२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

कथाकार सुशीला प्रधानाङ्गको 'जलेको रात' लोकार्पण

क्याप्शन

सहिद दिवसकाे अवसरमा 'आलेख' साहित्यिक मासिकले वरिष्ठ कथाकार सुशीला प्रधानाङ्गको कथासङ्ग्रह 'जलेको रात' को लोकार्पण गरेकाे छ।

'आलेख' साहित्यिक मासिकका सम्पादक अच्युत घिमिरेकाे अध्यक्षता र वरिष्ठ समालोचक भाषाविद् प्राडा यादवप्रकाश लामिछानेको प्रमुख आतिथ्यमा बालकोटस्थित कथाकारको  निवासमा पुस्तक लाेकार्पण भएकाे हाे।

कार्यक्रममा डा. यादेवी ढकालले शब्द मार्फत सहभागीहरूलाई स्वागत गरेकी थिइन्। साहित्यकार सजनी नौबागेले सञ्चालन गरेकाे कार्यक्रममा वरिष्ठ समालोचक युवराज मैनाली र ठाकुर शर्मा भण्डारीले पुस्तककाे समीक्षात्मक टिप्पणी गरेका थिए।

मैनालीले कथाहरू हाम्रै समाजका हामीले भोगेका दुःख - अभावका, महिला विद्रोहका र सकारात्मक सोचका भएका बताए। यहाँका कथाहरूको महत्त्वपूर्ण पक्ष भनेको कथाहरू पढ्न थालेपछि नसिध्याई छोड्न नमिल्ने, कौतुहल जगाउने र कथाहरू उत्कृष्ट भएका बताए।

यसरी नै भण्डारीले पहिलो कथासङ्ग्रहले उनलाई स्थापित बनाएको छ। उनका कथाहरू नेपाली समाजमा हामीले भोगेका, देखेका कुराहरूको जीवन्त प्रस्तुति हो, कथामा प्राय: महिलाहरूका समस्याहरू भएकाे बताए।

लाेकप्रिय समालाेचक प्रमोद प्रधानले ७५ वर्षको उमेर कटे पनि सुशीला दिदीको लेखनकाे सक्रियता र विशिष्टतानेपाली साहित्यका लागि ठूलो उपलब्धि भएकाे बताए।

मन्तव्यको क्रममा कथाकार प्रधानाङ्गले देखेभाेगेकाे कुरा सकारात्मक दृष्टिकाेणकाे साथ कथा लेख्न गरेकी बताइन्।आफूले भोगेका कुराहरू नै मैले कथाका विषय बनाएको, कसैले मलाई केही भन्यो भने म आफैँ मलाई नै तुलना गर्छु र कथा लेख्छु, कथामा मेरै छोराछोरी, बुहारी, मैले भोगेकै कुराहरू छन् र तिनलाई म सकारात्मक दृष्टिकोणमा कथामा उतार्छु।

प्रमुख अतिथिको मन्तव्यमा प्राडा लामिछानेले यी कथाहरूले  पाठकका मन छुन्छन्, यी कथाहरूले नेपाली साहित्यका पाठकमा निकै प्रभाव पार्ने मैले विश्वास लिएको बताए।

कार्यक्रममा सीता शर्मा, डम्बर घिमिरे, डाक्टर सावित्री श्रेष्ठ लगायतले मन्तव्य प्रस्तुत गरेका थिए।

गीतकार वसन्तराज अज्ञात, कथाकारका छोरी,छोरा, बुहारी, नाति र आफन्तहरू लगायत शुद्ध स्राेताको रूपमा रहेका थिए। साहित्यकारहरूबीच पारिवारिक भेटघाट र सम्बन्ध जस्तो लाग्ने कार्यक्रम बडो रमाइलो र रोचक ढङ्गले सम्पन्न भएकाे थियाे। 

प्रकाशित: १७ माघ २०८२ १३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App