coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
ब्लग

झगडाको औषधि

सानैमा पढिएको कथा हो‘झगडाको औषधि। झगडा कम गराउन किन पानी मुखमा राखेको होला भन्ने लाग्थ्यो त्यतिबेला। मुखमा पानी राखेर कसरी झगडा टुंगिएको सुन्दा अचम्म लाग्थ्यो। सानैमा पढेका यो कथाको सन्देश  कति ठूलो रहेछ भन्ने यतिबेला प्रष्टै बुझिदै छ।

अहिले मुलुकमा कोरोनाभन्दा पनि बढी फैलिएको भने झगडा हो। एकले अर्काको कुरा काट्ने प्रवृत्तिले निम्ताएको यो झगडा  सर्वत्र छ। एकछिन अगाडिसँगै बसेर कुरा सक्न पाएको हुँदैन। अर्को ठाउँमा गएर कुरा काटिहाल्यो। पहाडमा कुरा गर्यो, तराईमा पुगेर काट्यो। तराईमा कुरा गर्यो पहाडामा आएर काट्यो। यस्तो लाग्छ कुरा काट्ने दोहोरी चलिरहेको छ। यसो हेर्दा कुरा काटे जस्तो लागे पनि। सारमा हेर्ने हो भने ति केटाकेटीको झगडाभन्दा कम्ता छैनन्।    

पछिल्लो घटनाक्रम नै हेरौ, बिहीबार राजधानीमा केपी ओलीसँग घन्टौ वार्ता गरेर शुक्रबार जनकपुर झरेका एमाले नेता माधव नेपालले ‘ओलीको दम्भ धरहराभन्दा अग्लो’रहेको आरोप लगाए। वार्ता कति सफल भयो थाहा छैन। तर समाचारमा आएको त्यो खबरले धरहराभन्दा अग्लो झगडा सुरु भइसकेको संकेत दिन्छ।  

धरहरालाई दम्भको मानक मान्ने हो भने कसैको दम्भ पनि धरहराभन्दा सानो देखिएन। दलदल बिचको झगडा हैन यतिबेला दलभित्रको झगडा झन् बल्झदो छ। दलभित्र पनि व्यक्तिव्यक्ति बिचको ‘इगो’ को बेग्लै झगडा छ। राजनीतिक दलमा हेरौ न, एमाले पार्टीभित्र आधिकारिकता र चुनाव चिन्हलाई लिएर झगडा छ। पटकपटक वार्ता हुन्छ तर झगडा टुंगिएको छैन। माओवादीभित्र ओली धार र देउवा धारबिचको झगडा छ। कतिपयले त झगडा गरेर पार्टी नै फेरिसके। तर, झगडा टुंगिएको छैन।

यता नेपाली कांग्रेसभित्र सरकारमा जाने र नजाने झगडा छ। महाधिवेशनको तिथिमितिको विषयमा विवाद छ।  कुन पार्टीसँग मिल्ने र कुनसँग पर रहने बिचको विवाद छ। ठूला झगडाका अगाडि उनीहरूको झगडा सानो लागे पनि यो झनै बल्झदो छ।  

यता मधेशवादी दलमा भिन्नै झगडा छ। ओलीलाई समर्थन दिने कि देउवाको समर्थनमा जाने विवाद छ। विवाद चर्कदै जाँदा यसले झगडाको रूप लिएको पत्तै हुँदैन। लुम्बिनीमा त देखिनै सक्यो। पार्टीभित्रको एउटा धार सरकार गिराउन लागेको ठाँउमा अर्को धार रक्षाकवच बनेर सरकारमा पुग्यो। झगडा सुरु भइसक्यो।  

झगडाको नियतै कस्तो, यसले राम्रो कहिल्यै गर्देन। किनकि अहिलेसम्म राम्रो कसले गर्ने भनेर झगडा गरेको कहिल्यै सुनिएन।  देश विकासका लागि,कोरोना नियन्त्रणको लागि र  भ्रष्टाचार रोक्नका लागि एकले अर्कासँग प्रतिस्पर्धा र झगडा गरेको भए कति राम्रो हुन्थ्यो होला।  

जे होस अहिलेको झगडा राम्रो हैन। तर, यो झनै बल्झदो छ। कथा त सानामा सबैले पढेका होलान्। तर, झगडाको  औषधि अझै पत्तो नपाए जस्तो छ। पानीको अभाव भनौ भने भर्खरै मेलम्चीको करोडौं लिटर पानी राजधानी झरेको छ। तर मेलम्ची ल्याउनेलाई नै बोलेर फुर्सद छैन।  

बाल्यकालमा पढेको कथाको त्यो भाव फेरि कसले सम्झाइदिने होला। एकपटक केही समयका लागि मात्र भए पनि ठूला मान्छेहरुले मेलम्चीको कन्चन पानी मुखमा हालेर बसौ त। व्यक्तिगत अहंकार र तनावले निम्ताएका यी बग्रेल्ती झगडा आफै साम्य भएर जानेछन्। 

प्रकाशित: १० वैशाख २०७८ ०७:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App