७ वैशाख २०८१ शुक्रबार
ब्लग

दलितमाथि अन्याय किन ?

गौरी तमू

रुकुम चौरजहारी घटनाको महिना दिन पुग्दैछ। यो घटना अब बिस्तारै नवराज र नवराजका आफन्तको विषयका रूपमा सीमित हुँदै गएको छ। रुकुम नरसंहार विरुद्ध सबै नेपालीले एकै स्वरमा मानवता र सामाजिक न्यायका पक्षमा आवाज उठाउनुपर्नेमा त्यसो हुन सकेन। हुँदाहुँदै पोष्टमार्टम रिपोर्टसमेत पानीमा डुबेर मृत्यु भएको भनेर लेखिएपछि मृतकका आफन्तबाट अस्पताल तोडफोड मात्रै भएन, त्यसमा संलग्न चिकित्सकलाई नै सुरक्षाकर्मीको घेरामा बस्नुपर्ने अवस्था सिर्जना भएको छ। 

अधिकांश गैर दलितहरू कथित उच्च जातीय अहंकारको दलदलमा मानवीय चेत र विवेक गुमाएर कसरी मौन बस्छन् र दलितको मुद्धा दलितकै मुद्धाका रूपमा मात्र हेरिन्छ भन्ने कुरो रुकुम घटनाले देखाएको छ।   

पछिल्लो समय पूर्वी पाँचथरदेखि धनकुटा, मोरङ, सिरहा, धनुषा, पोखरा र रुपन्देही हुँदै रुकुमसम्मका दलितमाथि भएका एक दर्जन बढी घटनालाई हेर्दा पार्टीका नेता, कार्यकर्ता र स्थानीय जनप्रतिनिधि नै कानुनलाई हातमा लिएर अपराधीको संरक्षणमा लागेका देखिन्छन्। चाहे त्यो रुपन्देही, रुकुम घटना होस् वा  २०६८ सालदेखि पछिल्लो ८ वर्षका अवधिमा जातकै आधारमा करीब डेढ दर्जन मानिसको मृत्युहुँदासम्म पुर्पक्ष नभएका घटना। यस्ता जघन्य अपराधमा समेत कानुनी कारबाहीको प्रक्रियालाई लत्याएर प्रहरी र अदालतभन्दा माथि उठेर घटनाको प्रारम्भिक सत्यतथ्य तोडमोड गर्न कसरी सत्ता र शक्तिको खेल चलिरहन्छ र अधिकांश गैर दलितहरू कथित उच्च जातीय अहंकारको दलदलमा मानवीय चेत र विवेक गुमाएर कसरी मौन बस्छन् र दलितको मुद्धा दलितकै मुद्धाका रूपमामात्र हेरिन्छ भन्ने रुकुम घटनाले देखाएको छ।  

रुकुम  हत्याकाण्डले कानुनी राज्यको उपहास मात्रै गरेन। नेपाली समाजमा जरो गाडेर बसेको जात व्यवस्थाको नाङ्गो रूपलाई पनि उदाङ्ग पारेको छ। कथित उच्च जात भनिने युवतीसँग प्रेम गरेकै कारण भेरी–४ रानागाउँ जाजरकोटका कथित तल्लो जात भनिने नवराज बिकसहित ६ जनाको रुकुम सामूहिक हत्या आफैंमा अमानवीय र क्रूर त थियो नै त्योभन्दा बढी बर्बर र अमानवीय थियो संसददेखि सामाजिक सञ्जालसम्म केही नेता, कार्यकर्ता, कथित बौद्विक र प्रगतिशील भनिने लेखक, साहित्यकारका  अभिव्यक्ति।

उनीहरूका अभिव्यक्ति पढ्दै गर्दा यस्तो लाग्थ्यो हामी एक्काइसौं शताब्दीको आधुनिक युगमा होइन, ढुंगे युगमै छौ र हामीले आर्जन गरेका शिक्षा, चेतना र राजनैतिक परिवर्तनका सबै उपलब्धि डढेर खरानी भएका छन्। जातकै आधारमा मान्छेको ज्यान लिनेसम्मको जघन्य अपराधलाई समेत अनेक कुतर्क गरेर जित्न खोज्ने र यस्तो हत्यालाई ढाकछोप गर्न खोज्नेहरू मानव सभ्यताकै कलंक हुन्।  

जातकै आधारमा ६ जना युवाको पाशविक हत्या हुँदा सिंगो समाज र देश एक ठाउँमा उभिएर मानवताका पक्षमा बोल्नुपर्नेमा, लकडाउनका बेलामा युवा समूहमा गाउँ प्रवेश गर्नु गलत भएको, युवतीको उमेर नपुगेको, मल्ल र विक बीचको  घटनामा किन अरू जातलाई मुछिएको तर्क मात्रै गरियो। त्यति मात्र होइन, केही मानवताप्रेमी र न्यायप्रेमी गैरदलितले जात व्यवस्था र ब्राहमणवादी प्रवृतिको विरोध गरेर दलितका पक्षमा आवाज उठाउँदा उनीहरूलाई नै आफ्नो जात(ब्राम्हण) परिवर्तन गरेर दलितलाई साथ दिन चुनौती दिने कथित बुद्धिजीवी, प्राध्यापक, शिक्षक र सांस्कृतिक अभियन्ता भनिनेहरू सबै समाजका धमिरा हुन्। हजारौं वर्षदेखि यस्तै धमिरे सोचबाट ग्रस्तहरूलाई लिएर अगाडि बढ्नु नै नेपाली समाजको विडम्बना हो।

रुकुम सामूहिक हत्या आफैंमा अमानवीय र क्रूर त थियो नै त्योभन्दा बढी क्रूर बर्बर र अमानवीय थियो संसददेखि सामाजिक सञ्जालसम्म केही नेता, कार्यकर्ता, कथित बौद्विक र प्रगतिशील भनिने लेखक, साहित्यकारका  अभिव्यक्तिहरू।

लकडाउनकैबीच रुकुम लगायत दर्जनौं ठाउँमा दलितमाथि भएका घटनामा  चूपचाप बस्नेहरू जब कैलाली क्वारेन्टिनको घटनालाई दलितसँग जोडेर अनेक तर्क गर्छन् तब नेपाली समाजमा जरो गाडेर बसेको जात व्यवस्थाको असली नाङ्गो रूप बाहिरिन्छ। त्यति मात्रै होइन, दलित भएकै कारण जातीय विभेद भएको हो भने दलित शब्द बेचेर किन आरक्षण लिने? जस्ता अत्यन्तै नीच प्रश्न गर्नेहरूको मानसिकताले के देखाउँछ भने समाज जतिसुकै शिक्षित र सभ्य देखिए पनि कथित उच्च जातीय अहंकारको दबदबा डरलाग्दो किसिमले बढ्दै गइरहेको छ। चाहे त्यो अमेरिकामा प्रहरीद्वारा मारिएका अश्वेत समुदायका जर्ज फ्लोएड हुन् या चौरजहारीमा मारिएका नवराज। यी दुवै अपराधमा यही उच्च जातीय अहंकारको डरलाग्दो रूप बाहिरिएको छ ।

दलितहरूको आरक्षणमा प्रश्न गर्नेहरूले पटकपटक इतिहासलाई गहिरो अध्ययन गर्नु जरुरी छ। जुन बेला(लिच्छवीकाल)जमिन नै मुख्य सम्पत्ति थियो र राज्यद्वारा वितरण गरिने विर्ता अपवादबाहेक उच्च हिन्दू जातकाले मात्रै पाए। विसं २००७ भन्दा अघि गुरुकुलमा पढ्ने अधिकार तागाधारी(खस–आर्य)बाहुन, क्षेत्री र नेवारमा पनि श्रेष्ठभन्दा माथिका जनै लगाउनेले मात्रै पाए। सात सालपछि पञ्चायतकालमा लोकसेवा आयोगको नाम निशाना थिएन र सीधै उनै गुरुकुलमा पढेकाहरूलाई टपक्क टिपेर जागिर दिइयो तर दलितहरूले कहिल्यै विर्ता पाएनन्। पढ्न पाएनन्। जागिर पाएनन्। मुख्य कुरो त मान्छे भएर बाँच्न पाएनन्। उनीहरू अन्याय र थिचोमिचो सहेर पिँधको पिँधमै बाँच्न विवश भए।  

इतिहासमा जजसका पुर्खाले जात व्यवस्था सुरु गरेर निरन्तर हजारौं वर्षसम्म दलितलाई दमन गरिरहे तिनका अहिलेका पुस्ताले यसको नैतिक जिम्मेवारी लिनुपर्छ। र दलितलाई मान्छेका रूपमा बाँच्न दिनुपर्छ।

जब राज्यले ऐतिहासिक रूपमा सामाजिक, साँस्कृतिक र भाषिक रूपमा पछाडि परेका र राज्य संयन्त्रमा सामेल हुन नपाएका दलित, जनजाति, महिला लगायतलाई केही समयका लागि आरक्षण दिएर अघि ल्याउन खोज्दा ईष्र्याले जल्नेहरूले बुझ्न जरुरी छ कि यो देश जति अरूहरूको हो उति नै दलितको पनि हो। त्यति मात्रै होइन, इतिहासमा जजसका पुर्खाले जात व्यवस्था सुरु गरेर निरन्तर दलितलाई दमन गरिरहे तिनका अहिलेका पुस्ताले यसको नैतिक जिम्मेवारी लिनुपर्छ। र दलितलाई मान्छेका रूपमा बाँच्न दिनुपर्छ।

दलितहरू दलिएर, चेपिएर र हेपिएर हजारौं वर्षदेखि समाजको पिँधमा बसिरहे। उनीहरूलाई मेला, मन्दिर, पानी पँधेरा हुँदै सामाजिक सञ्जालमा बहिष्कारदेखि सार्वजनिक सम्पत्तिको प्रयोगमा समेत निषेध गरियो। जब दलितले अलिकति हिम्मत गरेर शिर ठाडो पारेर मान्छे भएर बाँच्ने हिम्मत गरे तब उनीहरूलाई समाज भडुँवा, असहिष्णु र विखण्डनकारी पात्रका रूपमा उभ्याइयो। सत्य त यो हो कि आजसम्म समाजमा बचेखुचेको शान्ति र सहिष्णुता देखिन्छ त्यो यहाँका दलित, मधेसी, मुस्लिम, महिला र जनजाति लगायतले चूपचाप सहेर बसेकाले नै संभव देखिएको हो। कसैले मान्छे भएर बाँच्न खोज्दा समाज भाँडिन्छ र असहिष्णुता  बढ्छ भने यो समाजलाई अझै त्यस्ता हजारौं समाज भडुँवा र असहिष्णु पात्रको खाँचो छ।  

हामीले बिर्सनु हुँदैन नेपालका हरेक राजनैतिक परिवर्तनमा अग्रपङिक्तमा रहेर बलिदान दिएका दलितलाई। आज तिनकै रगतले लेखिएको संविधान र कानुनले न्याय दिन सकिरहेको छैन। दलितमाथि हुने यस्ता अमानवीय हत्या हिंसाका घटना सिंगो समाज र मुलुककै चिन्ताको विषय बन्नुपर्नेमा दलितको मात्रै विषय बन्नु लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका लागि लज्जास्पद विषय हो।

जब दलितले शिर ठाडो पारेर मान्छे भएर बाँच्ने हिम्मत गरे तब उनीहरूलाई समाज भडुँवा, असहिष्णु र विखण्डनकारी पात्रका रूपमा उभ्याइयो।

गत जेठ महिना नेपाल र दलित समुदायकै लागि ऐतिहासिक महत्वको महिना थियो। नवराजजस्तै युवाको बलिदानीले जेठ १५ मा गणतन्त्र स्थापना र जेठ २१ मा नेपाललाई छुवाछूतमुक्त घोषणा गरिएको थियो। तर विडम्बना ! यहीँ तिथिमितिकै आसपासमा जातीय विभेदकै कारण अंगिरा पासीहरू बलात्कारपछि आत्महत्या गर्न विवश भए भने नवराजहरू कथित उच्च जात भनिनेसँग प्रेम गरेकै कारण लखेटीलखेटी भेरी नदीमा बगाइए। थाहा छैन अझै कहिलेसम्म जातका आधारमा वर्जित प्रेमका लागि नवराजहरूले भेरीमा नदीमा बगिरहनुपर्ने हो र हामी अपराधी समाजको सदस्यका रूपमा बाँचिरहनुपर्ने हो।

दलित अधिकारकर्मी डा. बिआर अम्बेडकरले भनेका छन् ‘संविधान जति नै राम्रो किन नहोस्। यदि त्यसको प्रयोग गर्ने व्यक्ति खराब छन् भने त्यो संविधान अवश्य नै खराब कहलाउँछ।’  

हो, संविधान र कानुनमा लेखेर मात्र हुने भए नेपालको संविधानको मौलिक हकको धारा १८ को समानताको हक, धारा २४ को छुवाछूत तथा भेदभावविरुद्धको हक र धारा ४० को दलितको हकले दलितलाई न्याय दिन सक्नुपर्ने हो। तर त्यसको कार्यान्वयनमा अम्बेडकरले भनेजस्तै खराब व्यक्तिको संलग्नतासँगै पीडितहरूले न्याय नपाउनु चिन्ताजनक कुरो हो।

जबसम्म विद्यालय तहको पाठ्यक्रमबाटै जात व्यवस्था र ब्राहमणवादबारे बुझाउन सकिदैँन तबसम्म हामी पछि परिरहने छौं। नबिर्सौं बाहुनवाद भनेको प्रवृत्ति हो। गुरुङ, मगर, दलित लगायत सबै जातिमा बाहुनवाद छ।  

नेपालको शासन व्यवस्थामा हिन्दू धर्मको मनु हुदैँ जंगबहादुरको मुलुकी ऐन १९१० सम्म आइपुग्दा स्पष्टसँग लेखेर र तोकेरै औपचारिक रूपमा नेपाललाई जात व्यवस्थामा आधारित समाज बनाइयो। ४ वर्ण व्यवस्था (ब्राहमण, क्षेत्री, वैश्य र शुद्र)का आधारमा सबैभन्दा माथि तागाधारी, दोस्रोमा नमासिन्या, तेस्रोमा मासिन्या र चौथौमा पानी नचल्ने छोइछिटो हाल्नु नपर्ने र पाँचौंमा पानी पनि नचल्ने र छाइछिटो पनि हाल्नुपर्ने गरी जातलाई ५ ओटा तहगत संरचनामा विभाजित गरिसकेपछि हिन्दू समाजले मात्र नभई जनजाति समाजले पनि जात व्यवस्थाअनुसारकै व्यवहार गर्नुपर्ने भयो। यसो नगरेमा उनीहरूलाई पनि राज्यबाट दण्ड,सजाय दिइन्थ्यो। राज्यको यहीे नीतिकै कारण यहाँका बाहुन–बाहुनबीचमा, जनजाती–जनजातीबीचमा र दलित–दलितबीचमा पनि आन्तरिक विभेद बढेर गयो र यी समुदायलाई कहिल्यै एक भएर अघि बढ्न दिइएन।

यो ऐतिहासिक तितो यर्थाथ मनन गर्दै जबसम्म नेपालका पाठ्यक्रममा तल्लो तहबाट नै जात व्यवस्था र ब्राहमणवादबारे बुझाउन सकिँदैन तबसम्म समाजमा यस्ता घटना भइरहनेछन् । र हामी विश्व परिवेशमा सधैं पछाडि परिरहने छौं।अहिलेका युवा पुस्ता यसतर्फ सचेत हुनु जरुरी छ।

नबिर्सौं बाहुनवाद भनेको प्रवृत्ति हो। गुरुङ, मगर, दलित लगायत सबै जातिमा बाहुनबाद छ।  

जात व्यवस्थाको खिल उप्काएर फ्याँक्न त्यति सजिलो त छैन र पनि यो पुस्ताले निर्मम भएर निर्णय गर्ने समय आइसकेको छ । सोचौं हामी अपराधी समाजकै सदस्य भएर बाँचिरहने या विभेद र अन्यायविरुद्ध एकजुट भएर समतामूलक न्यायपूर्ण समाज निर्माण गरेर अगाडि बढ्ने?  

प्रकाशित: ८ असार २०७७ ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App