१५ आश्विन २०७७ बिहीबार
ब्लग

के कोरोनासामु हाम्रो मानवता ढलिसकेको हो ?

सन् २०१९ को अन्ततिर पहिलोपल्ट पत्ता लागेको भएर कोरोना महामारीलाई कोभिड–१९ भनियो तर यो अहिले कोभिड–१९ मात्र नभएर  कोभिड–२० र कोभिड–२१ पनि हुने पक्का छ।  सन् २०२० को सुरुदेखि नै कोरोनाको असर नेपाली समाजमा छिटपुट परेको भए पनि गएको चैत ११ गतेदेखि सरकारले बन्दाबन्दी नै घोषणा गरी कदम चालेको हो जुन अहिले लकडाउन, लुजडाउन त्यसपछि हिँडडुल गर्न आज्ञा र अहिले निषेधाज्ञामा आइपुगेको छ।  

कोराना एउटा विश्वव्यापी महामारी भएकाले झट्ट हेर्दा स्वास्थ्य समस्या हो तर यसको असर क्रमशः आममानिसको जीवनका सामाजिक, आर्थिक, सांस्कृतिकलगायतसबैतिर उत्तिकै गहिरो र गम्भीररूपमा पर्दैगएको पाइन्छ।  कोरोनाले निम्त्याएको सामाजिक पक्ष र यसको कारण समाजले चुकाउनुपरेको मूल्यलाई नाप्ने, भर्ने या जोख्ने हो भने यसको परिणाम मात्र नभएर परिमाण दुवै उत्तिकै भयाबह सिद्ध हुन्छ।  

र, यो भयाबह अबस्था हिजो वञ्चितीकरणमा परेका र पारिएका, दिनभर काम गरेर पनि भोकै पारिएका, हुनेखाने र धनीको सेपमा परेका, आफ्नै आवाज पनि अरूले खोसेर मुखमा टेप लगाइएकाहरूमा तुलनात्मकरूपमा अझ बढी परेको यो यथार्थ सम्बन्धित निकायलगायत सबैलाई छर्लङ्ग छ।  तैपनि यो लेखमार्फत थाहा पाएर पनि थाहा नपाएको जस्तो गर्नेहरूलाई थाहा दिन र ननिदाए पनि निदाएको जस्तो गर्नेहरूलाई ब्युँझाउनका लागि कोट्याउने प्रयास गरिएको हो  

कोरोनाले सामाजिक असमानता झन् बढाएको छ।  सुन्दर अक्षरहरूद्वारा लिपिबद्ध नीतिहरूको मद्दतलेढाकछोप गरिएको ‘हुने खाने र हुँदा खाने’ बीचको खाडल अहिले लकडाउन सुरुभएलगत्तै उदांग भएको छ। अर्थतन्त्रमा उल्लेखनीय योगदान दिने न्यून आयस्तरका अनौपचारिक क्षेत्रका श्रमिकलाई सरकार आफैँले ‘खोलामा तलतिर बगाएर माथितिर खोज्न जाने’ व्यवहार गरेको छ।  सबैका लागि विश्वव्यापी सामाजिक संरक्षणको माग गर्दा होस् या योगदानमा आधारित सामाजिक सुरक्षा माग गर्दा होस् या सुधारिएको श्रम ऐनको माग गर्दा होस्,‘सडकमा पसिना बगाउने र घाँटी सुकाएर नारा लगाउने’ अनौपचारिक क्षेत्रका श्रमिकहरू आज कोरोना महामारीको पहिलो घानमा पिँधिएका छन्।  

कोरोनाले सामाजिक असमानता झन् बढाएको छ।  सुन्दर अक्षरहरूद्वारा लिपिबद्ध नीतिहरूको मद्दतलेढाकछोप गरिएको ‘हुने खाने र हुँदा खाने’ बीचको खाडल अहिले लकडाउन सुरुभएलगत्तै उदांग भएको छ।

अघिल्लोपटक सरकारले चैत ११ गतेको रातिबाट बन्दाबन्दी सुरु भएको समाचार आमनागरिकको जानकारीका लागि सोही दिन साँझमात्र प्रशारण गर्यो‍।  सरकारको यो कदम आवश्यक थियो तर यो कदम जसरी चालियो यसको समीक्षा गर्दा दुईवटा पक्ष भेटिन्छ– पहिलो, सरकारले यो सोचेको थियो कि बन्दाबन्दीको अवधिमा मेरा देशका सबै परिवारको चुलोमा खानेकुरा टन्न छ, खल्तीमा र खातामा भने जति पैसा छ।  दोस्रो, मसँग आदेश दिने अधिकार छ, त्यसैले आदेश दिइहालौँ, हुनेले खान्छ नहुने भोकै सुत्छ।  यी दुईमध्ये जुनसुकै सोच बोकेर त्यसरी हठात कदम चालिएको भए पनि यसले के सिद्ध गर्छ भने आममानिसभित्रका दैनिक ज्यालामजदूरी गरी छाक टार्ने न्यून आयस्तरका श्रमिक तथा अति विपन्न परिवार र सरकारका बीच चिनजान छैन।  तथापि, त्यसको तुलनामा पछिल्लोपटक निषेधाज्ञा लागु गर्दा लिइएको कदम केही सकारात्मक र उपयुक्त थिए।  

उनीहरूमाथि विगतको लामो कालखण्डमा वञ्चितीकरण र बहिष्करणमात्र नभएर कानुनी, नीतिगत र योजनागततवरले नै विभेद भएकै कारण शिक्षा र रोजगारीमा समान अवसरको अभावमा मुलुकका विभिन्न जिल्लाबाट पाइलापाइलामा जोखिम मोलेर दैनिक ज्यालादारी र मजदूरी गर्न काठमाडौँलगायत अन्य सहरमा आउन बाध्य भएका थिए।  अकस्मात लकडाउन सुरु भएलगत्तै उनीहरू अब  भोकै मरिने भयले आफ्ना लालाबाला च्यापेर हुरीबतास, असिनापानी, भोकप्यास केही नभनी आफ्नो थातथलो पुग्न हप्तौँ दिन हिँडे।  त्यो दृष्य स्वयम अत्यन्त कारुणिक थियो भने त्यो भोग्न बाध्य यही देशका ती दुःखी आत्माहरूको पीडा कति हृदयविदारक थियो र छ भनी कल्पना पनि गर्न सकिन्न।

अझ त्यसमाथि बाटामा तिनका हुर्केका चेलीहरूमाथि भएको बलात्कार र दूव्र्यवहारको चोट कसैले कसैलाई सजाय दिँदैमा निको हुने होइन।  औपचारिक क्षेत्रमा रोजगारी या काम हुनेहरू न  बेरोजगार बन्न प¥यो, न उनीहरूको आम्दानी नै गुम्यो न यसरी भौँतारिँदै हिँड्नुप¥यो।  उनका परिवारका महिला तथा किशोरीहरू तुलनात्मकरूपमा सुरक्षित नै रहे।  उनका बालबालिकाले बन्दाबन्दीकैे अवधिमा पनि वैकल्पिक विधिबाट अध्ययन गर्न पाए।  को असुरक्षित रहे भन्दा यिनै जोखिमयुक्त श्रम गर्ने विपन्न परिवारका महिला तथा किशोरी।  कसले पढ्न पाएनन् भन्दा यिनै न्यूनआयस्तरका मजदूरका बालबालिका।  को भोके सुते भन्दा यिनै काम, रोजगारी र आय गुमाएका परिवार जसबाट समाजमा धनी र गरिबबीच, महिला र पुरुषबीच अनि औपचारिक क्षेत्र र अनौपचारिक क्षेत्रबीच हिजो विद्यमान असमानताको भ्वाङ अझ फराकिलो र गहिरो बनाएको छ।  

यदि राज्यले हिजो सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्दा यी न्यूनआयस्तरका ज्यालामजदूरी गर्ने श्रमिकलाई समेटेको भए उनीहरूले यस्तो महाव्याधिको अवस्थामा थोरै भए पनि भरथेग पाउने थिए, सुरक्षित महसुस गर्ने थिए।  तर अफसोच, यिनीहरूको पालो त्यतिखेर त आएन आएन, अझै कति महिना, वर्ष र दशक कुर्नुपर्ने  हो, कसैलाई थाहा छैन।  

बढ्दो हिंसा र दुर्व्यवहार

जुनसुकै किसिमको विपद्का बेलामा पनि बालबालिका, महिला र किशोरीहरमाथि हिंसा, दूव्र्यवहार र शोषणको जोखिम बढी हुनेगर्छ।  कोरोना महामारीमा पनि यस्तै भयो जुन हुन नहुने थियो।  पीडक र पीडित घरभित्रै भएको बेलामा, बन्दाबन्दीको समयमा सामाजिक सम्पर्क र सम्वाद टुटेको बेलामा, महिला र किशोरीहरू झन बढी आवाजविहीन भएको बेलामा, न्यायका ढोका र संयन्त्र बन्द भएको बेलामा अनि महिलाहरू आयविहीन भई पुरुषमाथि अझ बढी आश्रित हुनुपरेको बेलामा महिला हिंसाका घटना बढे।  तर ती घटना घरका पर्खालभित्र थुनिए, पीडितको चोटपूर्ण मनभित्र गुम्सिए, कोही सोधखोज गर्न आउनेहरूको प्रश्नको जवाफमा निःशब्द भईकेवल अनुहार र आँखामा छचल्किए अनि पुनः मनभित्रै थन्किए।  यस्ता परिघटना एक, दुई या तीन जनामा होइन, लाखौँ       महिला र किशोरीमाथि भए र निरन्तर भइराखेका छन्।  मानौँ, यो पुरुष जातिद्वारा गरिनुपर्ने सर्वस्वीकार्य अपरिहार्यकार्य हो।  

मनोसामाजिक अवस्थितिमा विचलन

बन्दाबन्दीका कारण जब मानिसले काम र आय गुमाए, उनीहरूलाई क्रमशः अभावले घेर्दै ल्यायो।  कतिपय पहिल्यै ऋणमा थिए भने कतिपय बन्दाबन्दीकै समयमा जीउनका लागि ऋणमा डुुबे।  मानसिक तनाव बढ्दैगयो।  कामविहीन र आयविहीन भई घरभित्र साँघुरिएर बस्नुपर्दा सुरुमा उनीहरूलाई परिवार नै बोझ लाग्यो।  पछि आफ्नै जिन्दगी बोझ लाग्नथाल्यो।  त्यस्ता परिवेशका मानिसको मनोसामाजिक अवस्थिति बिग्रिँदै गयो र विचलन पैदा हुँदैगयो।  

फलस्वरूप उनीहरूमध्ये कतिपय नैराश्यता र असफलताबाट गुज्रिँदै जीवनबाट हार मानी अस्वाभाविक मृत्यु अर्थात आत्महत्याको बाटो रोज्न पुगे।  कोरोना महामारी त आज या भोलि निराकरण होला तर जब एउटा परिवारले अभिभावक गुमाउँछ त्यसपछि बल्ल त्यो परिवारको दुःखको दिन सुरु भएको हुन्छ।  यस्ता घटना अहिले बन्दाबन्दी सुरुभएदेखि आजसम्म अत्यासलाग्दो पाराले बढ्दै गएको छ।  

आमाहरूको इहलीला समाप्त

देशका दुर्गम जिल्लाको त कुरै छाडौँ, अस्पताल र स्वास्थ्यचौकीहरू भएका शहरी तथा अर्धशहरी क्षेत्रमा पनि बन्दाबन्दीका कारण गर्भवती र सुत्केरी महिलाको जीवन कष्कटर भईअत्यधिक जोखिममा प¥यो।  मुलुक कोभिड–१९ अघिसम्म मातृ मृत्यु दरलाई प्रतिएक लाखमा २५८ मा सीमित राख्न सफल भएकामा बन्दाबन्दीको अवधिमा मातृ मृत्यु दर एक्कासि २०० प्रतिशतले बढ्न गएको छ।  

परिवारलाई सन्तान र देशका लागि नागरिक दिन लालायित आमाहरू  स्वयम्  मृत्युवरण गर्न पुगे।   यो क्षतिको मूल्य यति भयाबह बन्छ कि त्यो परिवार चकनाचुर बन्न सक्छ, परिवारमा सौतेनी आमा भित्रन सक्छन् र बालबालिकाहरू शिक्षा र बालअधिकारबाट वञ्चित बन्न र अन्त्यमा बालश्रमिक बनी सम्पूर्ण जीवन बहुआयामिक जोखिममा धकेलिन सक्छ। 

मानवीय समवेदना र सामाजिक सद्भावमा ह्रास

२०७२ सालको भूकम्पताका होस् या नाकाबन्दीको समयमा, नेपाली समाजमा दुःख र आपत्मा एकले अर्कोलाई सकेको सहयोग गर्ने र दुःख बाँड्ने गौरवशाली संस्कृति अहिले कोरोना महामारीको समयमा छिटपुटबाहेक देखिएको छैन।  सुरुका दिनमा घर फर्किँदै गरेका ज्याला मजदूरी गर्नेहरूलाई  बाटामा भोजन गराउने र केही राहत वितरण गर्ने कल्याणकारी कार्य भएको भए तापनि अहिले के शहर के गाउँ सबैतिर कोरोना महामारी फैलिँदै गएपछि हामीबीच मानवीय समवेदना र सामाजिक सद्भावमा ह्रास आएको प्रष्ट हुन्छ। कोराना संक्रमितमाथि अपहेलना र अभद्र व्यवहार गर्ने, चिकित्सकलगायत स्वास्थ्यकर्मीलाई समुदायमा बहिष्कार गर्ने र घर घेर्ने जस्ता घृणित काम समुदाय र छिमेकीबाटै हुन थालेका छन् जुन ज्यादै नै खेदपूर्ण छ।  यतिसम्म कि एउटा स्थानीय निकायले कोरोना भाइरस संक्रमितको परिवारलाई भित्र थुनेर मूल ढोकामा बाहिरबाट ताला लगाइदिएको घटना पनि सुन्नुप¥यो।  यस्ता घटनाबाट आउने पुस्तामा जाने गलत सन्देशप्रति हामी सचेत हुन जरुरी छ।  

निश्चय पनि सरकारले कोरोना संक्रमित व्यक्तिको उपचार गर्दा विशेष सतर्कता अपनाएर गर्नुपर्ने हुन्छ।  कथंकदाचित उपचार गर्दागर्दै कुनै संक्रमित व्यक्तिको दुर्भाग्यवस मृत्यु भएमा सो व्यक्तिको लास अझ बढी सुरक्षा विधि अपनाएर विसर्जन गर्नुपर्ने हुन्छ, त्यसमा फरक मत छैन।  लास व्यवस्थापन गर्ने सुरक्षा निकायका लागि त्यो केवल एउटा कोरोना भाइरस संक्रमित व्यक्तिको लास होला, समाचार लेख्ने संवाददातालाई त्यो केवल एउटा समाचार होला, संलग्न चिकित्सकका लागि त्यो एउटा अब फ्याँकिनुपर्ने वस्तु होला तर ती व्यक्ति जो मृत्युअघि कम्तीमा पनि एउटा खास परिवार र आफन्तजनका लागि अत्यन्तै महत्वपूर्ण सदस्य थिए, जसको अभाव र अनुपस्थितिमा सो परिवार र आफन्तजनमा सन्नाटा छाउनेछ।  अभाव, पीडा र वेदनाले भरिनेछ।  

अझ ऊ उसले हिजोसम्म बाँचेको समुदाय र समाजका लागि केही योगदान दिएको व्यक्ति हुँदो हो त उसको मृत्यु धेरै मनलाई रुवाउने हुनसक्छ।  तर खै त? यो आलेख तयार पार्दासम्म कोरोना महामारीका कारण २५० जनाले ज्यान गुमाइसके।  कुनै एक मृत्युका लागि हामीले कहीँ/कतै चिर शान्तिको कामना गर्दै एउटा मैनबत्ती या शोक सन्तप्त परिवारजनप्रति समवेदना र सहानुभूतिका केही शब्दखर्चियौं ? कोरोना भाइरससामु मानव जातिले हजारौँ वर्ष लगाएर उभ्याएको मानवता, मानवीय सभ्यता र संस्कृतिको खम्बा कति चाँडै ढल्न पुग्यो।  यो आश्चर्य लागिरहेको छ।  

अस्पतालभित्र कोरोना संक्रमित बाबुको लास सिसाको झ्याल बाहिरबाट एउटा छोराले भक्कानिँदै एकपटक बाबुको मुख हेर्नका लागि चिकित्कससँग अनुनय/विनय गरेको दृश्य कम्ता पीडादायक छ र ? यो समाजसँग र आफैँसँग पुनः प्रश्न गर्न मन लाग्छ– के कोरोना भाइरसको महामारीसामु हाम्रो मानवता ढलिसकेको हो ?यदि होइन भने हामीमध्ये जो/जतिले कोरोनाको अघि हार खाइसक्यौँ, बाँकीले जित्नुपर्छ र जित्नका लागि आत्मविश्वास, आँट र भरोसा चाहिन्छ।  त्यतिमात्र हैन, हामी एकले अर्कालाई त्यो आत्मविश्वास र आँट बढाउन भरोसाका शुभकामना प्रदान गरौँ।  यतिखेर मानवताको पूर्ण परिभाषा नै यही हो।  

 

 

प्रकाशित: २३ भाद्र २०७७ १३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App