२४ श्रावण २०८३ आइतबार
image/svg+xml
खेल

गाले ग्यालेन्ट्सले जित्यो एलपीएलको पहिलो उपाधि

चरिथ असलंका र इशान मलिङ्गाको उत्कृष्ट बलिङ प्रदर्शनसँगै गाले ग्यालेन्ट्सले श्रीलंका प्रिमियर लिगको उपाधि जितेको छ।

फाइनलमा जाफ्ना किङ्सलाई ५ विकेटले पराजित गर्दै ग्यालेन्ट्सले पहिलोपटक एलपीएलको उपाधि आफ्नो नाममा लेखाएको हो। कोलम्बोस्थित प्रेमदासा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको जाफ्ना १२३ रनमै समेटिएको थियो। ग्यालेन्ट्सका लागि इशान मलिङ्गाले ३ विकेट लिए भने चरिथ असलंका पनि प्रभावशाली देखिए।

दुवैले मिलेर जाफ्नाको मध्यक्रमलाई ध्वस्त पारे। मलिङ्गाले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै कुल १७ विकेट लिए। उनी एलपीएल २०२६ को सर्वाधिक विकेट लिने बलरसमेत बने। थारिन्दु रत्नायकेले पनि २ विकेट लिए। जाफ्नाका लागि विकेटकिपर ओपनर कामिल मिशाराले सर्वाधिक ४१ रन बनाए। उनले ३२ बलमा उक्त रन बनाएका थिए। तर १३औँ ओभरमा मलिङ्गाले उनको इनिङ्स समाप्त गरिदिए। चमिन्दु विक्रमसिंघेले १६ बलमा २५ रन बनाए।

१२४ रनको सामान्य लक्ष्य पछ्याएको ग्यालेन्ट्सले सुरुवातमै साम हार्परलाई गुमाएको थियो। तर टम रोजर्सले २७ बलमा ३४ रन बनाउँदै इनिङ्स सम्हाले। नवौँ ओभरमा शकिब अल हसनले लगातार दुई विकेट निकाल्दै रोजर्स र दिनुरा कालुपहानालाई आउट गरे। कालुपहानाले १९ बलमा ३१ रन बनाएका थिए।

त्यसपछि चमिका करुणारत्नेलाई पनि गुमाएको ग्यालेन्ट्सलाई दसुन शनाका र सहान आराच्चिगेले लक्ष्यसम्म पुर्‍याए। ग्याले ग्यालेन्ट्सले १२४ रनको लक्ष्य १५.५ ओभरमै ५ विकेट गुमाएर पूरा गर्‍यो। यससँगै ग्यालेन्ट्सले एलपीएलको इतिहासमा पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो।

प्रकाशित: २४ श्रावण २०८३ १२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App