३ चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

अग्रज स्रष्टासँग वर्तमान कवितामा स्नेह सायमी र लक्ष्मी माली

वर्तमान कविता समूहले “अग्रज स्रष्टासँग वर्तमान कविता” कार्यक्रमको पहिलो शृंखला सम्पन्न गरेको छ।

यस कार्यक्रममा तीसको दशकदेखि कविता लेखनमा सक्रिय कवि स्नेह सायमी र उनका समकालीन कवि लक्ष्मी माली विशेष अग्रज स्रष्टाका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा वर्तमान कविता समूहका विश्व सिग्देलले “अग्रज स्रष्टासँग वर्तमान कविता” कार्यक्रमले पुस्ताबीचको संवाद विशेष अर्थपूर्ण हुने बताए।

उनले अग्रज कविहरूले आफ्नो जीवन अनुभव, विशेष समयमा गरेका संघर्षका कथाव्यथा र कविता सिर्जनामा संचित गरेको गहिरो शिल्प ज्ञान बोकेका हुने भएकाले अनुज पुस्ताले उनीहरूलाई सुन्नु आवश्यक रहेको उल्लेख गरे।

अग्रज पुस्ताबाट अनुज कविहरूले भाषा र अभिव्यक्तिको परिपक्वता, साहित्यप्रतिको समर्पण, समाजप्रतिको उत्तरदायित्व र सिर्जनात्मक अनुशासन जस्ता मूल्य ग्रहण गर्न सक्ने उनको भनाइ थियो।

त्यसैगरी अग्रज पुस्ताले पनि अनुज कविहरूलाई सुन्नु उत्तिकै महत्त्वपूर्ण हुने बताउँदै उनले नयाँ पुस्ताले समयको नयाँ संवेदना, परिवर्तनशील समाजका नयाँ प्रश्न र अभिव्यक्तिका नवीन शैलीहरू बोकेर आउने धारणा व्यक्त गरे।

यसरी एक–अर्कालाई सुन्ने र बुझ्ने प्रक्रिया नै साहित्यलाई निरन्तर समृद्ध बनाउने पुल भएको उल्लेख गर्दै उनले आजको कार्यक्रमको रूपरेखा प्रस्तुत गरे र त्यसपछि अग्रज कवि स्नेह सायमीलाई बोल्नका लागि आमन्त्रण गरे। स्नेह सायमी नेपाली साहित्यका प्रगतिशील धारका महत्वपूर्ण कवि हुन्।काठमाडौँको नैकापमा जन्मिएका सायमीले तीसको दशकबाट साहित्यलेखन सुरु गरी विशेषगरी चालीसको दशकमा सक्रिय र प्रभावशाली सिर्जना गरे।उनका कवितामा नेपाली समाजको यथार्थ, परिवर्तनको आकाङ्क्षा र प्रगतिशील चेतना स्पष्ट रूपमा अभिव्यक्त हुन्छ। ‘चौतारो बोल्यो’,पुल र पर्खाल जस्ता कृतिमार्फत उनले समकालीन सामाजिकअनुभूति  र विचारलाई सशक्त रूपमा अभिव्यक्त गरेका छन्।

कवि स्नेह सायमीले आफ्नो पाँच दशक लामो काव्यिक यात्रा र सङ्घर्षका पाटाहरूमा आफूलाई प्रस्तुत गरेका थिए। उनले तीसको दशकको निरंकुश पञ्चायती व्यवस्था, वाक स्वतन्त्रताको अभाव र 'प्रतिभा प्रभा' जस्ता साहित्यिक अभियानहरूका माध्यमबाट गरिएको वैचारिक विद्रोहको स्मरण गरे।

पारिजातसँगको सामीप्य र उनको सादा जीवनशैलीले आफ्नो लेखनमा पारेको गहिरो प्रभावबारे चर्चा गर्दै सायमीले साहित्य सधैँ भुइँमान्छेको पक्षमा हुनुपर्नेमा जोड दिए।

वाचनका क्रममा उनले 'शंखधरको नुगःख्वा' कवितामार्फत ठिमीको सांस्कृतिक वैभव र फेरिँदो समयको चित्र खिचे भने 'राजमार्ग' कवितामा देशको अस्थिर राजनीति र विकासको दुरावस्थामाथि कडा व्यङ्ग्य प्रहार गरे। उनको चर्चित कविता 'झोला' ले भने २५ वर्षको समय अन्तरालमा एउटा क्रान्तिकारी पुस्ताको सपना र बदलिएको प्राथमिकता मार्मिक ढंगले प्रस्तुत गरेको थियो।

रातो घर, रविभवनमा भएकाे कार्यक्रममा कवि लक्ष्मी मालीले आफ्नो कविता, संघर्ष र अनुभवको सुन्दर प्रस्तुित दिइन्। लक्ष्मी माली नेपाली र नेपाल भाषा (नेवारी) दुवैमा कलम चलाउने एक सशक्त प्रगतिशील कवि हुन्। उनका कविताहरूमा नारी चेतना, सामाजिक न्याय र मानवीय संवेदनाका स्वरहरू प्रखर रूपमा पाइन्छन्।

विशेष गरी भुइँमान्छेका पीडालाई मार्मिक शैलीमा उतार्न सिपालु मालीका 'आगोको याम', 'आरुका फूलहरू' र 'आमा, तिम्रो नाम के हो?' जस्ता कविता सङ्ग्रहहरू प्रकाशित छन्।

कवि लक्ष्मी मालीले आफ्नो बाल्यकालको स्मृतिदेखि शिक्षण पेशाका चुनौतीपूर्ण दिनहरूसम्मको अनुभव सुनाइन्। बालकृष्ण समको हातबाट साहित्यको कखरा सिकेकी मालीले घरको जिम्मेवारी, बुबाको बिमारी र पितृसत्तात्मक समाजको घेरा तोडेर कसरी आफूलाई कवितामा स्थापित गरिन् भन्ने कथा प्रेरणादायी थियो।

झापामा शिक्षिका हुँदा बालिका शिक्षाका लागि गरेको सङ्घर्ष र बालविवाह विरुद्धको उनको अभियानले कार्यक्रममा उपस्थित सबैलाई भावुक बनाएको थियो। उनले वाचन गरेको 'नच्छे गल्ली' कवितामा काठमाडौँको एउटा पुरानो गल्लीको जीवन्त समाज देखिन्थ्यो भने 'एकलव्य' कवितामा पौराणिक पात्रको माध्यमबाट वर्तमानको सामाजिक विभेद र अन्यायलाई उजागर गरिएको थियो।

त्यस्तै, 'आमा तिम्रो नाम के हो' कवितामार्फत उनले महिलाको पहिचान र अस्तित्वमाथि गम्भीर प्रश्न उठाएकी थिइन् भने 'बेलगाम घोडा' मा युद्ध र हिंसा विरुद्धको स्वर मुखरित थियो।

कार्यक्रममा अन्य कविहरूले पनि आ-आफ्ना सशक्त रचनाहरू प्रस्तुत गरेका थिए। कवि भीष्म उप्रेतीले 'बादल माथि म' र 'कमल' जस्ता कवितामार्फत मानवीय स्वभाव र प्राकृतिक सुन्दरताको चर्चा गरे भने विधान आचार्यले 'थिमी टु ठिमी' र 'पहाड उत्रेका' कवितामा सङ्घर्ष र स्मृतिको बिम्ब प्रयोग गरे। प्रोल्लास सिन्धुलीयको 'जन्मजात क्रान्तिकारीको विज्ञप्ति' ले व्यवस्थाप्रति प्रश्न उठाएको थियो भने अभय श्रेष्ठले 'अखिल स्त्रीजनको दुखान्त प्रेम कथा' मार्फत नारी संवेदनालाई स्पर्श गरे।

रीमा कार्कीले 'सृष्टिको प्रयोगशालामा' कवितामा महिला हिंसा विरुद्धको आक्रामक स्वर प्रस्तुत गरिन् भने रीता बलामीले बालमनोविज्ञानमा आधारित 'नकुट न मलाई' कविता वाचन गरिन्। अनिता लामाले 'घर' कवितामा सहरको एक्लोपन, बासुदेव अधिकारीले 'जेन्जी (Gen Z) हरु' मा पुस्तान्तरणको प्रविधि, रमी प्रियाले 'रहर' मा जीवनको उत्कण्ठा, चन्द्रबहादुर लामाले 'खरानीका सपना' मा विश्व शान्तिको खोजी र विश्व सिग्देलले 'बेगर मास्टर' कवितामा विश्व राजनीतिको दादागिरीमाथि कडा प्रहार गरे। अग्रज र अनुज पुस्ताका कविहरूको यो सुन्दर संयोजनले नेपाली कविताको भविष्य उज्यालो रहेको सन्देश दिँदै कार्यक्रम भव्य रूपमा समापन भएको थियो।

प्रकाशित: २ चैत्र २०८२ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App