२४ माघ २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

गुट फुट झुट

तपाईं कुन गुटमा हुनु हुन्छ? त्यो थाहा भएन। तपाई कुनै गुटमा हुनु हुन्न भने पनि कसैले पत्याउँदैन। किनकि गुट नभएको पार्टी र संस्था कुन होलान्? हरेक पार्टीमा गुट छन्। हरेक संस्थामा गुट छन्। ती गुटहरू गाउँगाउँमा छन्। टोलटोलमा छन्। घरपरिवारमा छन्। कुनै एउटा गुटमा नलागे तपाईंलाई बाटो हिँड्न पनि मुश्किल पर्छ। पानीको धारा जोड्न सक्नु हुन्न्। ढल हाल्न पाउनु हुन्न। कुनै गुटले तपाईंलाई मद्दत गर्दैन।

गुटबन्दीले देश र समाज बर्बादै पार्‍यो। स्वतन्त्र भएर त बाँच्नै नसकिने भयो भन्ने तपाईंलाई लागेको होला,  यो सरासर गलत हो। को छैन गुटमा? को छ स्वतन्त्र? स्वतन्त्रको खोल ओढेर ठुलो ढोल पिट्ने नै कुनै पार्टी वा गुटका खोले खाने झोले हुन्छन्। यो जगजाहेर भएकै विषय हो। नागरिक समाज, बुद्धिजीवी, प्राध्यापक, पत्रकार र लेखक तिनका खोल हुन्। त्यो खोल ओढेर आफ्नो गुटको भैलो गाउँछन् र विरोधी गुटको खोइरो खन्छन्। त्यति गरेन भने उनीहरुले खाएको पच्दैन।

फेरि गुट त खराव चिज हो पो रहेछ भन्ने लाग्ला। त्यो होइन्। यसका काइदाका फाइदा पनि छन्। बलियो गुटको सदस्य भयो भने कुनै माइकालालले छुन सक्दैन। कसैले झुक्किएर छुयो मात्र भने पनि अरिङ्गालको गोलो भएर खनिन्छन्। लुते गुटको त के कुरा गराई भो र!

गुट भन्नेबित्तिकै कुनै स्वार्थका लागि बनेको जमात वा समूह हो। संसारमा त्यस्ता समूह धेरै छन् – जि सेवन, नेटो, वार्सा,जि ट्वान्टी, ब्रिक्स, आसियान, अफ्रिकी युनियन, सार्क संसारका धनी भनिने राष्ट्रको समूह जि सेवन हो। एकताका रसिया समेत सदस्य भएर यो जि एट बनेको थियो। यो गुटमा पनि फुट आयो। फुट आएपछि रसिया यो गुटको सखिया भएन। गुटबाट निकालियो। पुरानै सखियाकोजि सेवन बन्यो।

नेटो (नर्थएटलान्टिकट्रिटी)अमेरिकाको नेतृत्वको सन्य समूह हो। फुटेर टुक्राटुक्रा भएर सोभियत रुस ढुस भएपछि वार्सालाई नेटोले नेटो कटायो। नेटोका सदस्यलाई कसले छुन सक्दैन। नेतृत्वले भनेको यो गुटमा सबै चाइँचुइँ नगरी मान्छन्। यो गुटमा कहिल्यै फुट आउँदैन। फुट नआएकाले नै संसारमा यो गुट सधैं शक्तिशाली छ।

सोभियतकालमा वार्सानेटो जत्तिकै शक्तिशाली सैन्य गुट थियो। सोभियत रुसको समाप्तिसँगै वार्साको अस्तित्व समाप्त भयो।

जि ट्वान्टी र ब्रिक्स जस्ता गुट पनि गुट एक जुट छैनन्। त्यही भएर ती गुट त्यति बलिया छैनन्। एशियान, अफ्रिकन युनियन, युरोपियन युनियन, सार्क जस्ता गुटमा पनि फुट छन्। फुटको कारणले बेलायतले युरोपियनको सदस्यता त्याग्यो। फुटकै कारणले सार्क कोमामा छ। अरू बाँकी गुट पनि फुटकै कारणले बलिया छैनन्।

गुट वर्तमानमा मात्र छैनन्। विगतमा पनि थिए। दोस्रो विश्व युद्घमा पनि जर्मनी, इटली र जापान एउटा गुटमा थिए। अर्को गुटमा बेलायत र फ्रान्स थिए। हिटलरले धोका दिएकाले सोभियत रुस बेलायत र फ्रान्सको गुटमा मिसियो। आफ्ना सहयोगीहरूलाई सैन्य र अन्य सहायता प्रदान गरेको अमेरिका पर्लहार्वरमा जापानले बम पढकाएपछि युद्धमा सहभागी प्रत्यक्ष सहभागी भयो। त्यसपछि फ्रान्स, बेलायत, सोभियत रुस र अमेरिका एक गुट भए। दोस्रो विश्व जिते। यी त भए अन्तराष्ट्रिय गुटका कुरा।

देशका गुट कुरा गरेर त चतुर्मुखी ब्रह्माले त सक्दैनन् भने म जस्तो मनुवाले के सक्नु! उहिले राणाका कालमा पनि धीर शम्सेरका गुटले जंगबहादुरका गुटका वंश नाश गरेर देशको बागडोर आफ्नो हातमा लिए। पछि पन्चको शासनमा पनि गुटैगुटै भए। पंचका कुन गुटमा कतिखेर फुट आउँछ, त्यो पन्चलाई समेत थाहा हुँदैन थियो। पछि बहुदल आएपछि कांग्रेस र एमाले बिच पनि गुट र उपगुटको सधैं रडाको हुन्थ्यो। ती गुट फुटेर छुटै पार्टी समेत बने।

गणतन्त्रको जन्मदाता भनेर दाबी गर्ने माओवादीका गुट फुटेर टुक्राटुक्रा भएर बोक्रा मात्र बाँकी रहे। दुईवटा पाइलट भएको नेकपा पनि गुटभित्रको झुटमुटले फेरि टुक्राटुक्रा भयो। त्यसपछि देश गुट र उपगुटको झुटमुटमै रुमलिरहेको छ। फेरि ती गुटहरू कतिखेर फुट्छन्, कति खेर जुट्छन्। अत्तोपत्तो हुँदैन। आज पिरती भयो भन्छन्। लोकलाई लाज हुने गरी अँगालो मार्छन्। तिनका भेडाहरू वाह, पिरती त यस्तो भन्दै उत्सव मनाउँछन् तर कसले कतिखेर कसलाई छुरा धस्छ, थाहै हुँदैन। कतिखेर बिछोडको सारंगी बनाउँछन्। त्यो पनि थाहा हुँदैन।

गुटको टुट फुटको ठेगान हुँदैन। कतिखेर फुट्छन्, कतिखेर जुट्छन्! न फुट्नेलाई थाहा हुन्छ, न जुट्नेलाई थाहा हुन्छ तर जति टुटेफुटे पनि स्वार्थका लागि जुटी हाल्छन्। जुट्ने जत्ति गठबन्धन हो। देशका गलगाँड गुट उपगुट मिलेर गठबन्धन बन्छन्। आफ्नो सुन्दरको आफै बखान गरेर थाक्दैनन्। तपाईले गलगाँड पनि सुन्दर हुन्छ भनेर सुन्न भएको छैन होला। आयोडिनले निको नहुने गलगाँडको सर्जरी गर्दा त ठिक हुन्थ्यो होला तर कसले सर्जरी गर्ने? त्यो अहिलेसम्म अत्तोपत्तो छैन।

गुटको खेतीपाती नै झुट हो। राष्ट्रिय गुट हुन् कि अन्तर्राष्ट्रिय गुट हुन्, ती सबै झुटको खेती गर्छन्। विपक्षी गुट वा समुहलाई सिध्याउन झुटको सहारा लिन्छन्। आफ्नो गुटलाई बलियो बनाएर विपक्षी गुटलाई कमजोर पार्ने वा सिद्धयाउने मुख्य अस्त्र नै झुटलाई खुबै प्रचार प्रसार गरेर सत्य सावित गर्ने हो।

गुटको चरित्रको कुरा गर्दा गुट कसरी बन्छ भन्ने बिर्सनु हुँदैन। चरित्र र स्वार्थ नमिलीकन गुट बन्दैनन्। अन्तर्राष्ट्रिय गुट राजनीति, धर्म, भाषा र क्षेत्र आधारमा बन्छन्। राष्ट्रिय गुट जात, भात, क्षेत्र र वर्गका आधारमा बन्छन्। सामाजिक गुट उमेर, पेशा, वर्ग, हैसियत र चरित्रका आधारमा बन्छन्।

राष्ट्रिय अन्तर्राष्ट्रिय गुटका बारेमा इतिहासमा लेखिएका छन्। मिडियामा दिन दिनै समाचार आउँछन्। बरु तपाईंलाई पारिवारिक समाजिक गुटको बारेमा त्यति धेरै थाहा छैन होला। म आफै पारिवारिक र सामाजिक गुटको खेलाडी हुँ। लौ अब यस्ता गुटको बारेमा सुन्नुहोस्।

म थरिथरीका गुटमा छु। लोग्ने स्वास्नीको पेसा मिल्नेको एउटा गुट छ। आफ्ना पनि बच्चा सानै छन्। साना बाच्चा हुनेको अर्को गुट छ। फेरि आफू ट्वाके परियो। ट्वाकेको गुट नहुने कुरै भएन। तरुनी फेर्दै हिँड्नेको पनि गुट छ। त्यो गुटको सदस्य हुने आँट आएन तर आफ्नो हैसियत नमिल्नेलाई कहिल्यै कसैलाई सदस्य पनि बनाइएन।

को सदस्य बनाउने नबनाउने, गुटको लागि त्यो ठूलो चुनौती हो। सबैभन्दा मुख्य कुरो स्वार्थ मिल्नपर्‍यो। त्यो मिलेर मात्र भएन। उसको विगत पनि हेर्नपर्‍यो। जब नयाँ गुट बन्छ। भेटघाट खुबै हुन्छन्। शुरुशुरुमा आन्द्रा गाँसिन्छन्। नयाँनौलो नौ पुला गाँस्, पुरानो भएपछि जगटाको नास हुन्छ।

थरीथरीका गुट भएपछि खान्तेपिन्ते अनगिन्ती। बर्थ डे पार्टी, मरिज एनिभर्सरी,नयाँ जागिर। पार्टी नै पार्टी। कम्तीमा वर्षमा छ पटक हाम्रोमा पार्टी हुन्थ्यो तर हामीले छ पटक पार्टी दिँदा दुई पटक पनि मुस्किलले खान नबोलाउने पनि हुन्छन्। अब कसले कति पटक खान बोलायो भनेर हिसाबकिताब नराखौं पनि भएन।

वर्षमा दुई पटक मात्र खान बोलाउने गुट सदस्यसँग खासै गुनासो थिएन। तिनै सदस्यले गुन्द्रुक खान मन लागेको थियो भनिन्।  पुर्‍याउन म र मेरो श्रीमान् गयौ। त्यहाँ पार्टी रहेछ। मिठो मिठो चम चम पार्दै खाएको देखेपछि बम बम हुनु कि नहुनु? हामी र अर्को दुई परिवार बाहेक सबैलाई बोलाएको रहेछ। यो गुटमा कहाँ मात्र झुट छैन? लौ भन्नुहोस्।

तपाई विवाह भोज वा पार्टीमा जानुहोस्, तपाईंको गुट छैन भने बस्ने टेवल पनि पाउनु हुन्न। गुटका थरीथरी रुपरंग त्यहाँ देखिन्छन्। त्यहाँ आआफ्ना गुट छुट्टाछुट्टै बस्छन्। आफ्नो गुट बाहेक दोस्रो मान्छेसँग बोलचाल पनि गर्दैनन्। नयाँ मान्छेलाई त गन्दा पनि गन्दैनन्। गुटले गुट नभएकालाई बेतुक मान्छे ठान्छन्।

गुटका कोही सदस्य म मात्र राम्रो, म मात्र जान्ने, मैले गरको सब ठिक र अरूले गरेको बेठिक भन्छन् र आफूलाई विशेष ठान्छन्। महिला गुट कुरा काटाकाटमा अलि अग्रपङ्तिमा हुन्छन्। कुनै मान्छे खराब करार गर्न यिनीहरूसँग विशेष कला हुन्छ। श्रीमतीको त्यो कलामा श्रीमानले गला मिलाएन भने चिलिम च्वाँट हुन्छ। ऊ जतिसुकै ठूलो पद प्रतिष्ठा र पीएचडी गरेको विद्वान नै किन नहोस्।

कसले कस्तो कपडा लायो, कस्तो गहना लायो भन्दै कुराको लहना महिला गुटका आधारभूत विशेषता हुन्। कुन पार्टीमा कुन महिलाले कस्तो कपडा गहना लगायो? त्योभन्दा अगाडि लगाएको थियो थिएन भन्ने जान्नलाई मोबाइलको स्क्रिन तानेर अझ ठूलो बनाई बनाई हेर्छन्।

प्रायः यस्ता गुटमा श्रीमती नेतृ हुन्छन्। तपाईलाई शंका लाग्छ भने तपाई पाहुना भएर कही जानुहोस्। त्यहाँ कसको ठूलो स्वर हुन्छ? सोधखोज गर्न र गफ लडाउन को अघि सर्छ। त्यसबाट पनि थाहा हुन्छ, को नेता। त्योभन्दा पनि सजिलो उपाय छ। श्रीमान् श्रीमतीसँगै हिँड्दा श्रीमान अगाडिअगाडि हिँड्छ भने त्यो घरमा श्रीमानको नेतृत्व चल्छ। यदि श्रीमती अगाडि अगाडि हिँड्छिन् भने त्यहाँ श्रीमतीको नेतृत्व चल्छ। यसमा रतिभर फरक खाँदैन।

यो संसार गुटै गुटको संसार हो। ती गुटकहाँ मात्र छैनन्। गुट नभएको ठाउँ कहाँ होला। समाज, देश, परदेशकहाँ मात्र छैनन्! बरु गुट नहुनेलाई बाँच्न पनि छुट छैन।

(खाइराइड हास्यव्यंग्य निबन्धसंग्रहबाट)

प्रकाशित: २४ माघ २०८२ १३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App