फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार समूह चरणको दोस्रो खेलमा विश्वकपमा पुनरागमन गरेको हाइटी र २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ। खेल नेपाली समयअनुसार बिहान ६:४५ बजे हुनेछ।
उत्तर अमेरिकी राष्ट्र हाइटी ५२ वर्षपछि विश्वकपमा फर्किएको हो। अघिल्लो सहभागितामा निराशाजनक प्रदर्शन गरेको टोली यस पटक नयाँ इतिहास रच्ने लक्ष्यमा छ। छनोट चरणमा प्रभावशाली प्रदर्शन गर्दै हाइटीले विश्वकप यात्रा तय गरेको थियो।
यता स्कटल्यान्ड आफ्नो नवौं विश्वकप खेल्दैछ। सन् १९९८ पछि पहिलो पटक विश्वकपमा फर्किएको टोलीसँग यस पटक समूह चरण पार गर्ने बलियो अपेक्षा गरिएको छ। स्कट म्याकटोमिने र एन्डी रोबर्टसनजस्ता अनुभवी खेलाडीको उपस्थितिले टोलीलाई थप बलियो बनाएको छ।
विश्वकपअघि मैत्रीपूर्ण खेलहरूमा उत्कृष्ट लय देखाएको स्कटल्यान्डलाई यस संस्करणको अर्को सम्भावित ‘डार्क हर्स’ मानिएको छ। यस पटक स्कटल्यान्डका समर्थकले सहभागिता मात्र नभइ नकआउट चरण यात्रा हुने विश्वास गरेका छन्।
यसअघि आइतबार बिहान ३:४५ मा भएको खेलमा ब्राजिल र मोरक्को बराबरी गोलमा रोकिएका छन्। न्यूयोर्क न्यूजर्सी रङ्गशालामा भएको खेलमा २१औं मिनेटमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए भने ब्राजिलका लागि ३२औं मिनेटमा भिनिसियस जुनियरले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए।
निर्धारितभन्दा १० मिनेट समय थप गर्दा समेत दुवै टोलीले थप गोल गर्न सकेनन्।
प्रकाशित: ३१ जेष्ठ २०८३ ०६:२८ आइतबार





