३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘रोल नं १’ लाई विद्यार्थी र अभिभावकको बलियो साथ

चलचित्र ‘रोल नं १’ ले विद्यार्धी र अभिभावकको साथ पाएको छ। सिनेमा हेर्ने विद्यार्धी र अभिभावकले ‘रोल नं १’ को तारिफ गरेका छन्। सिनेमा हेर्नेले पुनः ‘रोल नं १’ हेर्न आउने बताएका छन्।

“हाम्रो चलचित्रलाई विधार्थी, स्कुलको साथ छ। हेर्ने जति सबैले भन्छन्– हामीले मात्र हेरेर हुँदैन, बुवाआमासहित फेरि हेर्न आउने छौँ,” निर्माता विनोद पौडेलले भने, “विद्यार्थी आउँदा हामी बुवाआमालाई पनि लिएर आउँछौँ भनिरहनुभएको छ। बुवाआमा आएर हेर्दा छोरोछोरीलाई पनि लिएर आएर हेर्ने हो भनिरहनुभएको छ। ”

विद्यार्थी र अभिभावक दुवैको साथ ‘रोल नं १’ लाई मिलेको उनले बताए। सिनेमाले नेपाली शैक्षिक प्रणाली र यसको मूल्यांकन विधिमा उठाएको प्रश्नप्रति अभिभावक र विद्यार्थी दुवै कन्भिन्स भएको निर्माता पौडेलको भनाइ छ।

चलचित्रलाई दर्शकले मन पराएकाले वर्ड अफ माउथ पनि राम्रो रहेको उनको भनाइ छ। पछिल्लो समय यो चलचित्र स्कुलले पूरै शो नै बुकिङ गरेर हेरिरहेका छन्। स्कुलले शो नै बुकिङ गरेर हेरिरहेको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा बाक्लै देखिरहेको छ। विद्यार्थीहरू सिनेमा हेर्न गएपछि सिनेमाले पाएका शो हाउसफूल भइरहेको निर्माण पक्षले जनाएको छ।

यसरी सिनेमा हेर्ने दर्शक आएपछि अझै लामो समय ‘रोल नं १’ जानेमा निर्माण टिम ढुक्क छ। सिनेमा हेर्ने दर्शकले विद्यार्थी, शिक्षक र अभिभावक सबैले हेर्नै पर्ने चलचित्र भनेर तारिफ गरिरहेका छन्। यो चलचित्रले हालसम्म नेपाली बक्सअफिसमा एक करोडभन्दा माथि ग्रसकलेक्सन गरिसकेको छ। सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई जोन योञ्जनको निर्देशन गरेका छन्।

चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। चलचित्रको बालकलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ छन्।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सहनिर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। ‘रोल नं १’ लाई महेश दवाडीले लेखेका हुन्।

शिवराम श्रेष्ठ डीओपी रहेको यो सिनेमामा प्रशान्त शिवाकोटीको संगीत र मदन घिमिरेको सम्पादन छ।

प्रकाशित: ३१ जेष्ठ २०८३ ०६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App