कुनै समय थियो, जब बालेन्द्र शाह अर्थात् ‘बालेन’ सत्ताविरुद्ध आवाज उठाउने युवाको प्रतीकजस्तै थिए। र्याप संगीतमार्फत उनले व्यवस्था, भ्रष्टाचार, सत्ता र अभिव्यक्ति स्वतन्त्रतामाथि तीखा प्रश्न उठाउँथे। ‘मलाई बोल्न दे सरकार, अपराध होइन’ भन्ने उनको र्याप केवल गीत थिएन, त्यो असन्तुष्ट पुस्ताको आवाज थियो।
तर समय फेरिएको छ। विद्रोहको मञ्चबाट सत्ता र जिम्मेवारीको केन्द्रमा पुगेका बालेन अहिले आफैँ प्रश्नको घेरामा छन्। छ वर्षअघि सार्वजनिक भएको उनको त्यही र्याप अहिले पुनः सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर यसपटक गीतको लोकप्रियताभन्दा बढी त्यसको ‘विरोधाभास’ चर्चामा छ।
कारण हो, प्रधानमन्त्रीका रूपमा संसद्मा अनुपस्थित रहनु र त्यसलाई लिएर उठेको आलोचना। नीति तथा कार्यक्रमजस्तो महत्त्वपूर्ण विषयमा संसद्मा स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने बेला प्रधानमन्त्री उपस्थित नभएपछि प्रतिपक्षी दलहरू आक्रामक बने। हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टी ले त बैठक नै बहिष्कार गर्यो।
साम्पाङले सञ्चारकर्मीसँग भने, ‘प्रधानमन्त्री आफैँ उपस्थित हुनुपर्ने विषयमा अरूलाई पठाउने गरिएको छ। मुलुकमा प्रधानमन्त्री नै नभएको जस्तो आभास भएकाले विरोधस्वरूप बैठक बहिष्कार गरेका हौँ।’
उनको यो अभिव्यक्ति बाहिरिएलगत्तै सामाजिक सञ्जालमा बालेनको पुरानो र्याप जोडेर आलोचना भइनै रहेको छ । ‘पहिले बोल्न दे सरकार भन्ने, अहिले किन नबोल्ने ?’, ‘तिमी आजभोलि किन बोल्दैनौ ?’ जस्ता टिप्पणीहरू फेसबुक, टिकटकलगायत विभिन्न प्लेटफर्ममा छ्याप्छ्याप्ती देखिन थाले। कतिपयले व्यंग्यात्मक कार्टुन बनाए, कतिले पुरानो गीतको भिडियो शेयर गर्दै वर्तमान व्यवहारसँग तुलना गरे।
राजनीतिमा यस्तो विरोधाभास नयाँ होइन। विपक्षमा हुँदा जुन कुरा सहज लाग्छ, सत्तामा पुगेपछि त्यसकै बोझ महसुस हुन्छ। तर बालेनको हकमा आलोचना बढी चर्को हुनुको कारण उनको विगतको सार्वजनिक छवि हो। उनी परम्परागत राजनीतिज्ञ होइनन्। उनी आफूलाई ‘सिस्टमसँग लड्ने आवाज’का रूपमा प्रस्तुत गर्दै उदाएका व्यक्ति हुन्। त्यसैले अहिले जब उनी आफैँ प्रश्नबाट टाढा देखिन्छन्, आलोचना स्वाभाविक रूपमा तीव्र बनेको छ।
संसदीय लोकतन्त्रमा प्रधानमन्त्री संसद्प्रति प्रत्यक्ष उत्तरदायी मानिन्छन्। नीति तथा कार्यक्रम सरकारको आधिकारिक दृष्टिपत्र हो। त्यसको बचाउ, व्याख्या र आलोचनाको जवाफ दिने दायित्व अन्ततः सरकार प्रमुखकै हुन्छ। त्यसैले संसद्मा अनुपस्थिति केवल प्राविधिक विषय होइन, यो राजनीतिक सन्देश पनि हो।
बालेनका समर्थकहरूले भने सामाजिक सञ्जालमा उनको बचाउ पनि गरिरहेका छन्। उनीमाथि अनावश्यक राजनीतिक घेराबन्दी गरिएको तर्क गर्दै कतिपयले ‘काम गर्ने मानिसलाई आलोचना बढी हुन्छ’ भन्ने प्रतिक्रिया दिएका छन्। तर आलोचना र समर्थनबीच अहिले सबैभन्दा बढी चर्चामा भने उनकै पुरानो गीत परेको छ।
कहिल्यै नझुक्ने विद्रोही स्वरका रूपमा उदाएका बालेनलाई अहिले त्यही स्वरले पछ्याइरहेको छ। पहिले उनले भनेका थिए, ‘मलाई बोल्न दे सरकार।’ अहिले सामाजिक सञ्जाल र प्रतिपक्षको एउटै आवाज छ, ‘अब तिमी नै सरकार हौ, अब बोली दे सरकार ...’
प्रकाशित: ३० वैशाख २०८३ १७:५१ बुधबार





