एक सय एक साहित्यिक संस्थाले वरिष्ठ साहित्यकार पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरेकाे छ।
अभिनन्दन समारोह समितिका संयोजक तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा चन्द निवास भक्तपुर लोकन्थली, थिमीमा सामूहिक अभिनन्दन गरिएकाे हाे।
कार्यक्रममा अध्यक्ष लेकाली, तारा किशन फाउण्डेशनका संरक्षक किशनसिंह धामी र नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले उनी र उनकी धर्मपत्नीलाई दोसल्ला, टोपी, दुवो र फूलको माला लगाएर फूल वर्षासहित कद बराबरको अभिनन्दनपत्र प्रदान गरेका थिए। उक्त अवसरमा चन्दलाई सगुन पनि दिइएको थियो।
कार्यक्रममा सुदूरपश्चिम बैतडीको स्थानीय कलाकारहरूले लोकनृत्य छलिया र बाजागाजासहित सामूहिक अभिनन्दनमा सहभागी भएका थिए। त्यस्तै लाेकप्रिय सङ्गीतकार एवं गायक नरहरि प्रेमीले विभिन्न गीत गाएका थिए।
कार्यक्रमका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पार्दै भने, "मदन पुरस्कार प्राप्त विशिष्ट सर्जक लोकेन्द्रबहादुर चन्दलाई वरिष्ठ साहित्य सर्जकको हैसियतमा अभिनन्दन गरिएको हाे। चन्द जस्तो विशिष्ट सर्जकको जिउँदै सम्मान हुनु गर्वको कुरा हो। हामी सर्जकको जिउँदै गर्ने सम्मानलाई निरन्तरता पनि दिनेछौं।
साहित्यिक पत्रकार संघले २०३८ सालमा नै बीपी कोइरालालाई अभिनन्दन गरिसकेको छ। यसअघि पनि अन्य विभिन्न सर्जकलाई सामूहिक सम्मान गरिसकिएको छ। एक सय एक संस्थाद्वारा आयोजित यो अभिनन्दन कार्यक्रमलाई भने तारा किशन फाउन्डेसन, अमेरिकाले प्रायोजन गरेको छ।"
कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले अभिनन्दित व्यक्तित्व सर्जक लोकेन्द्रबहादुर चन्दको साहित्यिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए।
यसैगरी जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापा र गुञ्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठले शुभकामना मन्तव्य प्रस्तुत गरेकी थिइन्।
त्यस्तै साहित्यकार मोमिलाले सहजीकरण गरेकाे कार्यक्रममा परिवारका तर्फबाट चन्दका छोरा पूर्व मन्त्री जयन्त चन्दले धन्यवाद ज्ञापन गरेका थिए।
नेपाली राजनीति र साहित्यका क्षेत्रमा सुप्रसिद्ध चन्द चार पटक नेपालका प्रधानमन्त्री बनेका थिए। कुशल शब्द-शिल्पी हुन् उनी। मदन पुरस्कारसहित विभिन्न मानसम्मान र पुरस्कारले विभूषित चन्द शालीन, सादगी र भद्र राजनीतिज्ञ मानिन्छन्।
पञ्चायतकालमा दुई पटक तथा त्यसपछि दुई पटक प्रधानमन्त्री भएका चन्दसँग राजनीतिको लामो अनुभव त छ नै साहित्यमा पनि उनको निकै योगदान छ।
उनको ‘बाह्रौँ खेलाडी’ कृति लोकप्रिय भएकाले कतिपयले उनलाई सम्बोधन गर्दा नै ‘बाह्रौँ खेलाडी’ पनि भन्ने गरेको पाइन्छ। बाह्रौँ खेलाडी किनारीकृत खेलाडी जस्तो मानिए पनि निर्णायक खेलाडी पनि बन्न सक्छ खेलमा।
उनको व्यक्तित्व राजनीतिसँगै साहित्यिमा अझ चम्किलो छ। कुशल साहित्यकार उनका एक दर्जन साहित्यिक कृति प्रकाशित छन्। यही उनको साहित्यिक र सामाजिक व्यक्तित्वलाई एक सय एक विभिन्न संस्थाले अभिनन्दन गरेका हुन्। समारोहमा उनका पारिवारिक सदस्यसँगै विविध क्षेत्रका विशिष्ठ व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो।
अभिनन्दित व्यक्तित्व वरिष्ठ साहित्यकार चन्दले अख्यान र निबन्ध सिर्जनाका माध्ययमबाट नेपाली समाज रूपान्तरणका लागि महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई अभिनन्दन गरिएको पत्रमा उल्लेख छ। उनलाई एकसय एक संस्थाका प्रतिनिधिले अलगअलग खादा, माला र दोसोल्लाले अभिनन्दन गरेका थिए।
कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ 'रोदन'ले अभिनन्दनपत्र वाचेका थिए।
अभिनन्दन पत्रमा लेखिएको छ, "कुनै पनि देश र जातिको मूल पहिचान भन्नु नै त्यस देशको भाषा, साहित्य, कला र संस्कृति तथा मौलिक परम्परा हुन्। यस कुरालाई मनन गर्दै यसैको जगमा उभिष्ठर आख्यान र निबन्ध सिर्जनाका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा विशिष्ठ योगदान गर्दै आएका बहुआयामिक व्यक्तित्व वरिष्ठ सर्जक लोकेन्द्रबहादुर चन्दलाई विशेष समारोहमा प्रदान गरिएको -
अभिनन्दनपत्र
लामो राजनीतिक यात्रामा आफ्नो विशेष पहिचान र योगदान स्थापनाका साथै स्वच्छ र शालीन छवि बनाउन सफल तपाईंले आफ्ना रचना र सिर्जनाका माध्यमबाट नेपाल र नेपाली जनताको हितमा अविचल र अचल रूपमा उभिएर आफ्नो छ दशक लामो सिर्जनयात्रा पूरा गर्नुभएको छ। यस समयमा कथा, उपन्यास र हास्यव्यङ्ग्य निबन्ध सिर्जनाका माध्यमबाट नेपाल र नेपाली समाजलाई पुऱ्याउनुभएको योगदान अविस्मरणीय र महत्त्वपूर्ण रहेको छ।
यसरी सिर्जना र समाजसेवाका माध्यमबाट यथेष्ठ योगदान पुयाउँदै आएका तपाईंलाई हामी संस्थाहरूका तर्फबाट सामूहिक रूपमा हार्दिक अभिनन्दन गर्दछौं। तपाईंको व्यक्तित्व र कृतित्व सधैं प्रकाशमान भइरहोस्।
विभिन्न संस्थामा आबद्ध हामी सबैजना यस विशिष्ट घडीमा तपाईं र तपाईंको परिवारको उत्तरोत्तर प्रगति एवम् सिर्जनशील जीवनका निमित्त हार्दिक शुभकामना व्यक्त गर्दछौं।"
प्रकाशित: २४ मंसिर २०८२ ११:४९ बुधबार





