अन्तर्राष्ट्रिय साक्षरता दिवस २०२५ को अवसरमा ‘डिजिटल युगमा साक्षरता प्रवर्द्धन’ भन्ने नाराका साथ विविध कार्यक्रम भएको छ।
संस्कृति इन्टरनेसनल स्कुल, ठुलो भर्याङले आयाेजना गरेकाे कार्यक्रममा विभिन्न वक्ताले आआफ्ना विचार राखेका थिए। वक्ताहरूले पठन संस्कृतिको महत्त्व, डिजिटल युगमा साक्षरता विस्तारका अवसर र चुनौतीबारे गहन विश्लेषण गर्दै विद्यार्थीहरूसँग अनुभव बाँडेका थिए।
कवि शकुन्तला जोशीले बाल्यकालमा दुर्गम पहाडी गाउँमा पनि बुबाको पुस्तकालयबाट विश्वसाहित्यका किताब पढ्न पाएको अनुभव सुनाइन्। कुनै सञ्चारका माध्यम नभएको त्यो कालमा किताबले नै आफूलाई विश्वसँग जोडेको बताउँदै यस डिजिटल युगका पुस्तालाई पुस्तक अध्ययनको सौन्दर्यबारे जोड दिएकी थिइन्।
अहिलेका ‘जेन जी’ पुस्ताले डिजिटल प्रविधि मार्फत ज्ञान र सूचना प्राप्त गर्न जति सहज छ, यसको असावधानीपूर्ण प्रयोगले व्यक्ति सामाजिक सम्बन्धबाट कट्दै जाने खतरा पनि त्यत्तिकै रहेको बताइन्।
प्रकाशक सुदेश डोटेलले अतिरिक्त पुस्तक पठनले सिर्जनात्मकता र समालोचनात्मक सोच सबल बनाउने भन्दै नयाँ पुस्ताले डिजिटल साक्षरतासँगै पुस्तक संस्कृतिलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
नयाँ पुस्तालाई पठन संस्कृतिसँग जोड्न शिक्षक तथा अभिभावकहरूलाई नै पहिले पठन संस्कृतिसँग जोड्न आफूहरूले अभियान नै चलाइरहेको बताए। साथै पठन संस्कृतिबारे एक अन्तर्राष्ट्रिय सर्भेक्षणले एक सयभन्दा बढी देशको वर्षभरि बढी पुस्तक पढ्ने सरदर आँकडामा अमेरिका सबैभन्दा अगाडि देखिएको, भारत, पाकिस्तानसम्म पनि पर्दा नेपाल सूचीमै नपरेको देखिनु हाम्रो पठन संस्कृति निकै पछाडि रहेको संकेत भएको बताए।
सञ्चारकर्मी दीपक समिरले बाल्यकालमा पढेका पुस्तकहरूले आफूलाई जीवनको मार्गदर्शन गरेको अनुभव सुनाउँदै आजको पुस्तामा पुस्तक पढ्ने बानी कमजोर हुँदै गएको बताए। अहिले पढ्ने, ज्ञान लिने अनेक डिजिटल माध्यम भए पनि पुस्तकका पानालाई भौतिक रूपमै बोध गर्दै पढ्दाको आनन्द, त्यसले दिने गहिरो अनुभूति अन्यत्रबाट नपाइने पनि अनुभव सुनाएका थिए।
कार्यक्रमका क्रममा विद्यार्थीहरूले साहित्य, डिजिटल प्रविधि, पठन संस्कृतिको भविष्य, पुस्तक छनोट, पढ्न समय निकाल्ने उपाय, पढाइप्रति उत्साह जगाउने तरिका जस्ता विषयमा वक्ताहरूसँग जिज्ञासा राखेका थिए। प्रश्नोत्तर सत्रमा विद्यार्थीहरूले आफ्ना जिज्ञासा राख्दा वक्ताहरूले प्रष्ट जवाफ दिंदै व्यावहारिक सुझाव पनि दिएका थिए।
विश्व सिग्देलले सहजीकरण गरेकाे कार्यक्रममा विद्यालय निर्देशक दिप्ती आचार्य, प्रधानाध्यापक तिमिला श्रेष्ठ, सहप्रधानाध्यापक अमित मन्त्री लगायत विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
प्रकाशित: १९ भाद्र २०८२ ११:३६ बिहीबार





