पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गरेर सम्पूर्ण नेपालीको पहिचान स्थापित गरेकोमा यतिबेला मुलुक असहज परिस्थितीमा अघि बढिरहेकाले गर्दा देश जोगाउन कोही चुक्न नहुने इटहरीमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
नेपाल एकीकरणका अभियान्ता राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्तीको अवसर पारेर इटहरीमा आइतबार आयोजित कार्यक्रमका वक्ताहरुले देशको रक्षा गर्न कोही पनि चुक्न नहुनेमा जोड दिएका हुन् ।
‘एमसीसीका कारण चीनले नेपाललाई हेर्ने दृष्टिकोण सकारात्मक छैन, भारतको युपीमा पछिल्लो समय अस्वाभाविक बढेको आप्रावासीका कारण नेपाललाईं सहज छैन,’ पूर्वमन्त्री रामकुमार सुब्बाले भने, ‘यतिबेला हामी दुवै देशको चपेटमा छौं ।’
उनले दुवै छिमेकी मुलुकको चपेटमा रहेका बेला जेनजी पुस्ताको आन्दोलनपछि बनेको सरकारप्रति जसले बनायो उसैलाई विश्वास नहुनु अनि जिम्मेवारी पाएकाले पनि सो अनुसारको महसुस नहुनुले हिजो र आजमा देशप्रतिको हैसियत कमजोर हुँदै गएको टिप्पणी गरे ।
‘विगत र आजको अवस्थालाई नियाल्दा सोच्नुपर्ने स्थिती आएको छ । तावामा माछा भुटे जस्तो अवस्थामा जनता छन् । अलमलमा छन् । तावामा माछा भुट्दा उफ्रिदा भुङ्ग्रोमा पर्ने खतरा छ,’ उनले भने, ‘यही अलमलका बिच मुलुक अघि बढ्दा भविष्यमा के होला अनिश्चित छ ।’ उनले केही दिनअघि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो दम्पतीलाई अमेरिकाले नियन्त्रणमा लिएको घटना स्मरण गर्दै नेपालको अवस्था पनि दिनदिनै कमजोर भएकाले गर्दा सवै सचेत हुनुपर्ने जिकिर गरे ।
१४ वर्षदेखि इटहरीमा शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकीकरण दिवस मनाउँने गरिएको छ । पृथ्वीनारायण शाहको योगदानको विषयमा पुस १७ गते भएको विद्यालयस्तरीय र कलेज स्तरीय वकतृत्वकला प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार समेत वितरण गरियो । जसमा विद्यालयस्तरीय वकतृत्वकलामा सिभी स्कुलका यूनिष ढुंगाना प्रथम, जनता माध्यमिक विद्यालयका अदिति निरौला दोस्रो र विश्व आदर्श स्कुलका युसन पाठक तृतीय भएका थिए । प्रथम, दोस्रो र तृतीयले क्रमशः नगद पुरस्कार सात हजार, पाँच हजार र तीन हजारसहित प्रमाणपत्र प्रदान गरियो ।
यस्तै, कलेजस्तरीय वकतृत्वकला प्रतियोगितामा सुष्मा गोदावारी कलेजकी श्रीयसी भट्टराई, पूर्वाञ्चल कलेजकी रिदिमा पौडेल र कस्तूरी कलेजबाट ट्रिङ्कल घले तृतीय भएकोमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद नगद पुरस्कार सात हजार, पाँच हजार र तीन हजारसहित प्रमाणपत्र प्रदान गरियो ।
प्रकाशित: २७ पुस २०८२ १८:१२ आइतबार



-600x400.jpg)

