कवि माया बस्नेत थापाको पहिलोकवितासङ्ग्रह ‘परदेशी चरो’ लोकार्पण भएको छ। कल्पलता साहित्य परिवार, कल्पलता द्वैमासिक र अक्षरधाम प्रकाशनकाे संयुक्त आयोजनामा कार्यक्रम भएकाे हाे।
कार्यक्रममा प्रमुख अतिथि नेपाली सेनाका अवकाश प्राप्त जर्नेल एवम् लेखक डा. प्रेमसिंह बस्न्यात र कार्यक्रमका विशिष्ट अतिथिहरूले संयुक्त रूपमा उक्त काव्यकृतिको लोकार्पण गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. प्रेमसिंह बस्न्यातले कवि थापालाई फक्रिँदै गरेकी नेपाली साहित्यकी सुगन्धित कोपिलाको सङ्ज्ञा दिए। कवितासङ्ग्रहको सुरुवात् कविको आफ्नै घरबाट परदेसिएको आफन्तको लामो पर्खाइको पीडा प्रतिविम्बित गरिएको चर्चा गरे। हाम्रो समाजकै विषयवस्तुलाई आधार बनाएर कविता रचिएको प्रसङ्ग उल्लेख गर्दै डा. बस्न्यातले कृति सफलताको कामना समेत गरे।
कार्यक्रममा वरिष्ठ साहित्यकार अर्थविद् डा. दामोदर पुडासैनी किशोर ले शुभकामना मन्तव्य व्यक्त गर्दै काव्यवाचनदेखि नै कवि थापाको सिर्जना क्षमता राम्रो रहेको र आज लोकार्पित कृतिले यसको पुष्टि गरेको बताए।
लोकार्पित कृतिको समीक्षा गर्दै डा. शैलेन्दुप्रकाश नेपालले नवोदित कवि थापाका कवितामा बेग्लै प्रकारको आकर्षण र मिठास रहेको बताए। कविताकलालाई धेरै बुट्टा भरिरहनु पर्दैन, अनुभूतिलाई सहजताका साथ अभिव्यक्ति गर्दा पनि आकर्षक प्रवाह हुन सक्छ भन्ने कुरा लोकार्पित काव्यकृतिबाट सिक्न सकिने विचार उनले व्यक्त गरे।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै अधिवक्ता डा. प्रेमराज सिलवालले सरल शैलीका राम्रा कविता प्रकाशन गर्न सफल भएकोमा कविलाई बधाई दिए।
बालसाहित्यकार डा. छायादत्त न्यौपानेले शुभकामना मन्तव्यकै क्रममा युवा जाँगर विदेशमा खर्चेर स्वदेश रूख्याउने कुरा राम्रो नभएकाले सचेत नागरिक र कर्मयोगी युवाहरूलाई यसतर्फ गम्भीर हुन कविको आग्रह रहेको चर्चा गरे।
उक्त अवसरमा लोकार्पित ‘परदेशी चरो’ बाट डा. मन खत्रीले ‘परदेशी चरो’ र डा. अम्बिका अर्यालले ‘आमा’ कविता वाचन गरेका थिए।
बागलुङ- काठमाडौं घुम्ती विकास मञ्चका अध्यक्ष प्रशान्त ढकालले शुभकामना मन्तव्य तथा कवि माया बस्नेत थापाले लेखकीय मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा कविका पति वेद थापाले स्वागत मन्तव्य व्यक्त गरे।
जालपा पुस्तकालयमा भएकाे कार्यक्रममा कल्पलता साहित्य परिवार तथा जालपा पुस्तकालयका अध्यक्ष नरबहादुर बिसीको सभाध्यक्षतामा कार्यक्रम भएकाे हाे।
कल्पलता द्वैमासिकका प्रधानसम्पादक घनबहादुर थापाले चलाएकाे कार्यक्रममा अक्षरधाम प्रकाशनका सञ्चालक एवम् साहित्यकार देवराज सिंखडाले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा आउँदै गरेका महान चाड विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् र छठको शुभकामना आदानप्रदान पनि गरिएको थियो।
प्रकाशित: ८ आश्विन २०८२ १२:२० बुधबार





