नेपाली कांग्रेसका सभापति गगन थापाले सार्वजनिक जिम्मेवारीमा बसेका व्यक्तिहरूको इमानदारितामा कुनै पनि सम्झौता नहुने बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीका प्रतिनिधिहरूबाट हुने आर्थिक अनियमिततामा ‘जेरो टोलरेन्स’ अपनाइने चेतावनी दिए।
उनले वडाध्यक्षदेखि मन्त्रीसम्मका जनप्रतिनिधिले पार्टीको लेबीबाहेक अन्य कुनै पनि रकम पार्टीको खातामा हाल्न नपर्ने उल्लेख गर्दै एक रुपैयाँ पनि तलमाथि भएको खण्डमा त्यो स्वीकार्य नहुने बताए।
‘सार्वजनिक जिम्मेवारीमा बसेको कुनै पनि व्यक्तिले एक सुका पनि तलमाथि गरेको कुरामा सम्झौता हुँदैन, त्यसमा पार्टीको नीति स्पष्ट छ,’ उनले सुनाए।
सरकारको जत्तिकै प्रतिपक्षी दलको पनि ठूलो जिम्मेवारी हुने बताउँदै सभापति थापाले प्रतिपक्षीले ठीक भूमिका निर्वाह नगरे लोकतन्त्र नै धरापमा पर्ने उल्लेख गरे।
उनले सरकारका राम्रा काममा सहयोग गर्ने तर अलोकतान्त्रिक प्रवृत्तिको भने डटेर प्रश्न गर्ने र सामना गर्ने प्रतिबद्धता जनाए।
यसैगरी, पार्टीको सांगठनिक सुदृढीकरण र सुशासनका लागि आगामी सातादेखि सातै प्रदेशको भ्रमण गर्ने उनको घोषणा छ। करिब २०/२५ दिनको उक्त भ्रमणका क्रममा प्रदेश र स्थानीय सरकारका बजेट, नीति कार्यक्रम र वर्तमान आर्थिक संकटका विषयमा सरोकारवालाहरूसँग बृहत् छलफल गरिने उनले जानकारी दिए।
सभापति थापाले पार्टीभित्रको बृहत्तर एकता र सबै नेता/कार्यकर्तालाई मिलाएर लैजानु आफ्नो विशेष जिम्मेवारी रहेको समेत उल्लेख गरे। उनले स्थानीय र प्रदेश सरकारलाई ठीक ठाउँमा उभ्याउन र सुशासनको प्रत्याभूति गराउन कांग्रेसले प्रभावकारी भूमिका खेल्ने बताए।
प्रकाशित: १९ वैशाख २०८३ १७:४१ शनिबार





