महानायक राजेश हमालले आगामी चुनावसम्म देशको राजनीतिक वातावरण अझै अनिश्चित र अस्थिर बन्न सक्ने आशंका व्यक्त गरेका छन्।
शनिबार आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’ को लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।
आफ्नो पुस्तकका केही अंश वाचन गर्ने क्रममा उनले डेढ-दुई वर्षअघि एक राजनीतिक नेतासँग भएको संवाद स्मरण गर्दै भने, ‘आउने चुनावसम्म नेपाली राजनीतिक माहौल अझै परिवर्तन हुनसक्छ। यो झन् गन्जागोल र गडबडतिर जान पनि सक्छ।’
उनले पछिल्लो समय नयाँ र पुरानो पुस्ताबीचको दूरी विगतमा कहिल्यै नदेखिएको स्तरमा बढेको उल्लेख गरे।
‘हरेक कालखण्डमा दुई पुस्ताबीचको दूरी हुने नै गर्छ, तर जति दूरी पुरानो र नयाँ पुस्ताको बीच यो समयमा छ, त्यति विगतमा बिरलै थियो,’ हमालले भने।
अभिनेता हमालले अहिलेको पुस्तामा राजनीति, देश, विकास र सुशासनका विषयमा बेग्लै र स्पष्ट बुझाइ रहेको बताए। उनले वर्तमान राजनीतिक अवस्थाले लोकतान्त्रिक मूल्य-मान्यताको अवहेलना हुने परिस्थिति नआउला भन्न नसकिने चिन्ता व्यक्त गरे।
यद्यपि, उनले नेपाली जनता सचेत रहेको र आफ्नो लोकतान्त्रिक अधिकार संरक्षणका लागि अग्रसर हुनेमा आफू आशावादी रहेको पनि बताए।
‘मलाई आशा के छ भने नेपाली जनसमुदाय सचेत छ। आफ्नो लोकतान्त्रिक अभ्यास र अधिकार संरक्षण गर्न अग्रसर हुनेछ,’ उनले भने।
आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’ राजनीति, समाज र आफ्नो व्यक्तिगत जीवनका विभिन्न पाटाहरूको संगालो भएको बताउँदै उनले लेखक यज्ञशसँग विभिन्न कफी सपदेखि निजी निवाससम्म भएका कुराकानीहरू पुस्तकमा समेटिएको जानकारी दिए।
प्रकाशित: २५ आश्विन २०८२ १८:१८ शनिबार


-600x400.jpg)


