आना शर्मा र सुशान्त केसीको ब्रेकअप भएको चर्चाबीच सिनेमा रमिताको पिरती को सुशान्तको स्वरमा रहेको गीत सार्वजनिक भएको छ।
सुशान्तले रिलिजको चौथो दिनमा ‘तिम्रै छेऊमा’ बोलको गीत सार्वजनिक गरेका हुन्। सुशान्तको स्वर तथा संगीत रहेको गीत फेसबुक र इन्स्टामा सार्वजनिक गरेका हुन्।
केही समयअघि आना र सुशान्तले एक अर्कालाई इन्स्टामा अनफलो गरेको समाचार आएका थिए। योसँगै दुवैको सम्बन्ध सकिएको हल्ला चलेका थिए तर आनाको मुख्य भूमिका रहेको सिनेमामा सुशान्तले गीत दिनुले उनीहरूको सम्बन्ध हार्दिक रहेको संकेत गर्छ।
यति मात्र होइन, सुशान्तले सिनेमा रमिताको पिरती राम्रो बनेको प्रतिक्रिया दिंदै आनालाई इन्स्टा पोस्टमा शुभकामना पनि दिएका थिए।
सार्वजनिक गीतमा धिरज मगर र आनाका दृश्यहरू समेटिएका छन्। गीतले दुवैबिचका हार्दिक क्षण कैद गरेको देख्न सकिन्छ।
शुक्रबारदेखि प्रदर्शन थालेको सिनेमाले दिनदिनै दर्शक बढाउँदै गरेको निर्माता सागर लम्सालले जनाएका छन्। उनले शनिबारदेखि सिनेमाले दर्शक र प्रतिक्रिया दुवै राम्रो पाउँदै गएको बताए।
अर्का निर्माता सुवास कोइरालाले पनि डिलडेसँगै सिनेमाको व्यापारमा उछाल आउने विश्वास व्यक्त गरेका छन्।
सुदिप्ताको लेखन तथा निर्देशन रहेको सिनेमाले रमिता नामकी युवतीको सम्बन्धकाे आयामको कथा प्रस्तुत गर्छ।
सिनेमाको लेखन र निर्देशनसँगै अभिनय पक्षको तारिफ भइरहेको छ। आना शर्माको अभिनय अहिलेसम्मकै उत्कृष्ट रहेको भन्दै दर्शकले सामाजिक सञ्जालमा आनालाई बधाई दिँदै छन्।
सिनेमामा आनासँगै धिरज मगर, समिर श्रेष्ठ, विनय श्रेष्ठ, रेनु योगी आदिको अभिनय छ। चलचित्रलाई शिशिर विसङ्खेले छायांकन गरेका हुन् भने सुनिल शिवभक्तिले सम्पादन गरेका छन्।
प्रकाशित: २७ माघ २०८२ १४:१० मंगलबार





