हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले उपन्यासकार क्षितिज समर्पणको उपन्यास ‘तोरकीन’ को परिचर्चा गरेको छ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष देवकी निरौलाले शब्दमार्फत उपस्थित जनलाई स्वागत गरेकी थिइन्।
उपन्यासमा हिमालपारिको अपर मुस्ताङको परिवेश र विषय समेटिएको छ। कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै पूर्णिमाका अध्यक्ष डा. पुष्कर रिजालले खासै चर्चामा नआउने मुस्ताङको मराङ गाउँको विगत र वर्तमानको कथा सूक्ष्म किसिमले केलाइएको उपन्यासका लेखकलाई हौसला दिन र उपन्यासबारे यस क्षेत्रका पाठकको जिज्ञासा मेटाउन यस्तो कार्यक्रम राखिएको बताए।
उपन्यासकार समर्पणले उपन्यासको लेखन आफ्नो त्यस क्षेत्रको यात्राबाट सुरु भएको बताए। पाठकहरूको जिज्ञासामा उनले उपन्यासमा आधुनिकताको कारण हिमाली क्षेत्रको बस्तीमा मानिसहरू पातलिँदै र हराउँदै जानु, पर्यावरणीय परिवर्तनले हिमाली सौन्दर्य हराउनु, संस्कृति र लोकरीति हराउन थाल्नुका कारण र असर देखाउने प्रयास गरेको बताए। उनले भने ‘तोरकीनले जन्मभूमिको आत्मीय र महत्तालाई देखाउन खोजेको छ। हिमाली सभ्यता, तिब्बत-नेपाल सम्बन्धलाई पनि उपन्यासले देखाएको छ।’
कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, साहित्यकार खगेन्द्र गिरि कोपिला, सागर गैरे, कपिल अन्जान, विष्णु पादुका, डा.खोपीराम वली क्षेत्री, हुकुम धडकन, देवेन्द्र आचार्य, छविलाल खड्का, दीपिन सिँजापत्, महेन्द्र अतल, मणि गैरे, वीरङगना योगी, जनता रैका, चन्द्रावती अधिकारी, विमला खत्री, लक्ष्मण मानव, भीमबहादुर रोकाय, सञ्जय मण्डल, कृतनराज विष्ट लगायत बाँकेका स्रष्टाहरू र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो।
संस्थाका सचिव सचिव केशव निमेषले चलाएकाे कार्यक्रममा सहभागीहरूले लम्बेतान आसन ग्रहण र भाषण नरहेको कार्यक्रम निकै रोचक र गुणात्मक भएको प्रतिक्रिया दिए।
प्रकाशित: १९ वैशाख २०८३ ०७:०९ शनिबार





