१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

विभाजनको डिलमा कांग्रेस

महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान, व्यक्ति विशेषका भेलामा सहभागी नहुन केन्द्रीय कार्यालयको अपिल

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। राणा, राजा र पञ्जायती व्यवस्था अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मको नेतृत्व गरेको कांग्रेसबाट गत भदौ २३/२४ को हिंसा र ध्वशंपछि नयाँ भूमिकाको अपेक्षा गरिएको थियो तर यहीबेला पार्टी नेतृत्वमा पुगिछाड्ने र नेतृत्वमा टिकिरहने नेताहरूको स्वार्थले कांग्रेस फेरि एक पटक विभाजनको संघारमा पुगेको हो।

पार्टी, देश र जनताभन्दा आफूलाई केन्द्रमा राखेर नेताहरू सक्रिय हुँदा कांग्रेस विभाजनतर्फ उन्मुख भएको अड्कलबाजी राजनीतिक वृत्तमा हुन थालेको छ। संविधान, लोकतान्त्रिक शासन व्यवस्था र दलहरूको अस्तित्वमाथि नै संकट उत्पन्न भएका बेला पार्टी मात्र होइन, देश र जनतालाई सम्हाल्दै राजनीतिक स्थायित्वको पक्षमा उभिनुपर्ने कांग्रेस महाधिवेशनको विषयलाई लिएर चरम विवादमा फसेको छ।

पार्टी कार्यसम्पादन समितिको निर्णयविपरित महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बुधबार विज्ञप्तिमार्फत पुस २७ र २८ मा विशेष महाधिवेशन आह्वान गरेका छन्।

थापा र शर्माले पार्टी विधानको व्यवस्थाअनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको जनाउँदै त्यसमा सहभागी हुन आह्वान गरेका छन्।

विशेष महाधिवेशन आह्वान गर्न २४८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी निवेदन बुझाएकाले सोहीबमोजिम विशेष महाधिवेशन गरी विशेष निर्णय लिनु अपरिहार्य भएको उनीहरूले बताएका छन्।

‘बहुमत महाधिवेशन प्रतिनिधिद्वारा गरिएको विशेष महाधिवेशनको मागप्रति हाम्रो ऐक्यबद्धता छ,’ महामन्त्रीद्वयले भनेका छन्, ‘पुस २८ भित्र विशेष महाधिवेशन गर्नु महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार हो। पुस २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानुनी र राजनीतिक रुपमासमेत अपरिहार्य र बाध्यकारी बनेको छ।’

विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा हुने भनिएको छ। उनीहरूले जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न कटिबद्ध एवं प्रतिबद्ध रहने बताएका छन् तर पार्टी कार्यसम्पादन समितिको यही पुस १८ गते बसेको बैठकले मंसिर १५ गते केन्द्रीय समिति बैठकले गरेको निर्णयसँगै विशेष महाधिवेशनको औचित्य सकिएको स्पष्ट पारेको छ। आफूहरूको उपस्थितिमा भएका ती निर्णयविपरीत महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन्।

विशेष महाधिवेशनमा सहभागी हुन महामन्त्रीद्वयले आह्वान गरेलगतै कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा पार्टी निर्णयविपरीत कुनै पनि कार्य नगर्न सबैलाई आग्रह गरिएको छ।

कांग्रेस केन्द्रीय समितिको सर्वसम्मत निर्णयबाट कार्यतालिका तयार गरी अधिवेशन/महाधिवेशनको प्रक्रिया र कार्यक्रमहरु सञ्चालन भैरहेको र विशेष महाधिवेशनको औचित्य समाप्त भएको यथार्थलाई बेवास्ता गरी विभिन्न सञ्चारमाध्यम मार्फत विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

पार्टी विधानमा कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कुनै पनि पदाधिकारी वा सदस्यलाई नभएको स्मरण विज्ञप्तिमार्फत गराइएको छ। केन्द्रीय कार्यसमितिलाई मात्र त्यस्तो अधिकार रहेको जनाउँदै विज्ञप्तिमा लेखिएको छ, ‘तसर्थ, पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुनेहुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्छ।’

कांग्रेसले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार सूची निर्वाचन आयोगमा बुझाइसकेको र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन भइसकेको जनाउँदै चुनावमा केन्द्रित हुन पनि सबैलाई आह्वान गरेको छ।

संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधर समूह एक अर्का गलाउने र थकाउने रणनीतिमा तल्लीन हुँदा पार्टी भने विभाजनको डिलमा पुगेको छ। विशेष महाधिवेशन पक्षधर थप दबाब बढाएर नेताहरू संस्थापन पक्षलाई आफ्नो कित्तामा उभ्याउने रणनीतिमा छन्।

संस्थापन पक्ष विशेष महाधिवेशनमा नआए पार्टी विभाजनसम्मको रणनीतिमा विशेष पक्षका नेताहरू पुगेको जानकार बताउँछन्। नेतृत्वमाथि दबाब बढाउन विशेष पक्षधर नेताहरूले एकपछि अर्को गतिविधि गर्न थालेपछि संस्थापन पक्ष अनुशासनको कारबाही गर्ने पक्षमा देखिएको छ। त्यस्तो अवस्था आएमा कांग्रेस २००८ र २०५९ सालमा जस्तै विभाजित हुने देखिन्छ।

पुस २७ गते विशेष महाधिवेशन गर्न भृकुटीमन्डप बुकिङ गरिएको छ। विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताउँदै आएका महामन्त्रीद्वय लगायतले नेतृत्वमाथि दबाब खडा गरेर त्यसलाई नीति अधिवेशनमा बदल्न चाहेको पनि स्रोतको दाबी छ। यसमा पनि नेतृत्व तयार नभए अघि बढ्नुको कुनै विकल्प नभएको विशेष पक्षका एक नेताले बताए।

पार्टी महामन्त्री थापा र शर्मासहितका नेताहरूलाई आफूहरूले नेतृत्व विधान कार्यान्वयनका लागि तयार नभए त्यसविरुद्ध अघि बढ्न आग्रह गरेको बताए तर पार्टी विभाजनको पक्षमा थापा र शर्मा दुवै नभएको जिकिर गर्दै निकट एक नेताले भने, ‘अहिले हामीले एउटा सीमा निर्धारण गरेका छौं, त्यसभन्दा अघि नबढ्ने भन्ने नै छ अहिलेसम्म।’

महामन्त्री थापाले बुधबार समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूसँग छलफल गर्दै पार्टी विभाजन हुन नदिने दाबी गरेका छन्। ‘तपाईंहरूलाई साक्षी राखेर देशभरका कार्यकर्ता र शुभचिन्तकलाई आश्वस्त बनाउन चाहन्छु, पार्टी फुट्दैन,’ नेता चन्द्र भण्डारीद्वारा सार्वजनिक भिडियोमा थापाले भनेका छन, ‘कसैले चाहेर पनि पार्टी फुट्दैन। साँच्चिकै अप्ठेरो अवस्था आयो भने त बरु विष पिउँछु नि म। बरु आफूले विष पिएर भए पनि यसको एकता जोगाइराख्नेछु।’

थापाले समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूसँगको छलफलमा पुस २७ गते विशेष महाधिवेशनको उद्घाटन हुने बताउँदै सबैलाई सहभागी हुन आह्वान गरेका छन्।

संस्थापन पक्ष महामन्त्री थापासहितका नेताहरूले चाहे जस्तो विशेष महाधिवेशनलाई नीति महाधिवेशनमा परिणत गर्ने पक्षमा देखिएको छैन। यसबाट पार्टी विभाजनको अवस्थामा पुग्न सक्ने विश्लेषण गर्न थालिएको छ। दुवै पक्षले विशेष महाधिवेशनलाई ‘इगो’ बनाएको तर्क गर्दै एक नेताले भने, ‘विशेष महाधिवेशन, भेला, महाधिवेशन वा अन्य नाममा एउटा पक्षले मात्र कार्यक्रम गर्ने अवस्था आयो भने कांग्रेस विभाजन हुन्छ।’

अबको पाँच वर्ष कांग्रेस एकजुट हुँदा पनि सत्तामा पुग्ने अवस्था नभएको तर्क गर्दै ती नेताले भने, ‘अहिले फुटे फेरि मिलेर अघि बढौंला नि।’

यसैबिच विशेष महाधिवेशन पक्षधरले बुधबार पत्रकार सम्मेलन गरी १८ वटा उपसमिति गठन गरेको घोषणा गरेको छ। विशेष महाधिवेशन पक्षधर नेताले उपसमितिका संयोजक मात्र तोक्दै भनेका छन्, ‘यो रहर वा छनोटको विषय होइन, विधानको बाध्यकारी प्रावधान हो।’

विशेष महाधिवेशन पक्षका नेता देवराज चालिसेले महाधिवेशनको वैधतालाई लिएर चुनौती दिने हैसियत कसैसँग नभएको बताए। पार्टीको नेतृत्व गैरजिम्मेवार भयो भन्दैमा आफूहरू त्यस्तो नहुने तर्क गर्दै उनले भने, ‘पार्टीमा सत्ता कि मूल्य र परिवर्तनका लागि राजनीति भन्ने बहस चलिरहेको छ।’

कांग्रेसका ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी असोज २९ गते विशेष महाधिवेशनको मागसहित केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका छन्।

उक्त निवेदन केन्द्रीय समितिको बैठकमा अजेन्डाकारुपमा प्रवेश गरेको छैन। हस्ताक्षर सनाखतसहित विशेष महाधिवेशनको कार्यविधिसमेत कांग्रेसले अहिलेसम्म बनाएको छैन। कांग्रेसले मंसिर १५ गते १५औं महाधिवेशन पुस २६ गतेदेखि काठमाडौंमा गर्ने कार्यतालिका ल्याएको थियो।

मंसिरमै महाधिवेशन गर्नुपर्ने अडानमा रहेका महामन्त्री थापाले पुस १६ गतेदेखि गर्ने गरी केन्द्रीय समिति बैठकमा कार्यतालिका पेस गरेका थिए। त्यसलाई संशोधन गरी २६ गते महाधिवेशन गर्ने कार्यतालिका सर्वसहमतिले पारित गरिएको थियो। सदस्यता वितरणमै अल्झेर कार्यतालिका प्रभावित भएपछि पुस १८ गते बसेको कार्यसम्पादन समितिको बैठकले वैशाखको कार्यतालिका पारित गरेको छ।

प्रकाशित: २४ पुस २०८२ १२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App