८ मंसिर २०८१ शनिबार
image/svg+xml
ब्लग

लेखक महिलाका अफ्ठ्याराहरू

सुमन थापा ‘संगम’

प्रबिधिको युगसँगै परिवर्तन भएको छ हाम्रो बाँच्नेशैली। भाषा र कामका तौरतरिका सबैमा विकास भएको छ। हाम्रो जीवनशैली आधुनिकतातर्फ लम्किरहँदा जीवनयापनमा फेरी पनि कठिनाई यथावत छ। ती कठिनाई भनेको हाम्रो समाजले महिलालाई हेर्ने दृष्टिकोण हो।

महिला सक्षम हुनुपर्छ र भैरहेका पनि छन्। आज धेरै कुरामा नयाँपन आएको छ राजनीति, महिला अधिकारका पक्षमा उभिने संघसंस्था, जनजीविकाका प्रत्याभूति जस्ता प्राथमिकतामा कलम चलाउनेहरूको काम सह्रानीय छ। यद्यपि सामाजिक दृष्टिकोण अझै माथि उठ्न सकेको छैन। कानुनी अबस्था हेर्ने हो भने नेपालको कानुनमा समानता छ तर व्याबहारमा छैन। कुनै न कुनै पक्षबाट कुनै न कुनै हिसाबले महिला हिंसा भइरहेकै छ।  

ठूल्ठूला होर्डिङबोर्ड नै राखेर महिला हकका निम्ति अभियान चलाएको पनि देखिन्छ। ‘छोरीलाई शिक्षावाट वन्चित नगरौं’ भन्ने नाराबाटै सुरु हुन्छ छोरा र छोरीमा विभेद। यहीँबाट शुरु भएको छ छोरीलाई हेर्ने दृष्टिकोण। यहीँबाट शुरु भएको छ विवादास्पद कुराहरू। यहींबाट सुरु भएको छ महिलाप्रतिको विभेद किनकी छोरालाई स्वतः शिक्षाको भागिदार सम्झिइन्छ।  

चेतना, भोगाई र विवेकले महिला सक्षम लेखक भएकी छिन्। तर समाज कानेखुसी गर्छ, ‘कि त त्यसका श्रीमानले लेखिदिएको या त्यसको पुरुष साथीले। नत्र कसरी लेख्न सक्छे? लेख्नका निम्ति हरेक सामाग्री जुटाउन दौडधुप हुन्छ ऊ कसरी सक्छे यस्तो लेख्न?’ यस्तैयस्तै प्रश्नबाट लेखक महिलाको अवमूल्यन गरिन्छ।

वास्तवमा महिला को हुन् त? महिला एउटी गृहणी र पारिवारिक जिम्मेवारी सम्हाल्न मेशिन मात्र हो त? उनी कति सक्षम छिन भनेर तुलनात्मक रुपमा हेर्ने कि नहेर्ने?यही बिषयलाई थोरै उठान गर्न खोजेकी हुँ।

कलाकार सरोजा खड्गीको ‘जाग नारी’ शिर्षक चित्र।  

सरसर्ती हेर्दा वा सुन्दा महिलालाई स्थान दिइएको देखिए पनि समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रुपमा हेरिन्छ। उनीहरूलाई आफैं केही गर्न नसक्ने सम्झिन्छ। महिला चेतना, भोगाई र विवेकले सक्षम लेखक भएकी छिन्। लेखिरहेकी छिन्। तर समाज कानेखुसी गर्छ, ‘कि त त्यसका श्रीमानले लेखिदिएका हुन् या त्यसका पुरुष साथीले। नत्र कसरी लेख्न सक्छे? लेखक हुन र लेख्नका निम्ति हरेक सामाग्री जुटाउन दौडधुप हुन्छ ऊ कसरी सक्छे यस्तो लेख्न?’ यस्तैयस्तै प्रश्नबाट लेखक महिलालाई अवमूल्यन गरिन्छ।  

महिलालाई मौखिक या लिखित रुपमा सर्बाधिकार सम्पन्न भने पनि ब्यावहारिक रुपमा सर्बाधिकार छैन। महिलाको विषयमा धेरै इतिहास लेखिएको छ। एउटी लेखक महिला जसले खुलेर समाजमा देखिएका कुरीति, बिसंगती र आम जीवनयापनका यथार्थहरू र आफ्नो जिवनका सत्य भोगाईहरू कलमद्वारा व्यक्त गर्न सक्छिन। तर त्यसो गर्न असहज छ कारण त्यसको बाधक हो महिलालाई पर्गेल्ने दृष्टिकोण।  

हाम्रो समाजिक घेरा भित्र महिलालाई हेर्ने दृष्टिकोण, धर्म, संस्कार र संस्कृतिभित्र रहेर महिलाले कलम चलाउनु पर्दा वास्तविकतामा कलम यथार्थ बग्न पाउँदैन । लक्षमण रेखाभित्र रहेर कलम चलाउनु सजिलो हुँदैन।  

महिला आधा आकाश ढाक्ने शक्ति हुन्। तर वैचारिक रुपमा महिलालाई पछि धकेलिएकै हुन्छ। हाम्रो समाज पुरुष प्रधान छ। अनि सामन्तवादी चिन्तन प्रणाली र पुरातनिक सोचाइबाट ग्रस्त छ। त्यही नै बाधक बनेको छ महिलालाई यथार्थमा कलम चलाउन।

प्राकृतिक हिसाबले सम्पन्न र राज्यले शिक्षामा लगानी गरेको भए पनि एउटा असल लेखक हुनलाई आवश्यक ज्ञान, सीप र कला आर्जन गर्ने अवसरबाट महिला  वन्चित छन्। कारण सबैभन्दा पहिला महिलालाई हेर्ने दृष्टिकोण अनि स्वयं अभिभावकले पनि छोरीलाई ‘पराई धन’ अर्थात अर्काको घर जाने जात भनेर शिक्षामा लगानी गर्न नचाहने र शैक्षिक अवसरहरूबाट बिमुख हुन परेका कारणले पनि महिलामा चेतना भएर पनि असल लेखक हुन सकिरहेको अवस्था छैन।

सामाजिक बन्धन, परिवारिक जिम्मेवारीका कारण महिलालाई शिक्षा, रोजगारी र सम्पत्तिको हकमा पनि प्रायः कम अवसर दिइन्छ। पुरुष सरह हरेक समय निर्धक्क घरदेखि निस्कन नपाउनाले पनि महिला आत्मनिर्भरतामा कमजोर बनि रहेका छन्। अनि उनी आफूखुसी गर्न सक्दिनन्।  

केही समय अघि एकजना विद्वानले भनेको कुरा सम्झनामा आयो, ‘महिलाले अन्तर्मनको कुरा लेख्दा वा बोल्दा उनको आफ्नो क्षमता नभएको र अरुले नै बोलिदिएको कुरा मात्र बोलेको अनि उनले बोलेका कुराहरूले समाजमा राम्रो म्यासेज नजाने जस्ता कुरा भएका थिए। कतिसम्म सोच्नु पर्ने हो त एउटा महिला लेखकले? उनका विचारहरू आफ्ना हुँदैनन् र?’  

वास्तवमा भावना एउटै हो। मन एउटै हो तर पुरुषप्रधान समाजका कारण महिलाका बहुआयामिक जिम्मेवारीले गर्दा पनि महिलामा स्वतन्त्रता कम छ। हाम्रो समाजको मनोबिज्ञान नै महिलाप्रति सकारात्मक सोच राख्न नसक्नु र महिलालाई हेर्ने दृष्टिकोणका पछाडी नै महिला खुलेर आउन सकिरहेका छैनन।

संख्यात्मक रुपमा महिला लेखक बढेका देखिन्छन् तर हरेक सोच र बन्देजका  कारण लेखक महिलाले आफ्ना भोगाइमा आधारित भएर कलम चलाएको देख्न सकिँदैन। ती भोगाई र यथार्थ खुलेर पोखिन पाउने हो भने पक्कै पनि एउटा तरंग निस्कने थियो। ती भोगाई र यथार्थहरू पोखिन नसक्नुको कारण लेखाईको आधारमा बनाइने धारणा र हेर्ने दृष्टिकोण मुख्य हो। सोच परिवर्तन हुन सके हरेक क्षेत्रमा महिलालाई मिलेको अवसरले पूर्णता पाउने छ। 

प्रकाशित: ३२ श्रावण २०७७ ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App