इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५ बुँदे शान्ति सम्झौतालाई अस्वीकार गरेका छन्।
उनले हमासलाई ‘वास्तविक रूपमा निशस्त्र’ नबनाएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पारे। आइतबार मन्त्रिपरिषद्को बैठकमा बोल्दै नेतान्याहूले इजरायलले उक्त १५ बुँदे दस्तावेज स्वीकार नगर्ने बताएका हुन्।
उनले भने, ‘इजरायलले १५ बुँदे दस्तावेजलाई अस्वीकार गर्दछ।’ हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेनाले गाजाबाट फिर्ता नलिने र इजरायली सेना तथा नागरिकमाथि हुन सक्ने खतरालाई रोक्न सैन्य कारबाही जारी राख्ने उनको भनाइ थियो।
ट्रम्पको शान्ति बोर्डले गत महिना गाजामा हमास तथा अन्य सशस्त्र समूहहरूको ‘पूर्ण निशस्त्रीकरण’ का लागि सहमति भएको दाबी गरेको थियो। त्यसलाई ट्रम्पले गाजामा स्थायी शान्ति र सुरक्षातर्फको महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरेका थिए।
तर हमासले भने आफ्ना भारी हतियार हस्तान्तरण गर्ने विषयलाई इजरायलले गाजामाथिका सबै प्रकारका आक्रमण अन्त्य गर्ने र त्यहाँबाट आफ्ना सेना फिर्ता गर्ने विषयसँग जोडेको छ।
गाजा शान्ति सम्झौतामा के छ ?
ट्रम्पको प्रस्तावित सम्झौतामा गाजामा शान्ति कायम गर्न विभिन्न चरणमा काम गर्ने, हमाससहित अन्य सशस्त्र समूहलाई निशस्त्र बनाउने र इजरायली सेना क्रमशः फिर्ता गर्ने विषय समेटिएको छ।
सम्झौताको कार्यान्वयन तथा निगरानीका लागि ‘शान्ति बोर्ड’ गठन गर्ने प्रस्ताव पनि गरिएको छ। साथै युद्धबाट क्षतिग्रस्त गाजाको पुनर्निर्माणलाई अघि बढाउने योजना समावेश छ।तर नेतान्याहूले गाजाबाट इजरायली सेना फिर्ता गर्नुअघि हमासको वास्तविक निशस्त्रीकरण हुनुपर्ने अडान दोहोर्याएका छन्। उनले केवल कागजी वा ‘काल्पनिक निशस्त्रीकरण’ स्वीकार्य नहुने बताएका छन्।
नेतान्याहूका अनुसार इजरायलले सम्झौताबारे अमेरिकी अधिकारीहरूसँग छलफल गरिरहेको छ। केही प्रस्ताव इजरायलका लागि स्वीकार्य भए पनि केही विषयमा असहमति रहेको उनले बताए।
‘उनीहरूसँग केही विचारहरू छन्। तीमध्ये केही हामीलाई स्वीकार्य छन् र केही छैनन्। यी विषयमा आफ्नो अडान कसरी राख्ने भन्ने हामीलाई थाहा छ,’ नेतान्याहूले भने।
इजरायलमा आगामी चुनाव नजिकिँदै गर्दा नेतान्याहूमाथि घरेलु राजनीतिक दबाब पनि बढिरहेको छ। उनका दक्षिणपन्थी सहयोगीहरूले गाजा सम्झौताको विरोध गर्दै आएका छन्।
राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–ग्विरले पनि प्रस्तावित सम्झौतालाई ‘स्वीकार्य नभएको भन्दै अस्वीकार गरेका छन्। उनले सरकारलाई योजना रोक्न र गाजामा थप कडा नीति अपनाउन दबाब दिइरहेका छन्।
यससँगै ट्रम्पले गत वर्ष सेप्टेम्बरमा अघि सारेको गाजा शान्ति सम्झौताको कार्यान्वयनमा थप चुनौती देखिएको छ। इजरायल र हमासबीच युद्धविराम तथा निशस्त्रीकरणका विषयमा सहमति जुटाउन अन्तर्राष्ट्रिय प्रयास भइरहे पनि दुवै पक्षका मुख्य अडानबीच अझै ठूलो दूरी देखिन्छ।
प्रकाशित: २४ श्रावण २०८३ १८:४४ आइतबार





