स्तनपान सप्ताह मनाउने क्रममा यसै शीर्षकमा प्रकाशित लेखमा स्तनपानका सामाजिक, सांस्कृतिक, संस्थागत बस्तुस्थितिको बारेमा केही चर्चा गरेको थियौं । उक्त लेखले उठान गरेको स्तनपान प्रबद्र्धनमा कलापक्षका बारेमा थप जानकारी यस लेख मार्फत उजागर गर्ने जमर्को गरेका छौ । स्तनपान पोषण मात्र होईन आमाको नांङ्गो छातीमा टाँसिएर बच्चाले न्यानो मायासंगै मानसिक, भावनात्मक र सुरक्षाको दह्रो प्रत्याभूति पाईरहेको हुन्छ । यो अवसर बच्चाको लागि स्वस्थ भै जीवन जीउने कला विकास गर्ने मूल आधार पनि हो ।
आमाको न्यानो छातीमा टाँसिएर बसेको बच्चाले आमाको मुटुको ढड्कनमा रोमान्चित भै खेल्न सिक्दछ । बच्चालाई भोक लाग्दा स्वाभाविक रुपमा पुरै मुख खोलेर स्तन तर्फ आकर्षित हुने वा लम्किन खोज्दछ । उसका नटखट ब्यवहारको कौतुहलतापूर्वक अवलोकन गरि रहेकी आमाको शरिरमा तरंगित हुने उर्जाले एक अर्काको भावना बुझन मद्धत मिल्दछ । त्यसले प्रर्याप्त दुध उत्पादन हुने क्रमलाई पनि मद्धत मिल्दछ । यो प्रकृयालाई प्रभावकारी र आनन्दमय बनाउन आमा र बच्चाको आसनको विशेष भूमिका हुने भएको हुदाँ यस लेख मार्फत त्यस्ता आसनहरुको बारेमा विस्तारमा चर्चा गर्ने जमर्को गरेको छौं ।
यसक्रममा पहिलो आसन बच्चाको शिर र गर्धन आमाको पाखुरामा टेको लिएर स्तनपान गराउने परम्परागत विधि हो । यस्लाई क्रेडल होल्ड पनि भनिन्छ । यस विधिमा आमा कुर्चि, सोफा वा भित्तामा आड लिएर शरिरलाई खुला छोडेर आराम अवस्थामा बसेकी हुन्छिन र बच्चा आमाको काखमा हुन्छ ।
अधिकाशं कामकाजी आमाहरु छोटो समयको विश्राममा बच्चालाई स्तनपान गराउनु परेको अवस्थामा यो आसन विधि अपनाउने गरेको पाईन्छ । यस्तो अवस्थामा बच्चा र आमाको बिचमा राम्रो सन्तुलन कायम हुनु पर्दछ । सानो असाबधानी वा असन्तुलनले स्तनपान प्रकृयालाई असफल बनाउन सक्छ फलस्वरुप बच्चाले स्तनपान प्रति अरुचि पनि देखाउन सक्छ ।
स्तनपानको अर्को धेरै प्रचलित आसन विधि क्रस क्रेडल होल्ड हो । यो आसन नवशिशुहरुलाई स्तनपान गराउन प्रभावकारी हुन्छ । यस्का लागि आमा भित्ता वा कुनै चिजको सहारा लिएर शरिरलाई खुला छोडेर आराम अवस्थामा बसेकी हुन्छिन र नवशिशुको शरिर आमाका दुबै स्तनको ठिक्क तल पेटको वारपार हुने गरी टाँसिएको हुन्छ । देब्रे स्तनपान गराउदाँ दाहिने हातको पाखुराले बच्चालाई सुरक्षित सहारा दिनु पर्दछ भने (दाहिन स्तनपान गराउदाँ देब्रे पाखुराले) हातले शिशुको टाउकोलाई सुरक्षित सहारा दिई सहज स्तनपान गर्न सहयोग गर्नु पर्दछ । यसक्रममा आमाको अर्को हातले आवश्यकता अनुसार स्तनलाई उचाल्ने, निचोर्ने गर्न सक्दछिन । स्तनपानलाई सफल बनाउन आमाको निकै ठूलो भूमिका हुन्छ । बच्चालाई हेर्ने, कुरा गर्ने, उसले चुसेको, निलेको सबै गतिविधिलाई सुक्ष्म ध्यान दिनु पर्दछ ।
स्तनपानको अर्को आसन विधिलाई युरोप अमेरिका तिर रग्वी बल वा फुटबल विधिको नाम दिएकोछ । यो आसन विधि शल्यक्रिया गरेका वा स्तनको आकार ठूलो भएका आमाहरुको लागि स्तनपान गराउन उपयुक्त हुन्छ । यस आसनमा देब्रे स्तनपान गराउँदा देब्रे काखीको तल पर्ने गरि शिशुलाई राखिन्छ । शिशुको टाउको वा अनुहार आमाको सामुन्ने स्तनमा जोडिएको हुन्छ भने शिशुको शरिर स्तन तर्फको आमाको पाखुरामा सुरक्षित सहारामा अडेको हुन्छ भने आमाको अर्को हातले आवश्यकता अनुसार स्तनलाई उचाल्ने, निचोर्ने कार्यमा सक्रिय हुन्छ । यो आसन विधि विशेष साबधानि पूर्वक जुम्ल्याहा शिशुको स्तनपानमा समेत प्रयोग गर्न सकिन्छ ।
शल्यक्रिया वा प्राकृतिक विधिबाट शिशु जन्माएका आमाहरुले कोल्टे सुतेर पनि सुरक्षित आसनमा स्तनपान गराउन सक्दछन । यो आसन विधिमा आमाको शरिरको टाउको गर्धन र छातिको भाग अन्य भागको तुलनामा अलिकती उच्चा पारेर राखिएको हुन्छ । यो आसन रातको समयमा स्तनपान गराउने बढीमात्रामा प्रयोग गर्ने गरिन्छ तर दिनको समयमा पनि बेडमा वा सोफामा सुस्ताएर पनि यो आसनमा स्तनपान गराउन सहज हुन्छ । सामाजिक मुल्यमान्यताको कारण अधिकांश परिवारमा दिनको समयमा यस्तो आसनमा स्तनपान गराउन त्यति सहज नहुन सक्छ तर पनि आमाको सहजताको लागि अस्पताल वा घर पनि यो आसनलाई बढि प्रोत्साहित गरिनु उचित हुन्छ । यस आसनमा आमा र शिशु एक अर्काको पेटमा टाँसिएका हुन्छन । आमाले शिशुको सहजताको लागि आफनो आसन निर्धारण गर्नु पर्दछ । आवश्यकता अनुसार आमाले शिशुलाई उस्को शरिरको सन्तुलन कायम गराउन सहयोग गर्नु पर्दछ भने अर्को हातले स्तनले स्तनलाई शिशुको मुख सम्म धकेल्ने वा निचोर्ने गर्नु पर्दछ । जब शिशुले सहज स्तनपान गर्न थाल्दछ, आमाले एक हातले शिशुलाई आरामपूर्वक सहारा दिने र अर्को हातको निरानी बनाई आराम गर्न सक्दछिन ।
कसैको सहारा विना शरिरलाई नियन्त्रण गर्न सक्ने अवस्थाका बच्चाहरुलाई स्तनपान गराउने आसनहरु केही फरक हुन्छन । यस्तो आसनमा बच्चाहरु आमाको कोखमा थपक्क बसेर मेरुदण्डलाई ठाडो पारेर स्तनपान गर्दछन । यसक्रममा आमाले बच्चालाई थप सुरक्षाको अनुभूति दिन र शरिरमा राम्रोसंग टाँसिन सहयोगका लागि एक हातले बच्चाको पिठ्युमा सहारा दिन सक्दछिन भने अर्को हातले स्तनपान प्रक्रिया सहज बनाउन उच्चाल्ने वा निचोर्ने काम गर्न सक्दछिन । यो आसन बच्चाहरुको लागि निकै आरामदायी हुन्छ । यो आसनले खाना खाए पछि उल्टी गर्ने समस्या भएका, कानको संक्रमण भएका र शरिर फितलो भएका बच्चाहरुको लागि निकै उपयोगी हुन्छ । यस आसनमा आमा बच्चा तर्फ झुक्नु भन्दा पनि बच्चालाई स्तनसम्म लम्कन कोशिस गर्न लगाउनु पर्दछ । उसो त यो आसन शिशुहरुको लागि समेत उचित हुन्छ तर त्यस्ता शिशुलाई यो आसनमा स्तनपान गराउन आमाले निकै साबधानी अपनाउनु पर्दछ ।
स्तनपानमा आसनसंगै पटक र समयको पनि ठूलो भूमिका हुन्छ । साधारणतया स्बस्थ बच्चा र आमाले २४ घण्टामा आठ देखि दश पटक स्तनपान गराउनु उचित हुन्छ । त्यस क्रममा पनि दिनको समयमा करिव तीन घण्टाको फरकमा र रातको समयमा करिव चार घण्टाको अन्तरातमा स्तनपान गराउनु उचित हुन्छ । कतिपय बच्चाहरु विबिधकारणले बढि सुत्ने वा खान नखोज्ने गरेको पनि पाईन्छ । यसको कारण समयमा स्तनपान हुन नसक्दा बच्चालाई कडा कुपोषण हुन सक्ने सम्भावना रहन्छ । अतः बच्चाले विसर्जन गरेको फोहोर (दिसा पिसाव)को ख्याल गर्ने र पेट कति फुकेको छ भन्ने अनुमानको आधारमा उसलाई आवश्यक पर्ने पोषणको प्रर्याप्त व्यवस्था मिलाउनु पर्दछ ।
नवशिशुहरुलाई स्तनपान गर्न कठिनाई हुन्छ । उनीहरुले स्तनबाट दुध निकाल्न पनि नसक्दा आमालाई पनि असहज हुन सक्छ । यस अवस्थामा स्तनपानको समय केही बढी पनि लाग्न सक्छ । साधारणतया नवशिशुलाई हरेक स्तनलाई निख्रने चुस्न विस मिनेट सम्मको समय लाग्न सक्छ । तर बच्चाको उमेर बढदै जादाँ त्यो समय कम भै पाँच देखि दश मिनेटमा सम्पन्न गर्न सक्दछ । एउटा स्तनबाट सबै दुध निखारेर सेवन गरि सके पछि अर्को स्तन तर्फ सार्नु पर्दछ ।
अन्तमाः कतिपय आमाहरुले स्तनपानलाई ख्यालखाँचीको रुपमा बच्चालाई भुलाउने माध्यमको रुपमा लिएको पाईन्छ । मेरो दुध आएन भन्ने गरेको निकै सुनिन्छ । त्यसो होईन, स्तनपान गराउदै जादाँ र शिशु पनि हुर्किदै जादाँ दुधको उत्पादन पनि बढ्दै जान्छ र त्यसले बच्चालाई प्रर्याप्त पोषणको उपलब्ध हुन्छ । त्यसमा पनि शिशुलाई धेरै दुध चाहिने पनि त होईन । जीवनको शुरुवाती अवस्थामा त केही थोपा वा सर्को दुध पनि प्रर्याप्त हुन्छ । यदि आमालाई दुध उत्पादन भै रहेको छैन भन्ने लाग्दछ भने आफनो पोषणमा ध्यान दिनु होस थप पोषिलो र झोलिलो खाना खाने गर्नु होस । स्तनपानलाई विशेष ध्यान दिनु होस । मन मष्तिस्क लगाउनु होस । आफना आसनका विधिहरुमा ध्यान दिनु होस । तपाईले आफनो शिशुको लागि प्र्रर्याप्त पोषण दिन सक्षम हुनु हुने छ ।
पौडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्यापक र न्यौपान जनस्वास्थ्य विषयमा स्नातकोत्तर हुनुहुन्छ ।
प्रकाशित: २३ श्रावण २०७७ १६:२९ शुक्रबार