महानायक राजेश हमाल अभिनित नयाँ फिल्मको प्रदर्शन मिति घोषणा भएको छ। नेपालबाट आफ्नो उज्ज्वल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको छ।
प्रवासीहरूको सुखदुःख, आरोहअवरोह र चुनौतीलाई मुख्य विषयवस्तु बनाएर फिल्म तयार गरिएको निर्देशकमध्येका एक श्याम क्षेत्रीले बताए।
उनले भने, ‘प्रवासमा पुग्ने जो कोहीले यो कथामा आफू वा आफ्नो वरपरको दृश्य पाउनु हुनेछ। हामी देखिने दुःखका धेरै चर्चा गर्छौं तर मानसिक रूपमा भोगिरहेको यातना बेवास्ता गर्ने गरेका छौं। त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्य फिल्ममा देखाएका छौं।’
उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषय केन्द्रित गरेर फिल्म तयार परेकाले प्रवासीको जीवन नजिकबाट बुझ्न फिल्म फलदायी हुने बताए। फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव अधिकारी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीले महत्त्वपूर्ण भूमिकामा अभिनय गरेका छन्।
‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्य रहेको उक्त फिल्ममा अभिनेता हमाल र अभिनेत्री लामिछाने विषयवस्तुकै कारण जोडिएका हुन्।
अमेरिकाको रमणीय दृश्यमा सम्पूर्ण छायाङ्कन गरिएको उक्त फिल्म श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रूपमा निर्माण गरेको छ।
‘डाइङ क्यान्डल’, ‘चक्कर’, ‘जय श्री दाम’, ‘केटीएम कक्टेल’, ‘सरिता’ जस्ता फिचर तथा छोटा फिल्म निर्माण गरेका रविन आचार्य निर्माता रहेको उक्त फिल्मको विषयवस्तुले नै कलाकारलाई आकर्षित गरेको हो। निर्माता आचार्यले अभिनेता हमाल फिल्मसँग जोडिनुलाई विषयवस्तुकै आकर्षणका रूपमा प्रस्ट्याए।
‘यसको विषयले एउटा सचेतना पनि दिन्छ, यो प्रवासी जीवनको उज्यालो र अँध्यारोसँग जोडिएको कथा हो। हामीले निकै कम चर्चा गर्ने मानसिक स्वास्थ्यको समस्या र त्यसपछिको सुन्दर जीवनले प्रेरणा दिन्छ भन्ने हामीलाई लागेको छ। यो प्रवासमा रहेका आफ्नो परिवारबारे बुझ्न पनि हेर्नुपर्ने एउटा फिल्म बनेको छ’, निर्माता आचार्यले भने।
सार्वजनिक पोस्टरको पृष्ठभूमिमा लेखिएको ‘मेन्टल हेल्थ’, ‘एञ्जाइटी’, ‘थेरापी’ जस्ता शब्दले फिल्मको विषय सङ्केत गरेको छ। फिल्मको कथा, पटकथा र संवाद स्वयं निर्देशक क्षेत्रीले नै तयार गरेका हुन्।
यसमा अमृत बिसुवाले छायाङ्कन, राम अधिकारीले सम्पादन, सुवास सिन्चुरीले पार्श्व सङ्गीत, देवी खतिवडाले शृङ्गार, राज शङ्कर र प्रतिक सार्कीले ध्वनी मुद्रण, नवीन कार्कीले सङ्गीत सिर्जना गरेका छन्। प्रमोद खरेल र प्रताप दास जस्ता गायकले स्वर दिएका छन्।
फागुन १५ देखि देशव्यापी प्रदर्शन हुने उक्त फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।
श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा निर्देशन गरेका छन् भने फिल्म ‘प्रवासी जीवन’ आउँदाे फागुन १५ देखि नेपालभर प्रदर्शन हुँदै छ।
प्रकाशित: २४ मंसिर २०८२ १३:२२ बुधबार





