२० जेष्ठ २०७७ मंगलबार
ब्लग

संकटले सिकाएको पाठः अस्तित्व बचाउन साझा प्रयत्न

मानव सभ्यताको विकाससँगै विश्वमा धेरै उथलपुथलहरु भइरहेका छन। विभिन्न कालखण्डमा मानव  निर्मित  वा प्राकृति विपत्तिकाे सामना विश्वले गरिरहेको छ। विश्वयुद्धदेखि ठूल्ठुला महाब्याधिहरुको सामना मानव जातिले गरे। विभिन्न विपत्तिको सामना मानव जातिले अझैं गरिरहेका छन्। गत डिसेम्बरमा चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस (काेभिड-१९)महामारीको रुपमा विश्वभर फैलिएको छ।

जनमानसमा गम्भिर आतंक र त्रास फैलाएको छ। अत्यन्तै सूक्ष्म  जीवाणुको प्रभाव विश्वभर यो हदसम्म फैलन्छ भन्ने आँकलन सायदै कसैले गरेका थिए हाेलान्। २ सय भन्दा बढी मुलुक कोरोनासँगको युद्ध लडिरहेका छन्। यो सामग्री तयार पार्दासम्म करिब साढे दुई लाख मान्छेले ज्यान गुमाइसकेका छ्न र लाखौ मानिसहरु संक्रमित छन। मानिस र जीवाणु बिचको युद्धका अत्यन्तै करुण दृश्यहरु आँखै अगाडि देिखएका छन्। विश्व त्रस्त छ र यसको समुल अहिलेको प्रमुख चुनौती बनेको छ।

कोरोना कहर अझै बढ्छ वा यत्तिमै सकिन्छ,अनुमान लगाउन सहज छैन। सायद यो बढ्यो भने जात, वर्ग र धर्मका सबै पुर्वाग्रहसहित यसको सामना हुने निश्चित छ। 

के हाम्रो यस्तै जिद्दी स्वभावले प्रकृतिलाई परास्त गर्न सक्छ त?

राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यापार व्यवसायको माध्यम वा मार्ग हुँदै उक्त जीवाणु विश्वभर फैलियाे। अझैं फैलदाे क्ममै छ। नेपालमा पनि करिब पाँच दर्जन मानिसमा यसको संक्रमण देखिएको छ। एउटा सुखद कुरा नेपालमा हालसम्म भाइरसको संक्रमणका कारण कसैले ज्यान गुमाएको पुष्टि भएको छैन।

लाग्छ, संसारभर यो अदृश्य जीवाणु मानिसकै सहारामा फैलियाे। हाम्रो सम्बन्धमाथि नै दुरी कायम राख्नमा यो अग्रसर रह्यो। हुन त आँखाले नदेखिने अत्यन्तै सूक्ष्म जीवाणुले पनि संसारलाई धक्का दिनसक्छ, तहल्का मच्चाउछ भन्ने सन्देश कुनै नौलो रहेन।

विश्वमा महामारीकै विवरणलाई हेर्ने हो भने पनि सन २००३ मा चीनमै फैलिएको सार्स, पश्चिम अफ्रिकामा फैलिएको इबोलाका कारण हजारौ मानिसले ज्यान गुमाएका थिए। मानिसको शरीरमा सर्ने यस्ता विभिन्न प्रकारका जीवाणुहरुले बर्सेनी संसारभर बीसौ लाख मानिसहरुको ज्यान लिइरहेकै छ। यस्तो रोग सार्ने बिषालु कीटाणुको प्राकृतिक होस्ट के हुन सक्छ त? 

विगत ५० वर्ष यता पृथ्वीमा देखिएका करिब/करिब ३ सय बढी रोगजन्य किटाणुको असर मध्ये करिब दुइतिहाइ जंगली जनावर हुन्। इबोला, जिका, सार्स, मेसे र अहिले फैलिएको कोरोना भाइरस जस्ता महाब्याधिको असर वा त्यस्ता संक्रमण ल्याउने भाइरसको प्राकृतिक होस्ट जंगली जनावर नै हुन। कोरोना पनि जनावरबाटै मानिसमा सरेको प्रारम्भिक रिपोर्ट छ। तर अझैं अध्ययनकै क्रममा भएकोले थप तथ्य विस्तारै बाहिर आउँला। 

एक अध्ययनले बताएअनुसार चीनमा मात्र दुम्सी, चमेरा, सालक, बँदेल जस्तै ५० भन्दा बढी जङ्गली जनावरहरु घरमा पाल्ने गरिन्छ। वन्यजन्तु व्यापारको केन्द्र मानिने चीनले यस्ता सयौं/हजारौं फर्म खोलेरै बार्षिक करिब ६५/७० विलियन डलरको हाराहारीमा व्यापारको प्रबद्र्धन गरिरहेकाे छ।

अफ्रिकाको घनाजंगल होस वा चीनको मासु पसल अनि न्यूयोर्कको प्रयोगशाला अनुसन्धान र व्यापारको माध्यममार्फत मानवसमुदाय जंगली जनावरको चिनाजानीमा छन। प्रत्यक्ष/अप्रत्यक्ष रुपमा मानिसहरु जङ्गली जनावारको सामिप्यतामा रहनुले पनि वन्यजन्तुजन्य रोगको नजिक मानव समुदाय रहेको यथार्थता प्रकट हुन्छ।

माथी उठाइएका विषयवस्तु प्राथमिकताको आधारमा के प्रकृतिको वास्तविक वस्तुस्थितिमाथि मानवीय स्वार्थहरु हावी भएका हुन ? यो प्रश्नको सापेक्षतामा रहेर विश्लेषण गर्दा प्रकृतिपूजक मानिस स्वयं बिनाशी भएको छ। अर्थात प्रकृतिलाई आफूअनुकुल बनाउने स्वार्थमा तल्लिन हुँदा आफै नाश हुने संघारमा पुगेको छ।

प्रकृतिपूजक मानिस स्वयं बिनाशी भएको छ। अर्थात प्रकृतिलाई आफू अनुकुल बनाउने स्वार्थमा तल्लिन मानव समुदाय आफै विनासको संघारमा पुगेको छ।

यो प्रकोपका कारण पनि प्रदुषणको स्तरमा अकस्मात गिरावट आएको समचारहरु बाहिरिएका छ्न्। युरोपियन एजेन्सी र नासाको स्याटेलाइट चित्रले वातावरणमा हानिकारक हरितगृह ग्यास उत्सर्जनमा गिरावट आएको, ग्रह तताउने ग्यास र कार्वनडाइअक्साइड उत्सर्जनमा कमि आएको सार्वजनिक गरेको छ।

स्याटेलाइट अवलोकनले इटाली र चीनमा कडा लकडाउनका कारण नाइट्रोजन डाईअक्साइड उत्सर्जनमा कमि आएको जानाकारीहरु दिएका छ्न। पर्यावरणमाथि मानिसको थोरै कम प्रयोगले पनि यो कति स्वच्छ र मानवहित अनुकुल हुनसक्छ भन्ने सन्देश अन्वेषकका अध्ययनहरुले हामीलाई गिज्जाइरहेका छन्।  के हाम्रो यस्तै जिद्दी स्वार्थले प्रकृतिलाई परास्त गर्न सक्छ त? तर वास्तविकता प्रकृतिलाई मानिसले पराजित गर्नै सक्दैन र प्राकृतिक वस्तुस्थितिको ह्राशबाट मानवसृष्टि अछुतो रहनै सक्दैन।

प्रकृतिको ज्यादा प्रयोग र उसको अवस्थालाई दिनानुदिन बिगार्दै मानवीय स्वार्थ अनुकुलका संरचनाहरु बनाउने, भत्काउने जस्ता बिकृत कार्यहरुले वातावरण स्वच्छतामा ह्रास आएको बिल्कुल सत्य हो। पर्यावरणीय स्वच्छता र प्राकृतिक बस्तुस्थितिको संरक्षणमा अब पनि मानवसमुदाय तल्लिन नहुने हो भने यो स्वयं मानव समुदायको निमित्त घातक बन्न सक्छ।

यो बृहत् पृथ्वी मानवजातिको निमित्त मात्र होइन, र यहाँ मानवसमुदाय आफुअनुकुल रहन पनि सक्दैन। रुख, जनावर, पशुपंंक्षीहरु लगायत सबै प्राणीहरुलाई पनि मानिस जस्तै र जत्तिकै बाच्ने र बस्ने अधिकार छ। पृथ्वीमा रहेका हरेक चिजबिज भनौ वा सजिव र निर्जिव बस्तु उनिहरुको आफ्नै अस्तित्व छ, मानवसमुदाय आफू शासक बनेर तिनिहरुलाई आफू अनुकूल प्रयोग गर्न खोज्नु प्राकृतिक सिद्दान्तको मर्म बिपरित छ।

प्रकृति र मानिसको अन्योन्याश्रित र पारस्पारिकतालाई आत्मसात गर्ने प्रयुक्त कथनहरु त पर्याप्त नै छ्न। तर समयको विभिन्न कालखण्डमा आईपर्ने यस्ता बिपतलाई कसरी सामना गर्ने भन्ने प्रचुर कल्पनाशीलता र गहिरो अध्ययनको पनि उस्तै आवस्यकता छ। यो महाब्याधिलाई लगभग अन्त्य गरिसकेको चीनको व्यबस्थापकीय क्षमताबाट विश्वले नै सिक्नुपर्ने थुप्रै बिषयहरु छ्न। जीवाणु र मानिसबीच तेस्रो बिश्वयुद्द्को रुपमा हेरिएको कोरोना भाइरस बिरुद्धको लडाइमा अमेरिकाको गति अन्त्यतै न्यून छ। 

अमेरिकाका आणविक भट्टीहरुमा बम, बंंकर, आणविक बम र युद्धविमानहरुको जसरी प्रचुर मात्रामा उत्पादन र त्यसको प्रयोग हुन्छ र गरिन्छ। त्यसरीनै कोरोनाबिरुद्धको लडाइँमा स्वास्थ सामाग्री उपलब्धतामा अभाव देखिएको छ। के अग्रभागका सिपाहीहरुलाई अहिले मास्क र पन्जाको जस्तै युद्धमा यसैगरि आणविक बम र पनडुब्बीहरुको अभाव हुन्थ्यो होला त ?

अमेरिकी अस्पतालमा थोरै तलबमा धेरै समय खट्ने डक्टरले आफ्नो ज्यानको बाजी थाप्दै फोहोर उठाउन फालिएको प्लास्टिक र रेनकोट प्रयोग गरेर बिरामी जाचिरहेको समाचारले हामीहरु स्तब्ध हुन्छौ। कोरोनाको उपचार गर्ने वा मृत्युको जिम्मा लगाइदिने द्विविधामा रहेको यथार्थताका आधारमा अमेरिकाको संकटमोचन प्रती हामीहरु विह्वल हुन्छौ।

नेपालको सन्दर्भमा भन्नुपर्दा विश्वका धेरै देशले गरेको आवागमन बन्दले हामीलाई कोरोना रोकथाममा अलिकती सहयोग मिलेको छ। तर वर्तमान अबस्थालाई यसरी आँकलन गर्न मिल्दैन। खुला सिमानाको कारण नेपालको अबस्था भारतमा के हुँदै छ? भन्नेमा पनि निर्भर रहन्छ। नेपाल दोश्रो चरणमै रहेकाले ‘फिजिकल डिस्टान्सिङ’ को मान्यता त अपरिहार्य छ नै यसको अलवा ‘टेस्टिङ र आइसोलेसन’को क्षमता तत्कालका लागि बढाउनुपर्ने आवश्यकता पनि जरुरी छ। ‘स्वास्थ्य नै धन हो’ हो भन्ने सन्देश आमरुपमा प्रचार गरी गलत सन्देश र अपवाहलाई नियन्त्रण गर्न प्रभावकारी सचेतनाको महत्व पनि उत्तिकै छ।

कोभिड १९ को कहर मात्र होइन कुनै पनि संकटलाई पार लगाउन विश्वभरका सम्पूर्ण राष्ट्रहरुले तत्कालीन र दीर्घकालीन योजनाहरुको खोजी गर्नुपर्छ। संकटले सिकाएको पाठलाई ग्रहण गर्दै आइपर्ने बिपत्तीलाई सामना गर्न ठोस पहलकद्मी गर्नैपर्छ।

प्रख्यात समाजशास्त्री जेरी डायमण्ड्ले गन्स, जम्स एन्ड स्टील नामक किताबमा इतिहासका विभिन्न कालखण्डमा कुनै सभ्यता फस्टाउनु वा कुनै सभ्यता नस्ट हुनुको एउटा कारण भाइरस र भाइरस जस्ता कीटाणुको फैलावट र यसले समाजबिशेषलाई पार्ने असर पनि हुन्छ भनी उल्लेख गरेका छन्।

तसर्थ हाम्रा सबैखाले कुण्ठा, लोभ, लालच र मृतबिचारसहित प्रदुषित बाताबरणको लास बोकेर अब पनि एस्तै महाप्रकोपबाट घस्रने अथवा नया सोच, चिन्तन र व्यवहारको मस्तिष्क लिएर सुखद भबिष्यको सपना देख्दै खुला भएर हिड्ने , बाटो हामी आफै रोज्न सक्छौ।

प्रकाशित: २१ वैशाख २०७७ ०९:४८ आइतबार

खुशी 0%
दुखी 100%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App