१ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

डा. देसारको ‘जीवनको यात्रा: गन्तव्य’ पाठकमाझ

म्याक्सिलोफेसियल सर्जन डा. विकास देसारको तेस्रो पुस्तक ‘जीवनको यात्रा: गन्तव्य’ को लोकार्पण गरिएको छ। गोदावरी नगरपालिकाको बज्रबाराही हलमा शनिबार आयोजित एक समारोहबिच समालोचक एवं चलचित्र निर्देशक प्रकाश सायमिले उक्त पुस्तक लोकार्पण गरेका हुन्।

लोकार्पण गर्दै सायमिले पुस्तकलाई जीवन जिउने आधारका रूपमा चर्चा गरे। चिकित्सा पेसामा लागेर पनि कलम चलाउन रुचि राख्ने डा. देसारले पुस्तक प्रकाशन गरेर स्वास्थ क्षेत्रमा इँटा थपेको उनले बताए। यो पुस्तकले जीवन, त्याग र आत्मानुभूतिको अन्वेषण गगरेको उनको भनाइ थियो।

कार्यक्रममा डा. अर्जुन केसीले आफ्नो पेसाभन्दा अलग क्षेत्रमा दक्षता देखाउनु भनेको एउटा उदाहरणीय कार्य भएको बताए। कार्यक्रममा नगर प्रमुख गजेन्द्र महर्जन, प्रदेशसभा सदस्य रघुनाथ महर्जन, डा. केसी, रामचन्द्रमान सिंह, पूर्वस्वास्थ्य सचिव लगायत उपस्थित थिए।

पुस्तकमा डा. देसारका व्यक्तिगत अन्तर्दृष्टि र सामाजिक प्रतिबिम्बको विचारशील मिश्रण रहेको पाइन्छ। पुस्तकले जीवन, यसका चुनौतीहरू र पूर्तिको बाटोबारे लेखकका गहिरा अनुभूतिहरूलाई प्रस्तुत गरेको छ।

डा. देसारले जन्मदेखि मृत्युपर्यन्त मानिसहरूले केका लागि प्रयास गर्छन्, के कस्ता अनुभव गर्छन् र वास्तवमा जीवनको महत्त्व के छ भनेर पुस्तकका सुन्दर ढंगले चित्रण गरेका छन्। रोजगारी र अवसरको खोजीमा छोराछोरी विदेश बसाइँ सर्दा सँगै गएका वृद्ध आमाबाबुले सामना गर्ने कठोर वास्तविकताहरूलाई पुस्तकमा मार्मिक रूपमा समेटिएको छ।

यो सामाजिक टिप्पणीभन्दा बाहिर, पुस्तकले आत्म-प्रेम र व्यक्तिगत विकासको शक्तिशाली सन्देश दिन्छ। देसारले कुनै पनि क्षेत्रमा योगदान पुर्‍याउन पहिले एक व्यक्तिका रूपमा बलियो, दयालु र पूर्ण हुनुपर्नेमा जोड दिएका छन्। ‘जब तपाईं मानसिक, भावनात्मक, आध्यात्मिक रूपमा आफ्नो ख्याल राख्नुहुन्छ तब मात्र तपाईं अरूको सेवा गर्न सक्नुहुन्छ,’ उनले भने।

पुस्तकभरि देसारले जीवनमा उत्पन्न हुने समस्यालाई पनि सम्बोधन गर्छन्, व्यावहारिक र हार्दिक समाधानहरू प्रदान गर्छन्। चाहे भावनात्मक संघर्ष होस् वा सामाजिक दुविधा होस्, अस्तित्वगत प्रश्न नै किन नहोस्, पुस्तकले सबै उमेर र पृष्ठभूमिका पाठकहरूलाई सान्त्वना प्रदान गरेको छ।

जीवनका भोगाइहरू, निजी अनुभूतिहरू, विभिन्न चिन्तनहरूसँगै चिकित्सा क्षेत्रमा काम गर्दाका तीतामिठा अनुभवहरूलाई समेटेर पुस्तक लेख्दै आएका देसारले यसअघि ‘रिफ्लेक्सन अफ लाइफ’ र ‘लभ लाइफ एन्ड ह्याप्पिनेस’ नामका दुई पुस्तक प्रकाशनमा ल्याइसकेका छन्। डा. देसार पाटन अस्पताल दन्त चिकित्सा विभागका प्रमुख हुन्।

प्रकाशित: २५ श्रावण २०८२ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App