यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुनसरीबाट सवैभन्दा उच्च चार जिपिए ४३ जनाले ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार चारवटा विद्यालयको नतिजा भने शुन्य रहेको छ ।
जिल्ला शिक्षा तथा समन्वय एकाइ सुनसरीले तयार पारेको रेकर्ड अनुसार सवैभन्दा उच्च चार जिपिए ल्याउनेमा सामूदायिक विद्यालयका छ जना र संस्थागत विद्यालयका ३७ जना रहेका छन् । सामूदायिक विद्यालयतर्फ इटहरी वडा नं. २० को जनसहयोग माविकी यूनिका नेपाल, जनता मावि इटहरीकी आकृति दंगाल र आरजु रेग्मी, सरस्वती मावि इटहरीकी निमिक्षा आचार्य, राष्ट्रिय माविकी अवगेल याख्खा तथा अलिसा दाहालले चार जिपिए ल्याएका हुन् । संस्थागत विद्यालयतर्फ सरस्वती ज्ञानकुञ्ज इनरुवाबाट सवैभन्दा बढी नौ जनाले चार जिपिए ल्याएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
जिल्लामा १०३ वटा विद्यालयको नतिजा सतप्रतिशत रहेको छ । जसमा सामूदायिक, धार्मिक, विशेष विद्यालय पाँचवटा र अन्य ९८ वटा संस्थागत रहेका छन् । सामूदायिकमा इटहरी वडा नं. १६ को सरस्वती जब्दी मावि, गुरुकुलतर्फ राधाकृण सस्कृति बराहक्षेत्र वडा नं. १, विशेष विद्यालय अन्तर्गत पूर्वाञ्चल ज्ञान चक्षु धरान र मर्दशातर्फ श्री इस्लामी पब्लिक स्कुल हरिनगरको सतप्रतिशत रहेको छ ।
जिल्लाभरका विद्यालमध्ये शुन्य नतिजा ल्याउने तीनवटा सामूदायिक र एउटा संस्थागत रहेको छ । सामूदायिकतर्फ पिण्डेश्वर संस्कृति मावि धरान, श्री मावि देवानगञ्ज र शिवनगर मावि रामधुनी वडा नं. २ को शुन्य नतिजा रहेको छ । यस्तै, माउन्ट मोरियो बोडिङ् स्कुल धरानको शुन्य नतिजा रहेको छ ।
यहाँ साधारणतर्फ जिपिए ३.६० देखि ४.०० सम्म ल्याउने उत्कृष्ट विद्यार्थीको संख्या एक हजार ६५६ जना रहेको छ । यस्तै, प्राविधिकतर्फबाट ४४ जनाले जिपिए ३.६० देखि ४.०० सम्म ल्याएका छन् ।
परीक्षामा साधारणतर्फ जिपिए ३.२० देखि ३.६० सम्म प्राप्त गर्ने विद्यार्थीको संख्या तीन हजार ९५ रहेको छ । प्राविधिकतर्फ १०५ जनाले जिपिए ३.२० देखि ३.६० सम्म प्राप्त गरेका छन् ।
यस्तै, साधारणतर्फ नै जिपिए २.८० देखि ३.२० सम्म ल्याउने परीक्षार्थी दुई हजार ९८७ जना रहेका छन् । प्राविधिक धारतर्फ ८६ जना छन् । यस्तै, जिपिए २.४० देखि २.८० ल्याउने साधारणतर्फ एक हजार ४४५ र प्राविधिक तर्फ २६ जना छन् । सवैभन्दा कम जिपिए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या साधारणतर्फ १३१ र प्राविधिकतर्फ एक जना छन्। रहेको छ । सुनसरीबाट कुल १३ हजार ४२ जनाले परीक्षा दिएकोमा साधारणतर्फ तीन हजार २८९ र प्राविधिकतर्फ १३४ जनाले ‘एनजी’ प्राप्त गरेका छन् ।
प्रकाशित: २९ वैशाख २०८३ १८:२७ मंगलबार





