भारत, पुणेका व्यवसायी केतन अग्रवालको हत्या प्रकरणमा अभिनेत्री तथा सांसद कंगना रनौतले कडा टिप्पणी गरेकी छन्। सामाजिक सञ्जालमा सक्रिय कंगनाले पछिल्लो समय युवा पुस्तामा बढ्दो सम्बन्ध र उनीहरूको जीवनशैलीलाई लिएर गम्भीर प्रश्न उठाएकी हुन्।
आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत कंगनाले युवाहरूलाई सचेत गराउँदै लेखेकी छिन्, ‘उद्देश्य बिनाको जोश आत्म-पराजय हो।’ उनले आजका युवामाझ इन्स्टाग्राम, डेटिङ एप्स, ह्वाट्सएप, कुलत र क्लब धाउने प्रवृत्ति सामान्य बन्नु चिन्ताको विषय भएको बताएकी छिन्। कंगना भन्छिन्, ‘उद्देश्य बिनाको यस्तो जोशले अन्ततः आत्महत्या वा हत्याजस्ता भयानक घटना निम्त्याउँछ।’
उनले युवाहरूलाई आफ्नो ऊर्जा करियर निर्माण वा सीप विकासमा लगाउन आग्रह गरेकी छिन्। कंगनाले थपेकी छिन्, ‘युवाहरूले खुला दिमाग राख्नुपर्छ तर जीवनशैली भने सरल र परम्परागत हुनुपर्छ। यसो गर्नाले मात्र मानिसहरू जेल जीवन, एक्लोपन, नकारात्मकता र डिप्रेसनजस्ता समस्याबाट टाढा रहन सक्छन्।’
के हो केतन अग्रवाल हत्या प्रकरण?
पुणेका २६ वर्षीय घरजग्गा व्यवसायी केतन अग्रवालको गत जुन १८ मा लोहगढ किल्लाको पहाडबाट लडेर मृत्यु भएको थियो। सुरुमा दुर्घटनाजस्तो देखिए पनि प्रहरी अनुसन्धानले यो हत्या भएको खुलासा गर्यो। अनुसन्धानका अनुसार केतनकी मंगेतर सिया गोयलले आफ्ना प्रेमी चेतन चौधरीसँग मिलेर हत्याको योजना बनाएकी थिइन्।
प्रहरीका अनुसार केतन र सियाको यसै वर्ष फेब्रुअरीमा इन्गेजमेन्ट भएको थियो र नोभेम्बरमा विवाह गर्ने तयारी थियो। तर, सियाले इन्गेजमेन्टपछि पनि प्रेमी चेतनसँग गोप्य रूपमा विवाह गरिसकेकी थिइन्। केतनको परिवारले विवाहको तयारीका लागि केही आधिकारिक कागजात मागेपछि पक्राउ पर्ने डरले सियाले चेतनसँग मिलेर केतनको हत्या गरेको प्रहरीले बताएको छ। हाल दुवै अभियुक्त प्रहरी हिरासतमा छन्।
सियाले हत्या हुनु केही समय अघिसम्म पनि सामाजिक सञ्जालमा केतनसँगका रोमान्टिक तस्बिर र भिडियोहरू पोस्ट गरिरहेकी थिइन्। उनले केतनसँगको इन्गेजमेन्टलाई 'मेरो मनले घर पाएको' भन्दै सार्वजनिक रूपमा प्रेम दर्साएकी थिइन्। वर्तमानमा, प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्ति तथा अभियुक्तहरूको बैंक खातासमेतको विवरण केलाउँदै अनुसन्धान जारी राखेको छ।
प्रकाशित: २५ असार २०८३ २२:०७ बिहीबार





