द्वन्द्वकालमा सुरक्षा निकायका बर्दी देख्दा गाउँ छोडेर जंगल पस्ने बाध्यता भोगेका रोल्पाली अहिले त्यही निकायसँग नजिकिँदै गएका छन्। कुनै समय सदरमुकाम सर्वसाधारणका लागि र गाउँ सुरक्षा निकायका लागि ‘बर्जित’ जस्तै रहेको अवस्था शान्ति प्रक्रियापछि बदलिँदै गएको छ।
द्वन्द्व अन्त्यसँगै माओवादी शक्तिहरू संसदीय मूलधारमा आएपछि गाउँ–सहरबीचको तिक्तता घट्दै गएको छ। ‘लखेट्ने र लखेटिने’ दुवै पक्ष नेपाली नै हुन् भन्ने भावनासँगै आपसी विश्वास पुनः स्थापित हुँदै गएको स्थानीय बताउँछन्।
यसैक्रममा द्वन्द्वका क्रममा सबैभन्दा बढी-७३ जना नागरिक-मारिएको सुनछहरी गाउँपालिका–७, जेल्वाङमा नेपाली सेनाले शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। सूर्यदल गणको आयोजनामा सैनिक चिकित्सक टोली, स्वास्थ्य कार्यालय, रोल्पा अस्पताल र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रको समन्वयमा शिविर सम्पन्न गरिएको हो।
सूर्यदल गणका गणपति प्रमुख सेनानी ईश्वर थापाका अनुसार शिविरबाट ३३२ जना बिरामीले सेवा लिएका छन्। शिविरमा दाँत, आँखा, पाठेघर, सुगर परीक्षण, भिडियो एक्स–रे लगायत विभिन्न स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो।
गणपति थापाले दुर्गम बस्ती र ज्येष्ठ नागरिकको संख्या धेरै भएकाले जेल्वाङलाई प्राथमिकतामा राखिएको बताए। “घरदैलोमै सेवा दिन पाउँदा गर्व लागेको छ,” उनले भने, “गाउँमा युवापुस्ता कम र ज्येष्ठ नागरिक बढी रहेछन्।” उनले पछिल्लो समय सेनाप्रति नागरिकको दृष्टिकोण सकारात्मक बन्दै गएको र आत्मीय सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गरे।
शिविरपछि वडा अध्यक्ष राजबहादुर रोका मगरले ९३ वर्षसम्मका नागरिकले सेवा पाएको जनाउँदै खुशी व्यक्त गरे। “३ सयभन्दा बढीले सेवा लिनुभयो, सेना जनताको सेवामा रहेछ भन्ने विश्वास बढेको छ,” उनले भने, “यसले विगतको तुष र अविश्वास हटाएको छ।”
शिविरसँगै नेपाल प्रहरी, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र स्थानीयसहित करिब ७५ जनाको सहभागितामा आगलागी, बाढी, पहिरो, खोज तथा उद्धारसम्बन्धी सामुदायिक विपद् प्रतिकार्य तालिम पनि सञ्चालन गरिएको थियो।
प्रकाशित: २० वैशाख २०८३ १८:०९ आइतबार





