनै समस्या भोग्नु परेन। रातमा पनि दिनझैं उज्यालो चमकधमक देखेर हाम्रा साथी प्रश्न गर्थे, 'होइन यहाँ कहिल्यै लोडसेडिङ र चक्काजाम हुँदैन कि क्या हो?'


सडक र मन्दिरछेउछाउ बसेका मगन्तेहरूले सहरको शोभालाई बिगारेर पर्यटकलाई हैरान बनाउने यहाँको जस्तो कुरूप दृष्य त्यहाँ कतै फेला पार्न सकेनौं। व्यस्त सडकमाथि तीन तहसम्मको आकासे पुलहरूबाट मेट्रो टे्रन दगुरिरहेका देखिन्थे। सहरछेउ रहेका रेलका दोहोरो लिकबाट एकैपटक पास गराउने व्यवस्था मिलाएर सडकमा एकपटक मात्र सवारी साधनलाई रोक्नुपर्ने व्यवस्था मिलाइएको हामीले धेरै ठाउँमा देख्यौं। थोरै तर मिठो बोल्ने थाईहरू सौम्य र भद्र देखिन्थे। दुई सवारी चालकको भेटघाट र बोलीचालीमा हामीकहाँ जस्तो होहल्ला गर्दै भलाकुसारी गर्ने परम्परा हामीले कतै पाएनौं। देशका ९५ प्रतिशत जनता बौद्धमार्गी भएकाले बौद्ध मठमन्दिर जताततै देखिए। मनोकांक्षा पूर्ण होओस् भन्दै बौद्धनाथहरूमा थाईहरू परम्परागत वेशभूषामा नाच्दा रहेछन्।


बुद्ध जन्मेको देश भनेर गर्व गर्न मात्र हामी नेपालीले जानेका रहेछौं भन्ने थाईहरूको बुद्धप्रतिको समर्पण देख्दा स्पष्ट भयो। सहरको मुख्य र भिआइपी रोडको नामकरण 'लुम्पिनी रोड' राखिएको रहेछ। अमेरिका र बेलायतको दुतावास भएकाले त्यो सडकलाई भिआइपी रोड भनिँदो रहेछ। सँगै विशाल लुम्पिनी गार्डेन निर्माण गरिएको छ। थाई जनजिब्रोले लुम्बिनी र बुद्धलाई 'लुम्पिनी र बुडा' शब्द उच्चारण गर्दा मात्र पनि हाम्रो घनिष्टतम सम्बन्धले बाँधिएझैं लाग्थ्यो। साथै बौद्ध मन्दिरमा पाइने रामायण र महाभारतका पात्रको मूर्ति र चित्रकलाले पनि धार्मिक सद्भावलाई बलियो बनाएको पाइन्थ्यो।


भियतनाम युद्धताका अमेरिकी सैनिकको मनोरन्जन र मोजमस्तीका लागि खोलिएको 'सेक्स क्याम्प'। थाई सुन्दरीको जवानीको मोलमोलाइ र उपभोगवाद संस्कृतिलाई सरकारले रासायनिक मलजल दिँदै अझै उर्वर र फस्टाउँदो व्यवसाय बनाउँदै रहेछ। सडक गल्ली र होटलमा मसाज सेन्टरका नाममा छानी-छानी थाई सुन्दरीको जवानीको किनबेच र मोलमोलाइ हाम्रो तरकारी बजारजस्तो सर्वसुलभ, सर्वमान्य र सर्वग्राह्य संस्कृति बनेको रहेछ।


रात्रिक्लब, डिस्को र पब बारहरूमा इच्छाअनुसार भाट (मुद्रा) तिरेर मनोरन्जनका लागि चौबीसै घण्टा सबैलाई पूर्ण छुट थियो। आदर्श नारीका रूपमा देख्न अभ्यस्त हाम्रा दृष्टिमा यस्ता परिस्थितिका लागि सहर्ष तयार कलिला थाई युवती विवस थिए या लालायित थिए, पटक्कै बुझ्न सकिएन। जे होस्, थाइल्यान्ड सरकारले यौन पर्यटनलाई लहलहाउँदो बाह्रमासे बालीका रूपमा मलजल गरेर हुर्काएको रहेछ।


बैंककको फस्ट होटलमा बिहानको नास्ता खाएर हामी एयरपोर्टतर्फ लाग्दै थियौं। हाम्री गाइड मिस लेक केही उदास देखिइन्। पाँच दिनसम्मकी सहयात्री फरासिली गाइडलाई छाडेर आउनुपर्दा हामीलाई नरमाइलो लाग्यो। हामीले बस ड्राइभर र उनका लागि टिप्सवापत केही थाई भाट उठाएर दियौं। साथी गणेशले विदाइका दुई शब्दसहित 'तिम्रो सहयोग माया र सद्भाव लिएर जाँदैछौ र बुद्ध जन्मेको देशमा कुनै दिन तिम्रो आतिथ्य गर्नेछौं' भन्दै लुम्बिनी भ्रमणको निमन्त्रणा दिए।


बैंककको फस्ट होटलबाट हामी सूवर्णभूमि विमानस्थल पुग्यौं। विमानस्थलभित्र प्रवेश गर्दा मैले भनेँ, 'सवान्डी खाप!'

प्रकाशित: ३० आश्विन २०६६ २३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App