राजनीतिको उथलपुथल र कुर्सीको खेलले यतिबेला मुलुक सतीले सरापेको देश भनेझै छ । ठूलाबडाको रजाईमा चलेको छ यो मुलुक। त्यसमा पनि देशले समृद्ध नेपाल :सुखी नेपाली भन्ने नारा बोकेर हिँडेको छ। तर समाजको पीँधमा रहेकाहरुले राज्य मेरो अभिभावक भन्ने नारा अनुभूत गर्न पाएका छन् त?
समृद्धिको नाराले उनीहरुको पीडालाई समेटेको छ त? गाँस, बास र कपासदेखि, स्वास्थ्य, अनि शिक्षामा सर्वसाधरणको पहँुच पुगेको छ त? नेपालका हरेक नागरिकले नचुहिने छत र एक छाक खाना सुनिश्चित गर्न सकेका छन त? साँच्चै हालै मेरो दोलखाको पहिलो भ्रमणले यी प्रश्नहरुमा फेरि प्रश्न गर्न बाध्य बनाएको छ।
वरपर ठूलाठूला कंक्रिटका बिल्डिङहरु बनिरहेका छन्। नजिकै प्रसाशन कार्यालय छ, सुरक्षा निकायको बढेमानको घर छ। छेउमा ठुलो टुँडिखेल बन्दैछ। तर यतै कोही भने सानो टेण्टमा खुम्चिएर बस्न बाध्य छन्। पीडित आवाज नेपाल भन्ने संस्थाका बालबालिका र महिलाहरु २०७२ सालको पुरानो टेण्टमा बस्न बाध्य छन्। कम्तीमा पनि ती बिल्डिङ र फराकिलो बाटो बनाइ राख्दा, ती बालबालिका र महिलाहरुका लागि पनि नचुहिने छत बनेको भए हुन्थ्यो। त्यस खालका बालबालिका र महिलाका आवासको व्यवस्था गाउँपालिकामै गर्न नसके पनि जिल्लास्तरमा गर्न सके नागरिकले राज्यको अभिभावकत्व महसुस गर्न पाउने थियो।
यो त दोलखा चरिकोटकोमात्र हैन मुलुकका ७७ जिल्ला र ७५३ वटा गाउँपालिकाको साझा समस्या हो। देशमा तीन तहको सरकार बन्दा पनि दूरदराजमा बालबालिकाहरु नचुहिने छत र आधारभूत कुराबाट बन्चित छन्।
यस्तोमा समृद्धिको नारामा प्रश्न उठ्नु स्वभाविक हुन्छ। यस बिषयलाई अझै मध्यनजर जुन दिन हामी त्यस सेल्टरको अवलोकनमा गएका थियौं, त्यही दिन माननीय रक्षामन्त्री पनि दोलखा आएका थिए, उनका आँखाले पनि ती समस्याहरुलाई हेर्न चाहेनन्।
त्यस सेल्टरमा रहेकामध्ये धेरै जना महिला र बालिका छन्। अनि खोइ त महिला र बालिकाको लागि बोल्ने आवाजहरु? यस बिषयमा पनि महिला नेतृत्वहरुको एकत्रित आवाज हुने हो भने यस्ता समस्या हल गर्न भने असम्भव थिएन।
प्रकाशित: ५ जेष्ठ २०७८ १३:५१ बुधबार