६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

कर्णालीबाट ३८ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ३८ हजार ३७९ विद्यार्थी सहभागी हुने भएका छन्।

परीक्षा चैत १९ गतेदेखि सुरु हुनेछ। नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ ६ हजार १२४ गरी कुल विद्यार्थी सहभागी हुनेछन्। यो संख्या गत वर्षको तुलनामा ४६१ ले बढी हो।

शिक्षा विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी एवं परीक्षा शाखा प्रमुख खिमप्रसाद ढकालका अनुसार सबैभन्दा बढी विद्यार्थी सुर्खेतका ९ हजार ७७९ सहभागी हुनेछन् भने सबैभन्दा कम डोल्पाबाट ६७४ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। डोल्पामा चार परीक्षा केन्द्र छन्।

त्यस्तै दैलेखबाट ६ हजार २५३, जाजरकोटबाट ४ हजार ८१३, सल्यानबाट ४ हजार १४२, रुकुमपश्चिमबाट ३ हजार ९२२ र कालीकोटबाट ३ हजार ७१७ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। जुम्लाबाट २ हजार २५५, मुगुबाट १ हजार ५२४ र हुम्लाबाट १ हजार ३०० विद्यार्थी परीक्षा दिनेछन्।

परीक्षा केन्द्रहरूको विवरणअनुसार सुर्खेतमा ३४, दैलेखमा २२, कालीकोटमा २०, सल्यानमा १९, जाजरकोट र रुकुमपश्चिममा १६–१६, जुम्लामा १४, मुगुमा ९, हुम्लामा ७ र डोल्पामा ४ परीक्षा केन्द्र छन्।

गत वर्ष कर्णाली प्रदेशबाट ३७ हजार ९११ विद्यार्थी एसईईमा सहभागी भएका थिए। जसमा नियमिततर्फ ३१ हजार ८०४, ग्रेड वृद्धितर्फ ६ हजार १०७ र प्राविधिकतर्फ १ हजार ३४२ विद्यार्थी थिए। त्यसअघि २०७९ सालमा ३८ हजार ९७० विद्यार्थीले एसईई दिएका थिए भने अघिल्लो वर्ष ३५ हजार ८०८ विद्यार्थी सहभागी थिए। 

प्रकाशित: ६ चैत्र २०८२ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App