४ वैशाख २०८१ मंगलबार
ब्लग

स्वर्गको टुक्रा बल्थली

साइक्लिङ

काठमाडौं उपत्यकाको सेरोफेरोमा रहेका रमणीय गन्तव्य मध्ये बल्थली पनि एक हो । साइकल यात्राका सौखिनहरूको रोजाइमा पर्ने उत्कृष्ट गन्तव्य । बल्थली यात्राको योजना बनाउँदा एक दिने वा दुई दिने बनाउन सकिन्छ ।  

साइकल, साइकलेको अनुभव, क्षमता तथा समयलाई दृष्टिगत गरि आफु अनुकुल रुट भएर बल्थली जान सकिन्छ । सबैभन्दा सजिलो रुट भने कोटेश्वरबाट अरनिको राजमार्ग हुँदै साँगा भञ्ज्याङ, बनेपा, पनौती, खोपासी, बल्थली हुनसक्छ । भक्तपुरबाट च्यामासिंह, नालाको बाटो भएर पनि बनेपा  पुग्न सकिन्छ । कोटेश्वर–बनेपाको दूरी करिब २० किमि । बनेपाबाट पनौती ७ किमि ।  

बल्थलीमा आलु खेती  

अलिक चुनौती सामना गर्दै यात्रा रोमाञ्चक बनाउने हो भने लुभुबाट लाँकुरी भञ्ज्याङ, पनौती भएर जान सकिन्छ । पाटनको मंगल बजारलाई आधार मानि लाँकुरी भञ्ज्याङ, माने दोभान हुँदै पनौती निस्कन सकिन्छ ।  

आउनुहोस हामी पहिलो सजिलो रुटको अनुभव गरौं ।  

भक्तपुर  

कोटेश्वरलाई प्रस्थान विन्दु मानेर बल्थली जाँदा सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वको मल्लकालीन सहर भक्तपुर हुँदै जानु बेस हुन्छ । कोटेश्वरबाट भक्तपुर दरवार क्षेत्र करिव ९ किमि दूरीमा छ ।  

दरवार क्षेत्रका पचपन्न झ्याले दरवार, न्यातपोल, दत्तात्रय, च्यामासिंह हँुदै जगातीतर्फ लाग्ने । जगातीबाट बनेपा करिब ११ किमि दूरीमा छ । यो बाटो धेरै व्यस्त हुने भएकाले विकल्पका रुपमा नालाबाट जान सकिन्छ । ऐतिहासिक भक्तपुर पुगेपछि त्यहाँको जुजु धौ, नेवारी परिकार र बारा चाख्न छुटाउनु हुँदैन ।  

भक्तपुरको दत्तात्रय मन्दिर

नाला–बनेपा

च्यामासिंह–नाला करिब ९ किमि छ । नाला, पुरानो सांस्कृतिक सहर । कला, सम्पदा र संस्कृतिले नाला सम्पन्न छ । यहाँको मौलिक कला, सम्पदा र संस्कृतिलाई यथावत राख्न संरक्षण गरिएको होला ! तर भुकम्पपछि पुनःनिर्माण गर्दा सिमेन्टका संरचनाले प्राचीन पहिचानलाई विस्थापित गर्दैछ । नाला तथा वरपरको भुबनोट सुन्दर छ । मौसमी खेतीपातीले यसको सुन्दरतामा थप जिवन्तता प्रदान गरेको छ । यहाँबाट नगरकोट, धुलिखेल, चण्डेश्वरी जाने विभिन्न रुट छन् ।  

नालाका दुई शक्ति स्वरुप–उग्रचण्डि भगवती र करुणामय अवलोकितेश्वर छन् । यस रुट भएर यात्रा गर्दा यी दुई स्थान नछुटाउनु बेस । बनेपा काभ्रेपलाञ्चोक जिल्लाकै पुरानो र ठूलो व्यापारिक केन्द्र । नालाबाट यहाँ सम्मको दूरी करिव ३ किमि छ ।  

पनौती

बनेपाबाट पनौतीको दूरी करिव ६ किमि छ । पुण्यमती र रोशी खोलाको दोभानमा अवस्थित धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वले धनी पनौती नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य । पनौती पुरानो व्यापारिक सहर । विगतमा राजधानी काठमाडौं र पूर्वी भेग मात्र नभई, भोट र भारतीय सहर जोड्ने व्यापारिक मार्ग पनि थियो । यहाँको प्रसिद्ध बाह्र बर्षे मेलामा मुलुकभरका  श्रद्धालु आउँछन् ।  

काष्ठकलाको बेजोड नमुना छ इन्द्रेश्वरमा । छोटो समयमै पनौती क्षेत्र घुम्न सकिन्छ । काष्ठकलाले भरिएको इन्द्रेश्वर महादेव मन्दिर, उन्मत्त भैरब, ब्रम्हायणी, कृष्णनारायण मन्दिर तथा कलात्मक पाटी तथा सत्तल यहाँका  आकर्षण हुन् ।

पनौतीमा नेवारी रेष्टुराँ, होमस्टे र होटल सुविधा छ । पनौतीबाट पूर्व नमोः  बुद्ध, उत्तरमा धुलिखेल र दक्षिणमा चलाल गणेश जान सकिन्छ ।

देबेन्द्र बस्न्यात

खोपासी

पनौती पछिको ठूलो बजार खोपासी । पनौतीबाट ३.५ किमिमा खोपासीे छ । खोपासीमा मुलुककै तेस्रो जेठो २.४ मेघा वाट क्षमताको जल विद्युत गृह छ । २०१७ सालमा निर्माण शुरु भई ०२२ सालबाट संचालन भएको गृह । बाटोमा रेशम खेती आयोजना पनि देखिन्छ ।  

बल्थलीमा आरामदायी तथा स्तरीय रिसोर्ट संचालनमा छन् । साथै घरबास (होमस्टे) को पनि व्यवस्था छ ।

खोपासीबाट अलि अगाडि गए पछि झोलुङे पुल आउँछ । साइकल यात्रीका लागि झोलुङे पुल तरेर जाँदा बल्थली मार्ग छोटो र रोमाञ्चक हुन सक्छ । दायाँतर्फको बाटोबाट पुनः रोशी पुल तरेर उकालो लागे बल्थली पुगिन्छ ।

बल्थली

बल्थली अर्थात पहाडी गाउँ (१,७०० मिटर) । हिमाल, पहाड र सुन्दर उपत्यकाको भूगोल र मौलिक नेपाली गाउँघरको सुन्दर दृष्यको आनन्द बल्थलीबाट लिन सकिन्छ । आकास खुलेका बेला गौरीशंकर, दोर्जेलाक्पा, लाङटाङ आदि हिमश्रृखलाको दृष्यावलोकन गर्न सकिन्छ । बिशेष गरि  पुसमाघमा सुन्तलाको स्वादमा रमाउन सकिन्छ । त्यतिबेला सुन्तलाले बगैंचा पँहेलपुर हुन्छन् । 

बल्थलीमा साइकलेहरू

बल्थलीमा आरामदायी तथा स्तरीय रिसोर्ट संचालनमा छन् । साथै घरबास (होमस्टे) को पनि व्यवस्था छ । यो भेगमै प्रशस्त दूध उत्पादन गर्ने गरेको देखिन्छ । स्थानीय बजारमा हम्मेसी दूधका परिकार पाइँदैनन् । पहिलो दिनको यात्रा यतै बिट मार्ने भए दोस्रो दिन नमोः बुद्ध जाने योजना बनाउन सकिन्छ ।  

बगैंचामा मंसिरको आधाआधिबाट सुन्तला खान लायक हुन्छ । सुन्तला टिप्ने, जुस, जेली, बनाउने, खाने जस्ता महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्न सक्छ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ ।  

नमोःबुद्ध  

बौद्ध धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल हो नमोःबुद्ध । पौराणीककालमा भोकले सिथिल भएर मर्न लागेकी बघिनीका पाँचवटा डमरुले दूध चुसिरहेको देखेर राजकुमारलाई करुणा जागेर आयो । डमरु बचाउन उनले मर्न लागेकी  बघिनीलाई आफ्नो रगत चुसाए र शरीरको मासु खुवाए । बघिनीले खाएर बचेको हाडखोर जम्मा गरेर समाधी बनाइयो । त्यसको ३,५०० बर्ष पछि गौतम बुद्ध आए । उक्त ठाँउको तीन पटक परिक्रमा गरे पछि पहिलेको महासत्वले पुनः अवतार लिएको बताए । यसको नाम उनै बुद्धले नमोः बुद्ध राखेको विश्वास गरिन्छ ।  

नमोः बुद्ध

नमोः बुद्धबाट चारैतिर सुन्दर दृष्य देखिन्छ । नमोःबुद्ध बस्न चाहनेका लागि होटल तथा रिसोर्ट सुविधा छ । बल्थलीबाट एक्ले खेत, शंखु भएर नमोःबुद्ध वा पुनः पनौती निस्कने बाटो छ । बल्थलीबाट गाउँ छिचोल्दै रोशी खोला पुगिन्छ ।  रोशीको झोलुङे पुल पारी उकालो हुँदै घ्याङडाँडा शंखु पुगिन्छ । शंखुबाट काठमाडौं फर्कने वा नमोःबुद्ध उक्लने रुट छनौट गर्न सकिन्छ । बल्थलीबाट शंखु करिब ५ किमि दूरीमा छ ।  

बल्थलीबाट शंखु, सुन्थान हुँदै पनौती करिब १० किमि दूरी । शंखुबाट करिब ४ किमि दूरीमा नमोःबुद्ध पुगिन्छ । यात्रा छोट्ट्याउने भए सुन्थानबाट पनौती ३ किमि । पनौतीबाट बनेपा करिब ६ किमि, बनेपाबाट नाला हुँदै च्यामासिंह १२ किमि दूरी पार गरेर पुनः भक्तपूर हुँदै काठमाडौं फर्कन सकिन्छ ।

नमोःबुद्धबाट काभ्रे भञ्ज्याङ, धुलिखेल हुँदै पनि काठमाडौं फर्कन सकिन्छ । नमोःबुद्ध काभ्रे भञ्ज्याङको दूरी करिब ७ किमि छ भने काभ्रे भञ्ज्याङदेखि धुलिखेल ५ किमि छ ।    

धुलिखेल  

धुलिखेल प्रसिद्ध पर्यटकीय गन्तव्य । नमोःबुद्धबाट फर्कंदा काभ्रे भञ्ज्याङ, भट्टेडाँडा, गौखुरेश्वर मन्दिर हुँदै पुरानो धुलिखेल पुगिन्छ । यहाँका बास्तुकला, काष्ठकला, धातुकलाले भरिएका नारायण मन्दिर, शिव मन्दिर, हरिसिद्धि मन्दिर आदिको दर्शन, अवलोकन गदै काठमाडौं फर्कन सकिन्छ ।

धुलिखेलबाट अरनिको राजमार्ग हुँदै कोटेश्वरसम्मको दूरी करिब २५ किमि छ । 

प्रकाशित: ८ जेष्ठ २०७७ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App