राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबिच आज भेटवार्ता भएको छ।
राप्रपाद्वारा यही पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन हात्तीगौडास्थित लामिछाने निवास पुगेका हुन्। सभापति लामिछानेले कार्यक्रममा सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
सो अवसरमा दुई पार्टीका अध्यक्षबिच आसन्न चुनाव तथा निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउने विषयमा छलफल भएको उनले जानकारी दिए।
मुलुकको राजनीतिक स्थिरता, समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे छलफल भएको जनाइएको छ। राप्रपाले सोही दिन भृकुटीमण्डपमा गर्ने कार्यक्रमका लागि विभिन्न पार्टी नेता तथा कूटनीतिक नियोगका प्रतिनिधिलाई निमन्त्रणा गरेको छ। रासस
प्रकाशित: २४ पुस २०८२ १२:२५ बिहीबार





