नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता र शक्ति प्राप्तिका लागि विचार नमिल्ने दलसँग गठबन्धन गर्नु दक्षिणपन्थी अवसरवादको भद्दा रूप भएको टिप्पणी गरेका छन्।
एमालेको ११ औं महाधिवेशनका सन्दर्भमा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै सचिव विष्टले पार्टी नेतृत्वले सत्ताका लागि जुनसुकै दलसँग सहकार्य गर्ने परिपाटीको आलोचना गरेका हुन्।
दशौं महाधिवेशनले दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकतालाई परास्त गर्दै समाजवादको आधार तयार गर्ने मूल नारा तय गरेको स्मरण गर्दै उनले व्यवहारमा भने ठीक उल्टो देखिएको बताए।
सचिव विष्टले २०७९ को निर्वाचनमा राजावादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग एमालेले गरेको चुनावी तालमेललाई अवसरवादको संज्ञा दिए।
उनले भने, ‘संवैधानिक राजतन्त्रलाई आफ्नो मूल्य र मान्यता ठान्ने राप्रपासँग मिलेर समेत निर्वाचन प्रयोजनका लागि गठबन्धन गर्ने जस्तो एउटा अवसरवाद हामीले देखायौँ, जुन दक्षिणपन्थी अवसरवादको एउटा भद्दा उदाहरण हो।’
नेता विष्टले सरकार निर्माणका क्रममा न्यूनतम सहमति वा वैचारिक निकटतालाई लत्याएर अङ्कगणितका आधारमा मात्र गठबन्धन गरिएको भन्दै असन्तुष्टि पोखे।
राष्ट्रिय राजनीतिमा देखा परेका मुख्य मुद्दाहरूलाई सम्बोधन गर्ने आधारभूत सहमतिका आधारमा सरकार बनाउनुपर्नेमा सत्ताका लागि मात्र समीकरण बदलिएको उनको भनाइ थियो।
‘कहिले राप्रपासँग, कहिले कांग्रेससँग, कहिले माओवादीसँग त कहिले मधेशवादी दल र रास्वपासँग; अर्थात् सरकारमा जानका लागि जो कसैसँग मिल्ने प्रकारका प्रवृत्तिहरू हाम्रो आन्दोलनमा देखा परे,’ विष्टले भने, ‘यसलाई गम्भीरताका साथ समीक्षा गर्नुपर्दछ।’
प्रकाशित: २४ मंसिर २०८२ १५:४४ बुधबार





