स्रष्टा साँझ अमेरिकाले जुम मार्फत मनीषकुमार शर्मा ‘समित’ काे अर्धशताब्दी लघुकथासंग्रहकाे परिचर्चा गरेको छ।
वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीको अध्यक्षतामा भएकाे कार्यक्रममा परिचर्चाकार इन्दिरा चापागाईंले कृतिका ५० लघुकथाको विषयवस्तुको दायरा अत्यन्त फराकिलो भएको र एउटै शैली वा भावमा सीमित नरहेको बताइन्। सङ्ग्रहमा सामाजिक व्यथा, पारिवारिक सम्बन्ध, व्यङ्ग्य, आध्यात्म, मिथक, स्वैरकल्पना, प्रविधि, बालमनोविज्ञानदेखि समसामयिक राजनीतिक कटाक्षसम्मका कथा समेटिएको बताउँदै पाठकको सहज बुझाइका लागि शीर्षक चयनमा सरलता र आकर्षक शैली अपनाउनुपर्ने सुझाएकी थिइन्।
परिचर्चाकार दीपक लोहनीले लघुकथाका सिद्धान्त र प्रयोगका सन्दर्भमा आफ्ना विचार व्यक्त गर्दै कृतिकारले कथामा विविध विषयवस्तु मात्र होइन, प्रस्तुति शैलीमै पनि नयाँपन खोजेको उल्लेख गरे।
वस्तु सौन्दर्यको आधारमा कृतिको समीक्षा गर्दै उनले अंकगणितीय संरचना र संकेतहरूको समावेशले कृतिलाई अन्य साधारण लघुकथासङ्ग्रहबाट पृथक् बनाएको र पाठकलाई नयाँ ढङ्गले सोच्न बाध्य बनाएको बताए।
परिचर्चाकार डा. कुसुमाकर शर्मा गौतमले कृतिका सबै लघुकथा कालखण्ड दोषमुक्त भएकाले कृतिलाई कालखण्ड दोषमुक्त सङ्ग्रहको रूपमा लिएको बताए। शीर्षकको नवीनता, लेखनमा सशक्त शिल्प, प्रविधिको प्रयोग र मानवीय जीवनको आक्रान्त, भविष्यवादी यन्त्र र कृत्रिम बुद्धिमत्तासम्मको विषयवस्तु कृतिमा समाहित गरिएकाले समकालीन लघुकथासङ्ग्रहभन्दा यो पृथक् र विशेष बनेको भन्दै कृतिकारलाई गणितीय लघुकथाका प्रणेताका रूपमा चिनाए।
अर्का परिचर्चाकार खेमराज पोखरेलले कृतिकार ‘समित’ कोतीनै लघुकथासङ्ग्रह हराएको सहर, खास्टो र अर्धशताब्दीको आफूले विस्तृत अध्ययन गरेको बताउँदै कृतिकारको लेखनीको विकासक्रममा परिपक्वता आएको र अर्धशताब्दीमा लघुकथाको गुणस्तर कायम राखेको धारणा राखे। आगामी दिनमा कृतिकारले झनै ठूलो चुनौती सामना गर्नुपर्नेमा उनले ध्यानाकर्षण गराए।
कार्यक्रममा उपस्थित अतिथि निर्मला बरालले कृतिकारको शालिन व्यक्तित्व, मिलनसार र सहयोगी भावनाको प्रशंसा गर्दै साहित्यिक यात्रामा सफलताको शुभकामना व्यक्त गरिन्। त्यस्तै लघुकथाकार श्री पोखरेलले कार्यक्रमभरि व्यक्त भएका विचारप्रति आफ्नो दृष्टि प्रस्तुत गरे।
कृतिकार समितले आयोजक लगायत उपस्थित परिचर्चाकारहरू, अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै आफ्ना लघुकथाहरूमा शीर्षक चयनमा फरकपन ल्याएको, मिथक र आधुनिक विज्ञानको मिश्रण गरेको, अंकगणितीय अवधारणाहरू समावेश गरेको र यस कार्यलाई निरन्तरता दिँदै आगामी सङ्ग्रहहरूमा अझ परिष्कृत र नवीन प्रयोग गर्ने प्रयास रहने आफ्नो दृष्टिकोण राखे।
कार्यक्रमको समापन गर्दै सभापति ध्रुव मधिकर्मीले अर्धशताब्दीले कृतिकार ‘समित’ को नयाँ पहिचान निर्माण गरेको भन्दै उनको लेखनमा आएको सशक्त पक्षलाई विशेष रूपमा उल्लेख गरे। लेखनमा लेखक स्वतन्त्र हुन्छ तर समितले प्रयोग गरेको जटिल शब्द भविष्यमा उनकै लागि चुनौती बन्ने हुँदा शुद्ध, सरल र पाठकमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याए।
साहित्यकार विश्वराज अधिकारीले सञ्चालन गरेको भर्चुअल कार्यक्रममा अतिथिहरू गणेश लम्साल, नवराज शर्मा, शीतल सुवेदी, लक्ष्मण ज्ञवाली, नवराज शर्मा, एन्जल निलुको उपस्थिति रहेको थियो।
प्रकाशित: १० मंसिर २०८२ ०७:५७ बुधबार





