भक्तपुरको सूर्यविनायक नगरपालिका-१ सिरुटार विरुवास्थित उत्साहित सुधार केन्द्रमा आइतबार झडप हुँदा एक जनाको मृत्यु भएको छ।
झडपमा परी सोही वडाका बासिन्दा ४१ वर्षीय उमेश खड्गीको मृत्यु भएपछि सो क्षेत्र तनावग्रस्त बनेको छ। घटनापछि दोषीमाथि कारबाहीको माग राख्दै स्थानीय र आफन्तले प्रदर्शन जारी राखेका छन् भने प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ।
मृतककी धर्मपत्नी भगवती शाहीका अनुसार खड्गीलाई गत बिहीबार मात्रै स्वास्थ्य अवस्था सामान्य रहेकै बेला उक्त सुधार केन्द्रमा भर्ना गरिएको थियो। तर, आइतबार बिहान करिब ४ देखि ५ बजेको बिचमा सुधार केन्द्रका कर्मचारीहरू सोही वडामा रहेको उनको घरमै पुगेर ढोका ढकढक्याउँदै श्रीमान्लाई अस्पताल लगिएको र तत्काल अस्पताल आउन खबर गरेका थिए।
खबर पाएलगत्तै आफू मध्यपुर थिमिस्थित मध्यपुर अस्पताल पुगेको र त्यहाँ पुग्दा श्रीमान्को मृत्यु भइसकेको जानकारी दिइएको शाहीले बताइन्।
सामान्य अवस्थामा रहेका श्रीमान्को अस्वाभाविक मृत्युबारे सोधखोज गर्दा कुटपिटबाट ज्यान गएको पुष्टि हुने सिसिटिभी फुटेज आफूहरूले प्राप्त गरेको उनले जानकारी दिइन्।
प्राप्त सिसिटिभी फुटेजमा सुधार केन्द्रमा रहेका अन्य बिरामीहरूले आफ्ना पतिमाथि निर्घात कुटपिट गरेको प्रस्ट देखिएको भन्दै उनले घटनामा संलग्न दोषीहरूमाथि कारबाहीको माग गरेकी छन्।
घटनाको खबर फैलिएसँगै दोषीमाथि कारबाहीको माग राख्दै दिनभर सयौँको संख्यामा पीडितका आफन्त र स्थानीय बासिन्दाले सिरुटार विरुवा क्षेत्रमा प्रदर्शन गरेका थिए।
प्रदर्शनका कारण दिनभर सो क्षेत्र तनावग्रस्त बनेपछि स्थिति नियन्त्रणमा लिन ठुलो संख्यामा प्रहरी टोली परिचालन गरिएको थियो।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सुधार केन्द्रमा रहेका पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार शवको पोस्टमार्टम रिपोर्ट, घटनास्थलमा संकलित प्रमाण तथा सिसिटिभी फुटेजका आधारमा मृत्युको वास्तविक कारण पत्ता लगाउने प्रक्रिया अघि बढाइएको छ।
यसका साथै सुधार केन्द्रका सञ्चालक तथा कर्मचारीको भूमिका, मृतकको स्वास्थ्य अवस्था र मृत्यु हुनुअघिको घटनाक्रमबारे समेत सूक्ष्म अनुसन्धान भइरहेको छ। यद्यपि, समाचार तयार पार्दासम्म प्रहरीले कुनै आधिकारिक विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन।
पीडितका आफन्त सरोज खड्गीका अनुसार सुधार केन्द्रले अस्वाभाविक मृत्यु भएको स्वीकार गरेको छ। केन्द्रमै भएको प्रारम्भिक वार्तामा उक्त सुधार केन्द्रलाई त्यहाँबाट हटाउने र पीडित पक्षलाई उचित क्षतिपूर्ति दिनेबारे मौखिक सहमति भएको उनले जानकारी दिए। थप वार्ता र औपचारिक सहमतिका लागि सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बैठक बोलाइएको छ।
मृतककी नन्दज्वाइँ लक्ष्मीकेशरी शाहीका अनुसार खड्गीको शव हाल पोस्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल दुवाकोट भक्तपुरमा राखिएको छ।
लिखित र औपचारिक सहमति नभएसम्म शव नउठाउने अडान पीडित पक्षले लिएको छ। प्रारम्भिक विवरण अनुसार सुधार केन्द्रमा उपचारका लागि राखिएका खड्गीको बिहान करिब ४ बजेतिर मृत्यु भएको थियो।
प्रकाशित: २४ श्रावण २०८३ १९:३७ आइतबार





