डा. तारानाथ घिमिरे ‘धुर्कापानी’ को गीत ‘दिनमा पनि रातमा पनि...’ सार्वजनिक गरिएको छ। काठमाडौंमा शनिबार डिआर सिर्जना संसारद्वारा आयोजित कार्यक्रममा वरिष्ठ कवि डा. नवराज लम्सालले प्ले बटम थिचेर गीत सार्वजनिक गरेका थिए। गीतमा वरिष्ठ गायक तथा संगीतकार विष्णु अधिकारीले स्वर÷संगीत दिएका छन्।
कवि लम्सालले ‘दिनमा पनि रातमा पनि...’ गीतमा संवेदनाका बहुकोण रहेको बताए। उक्त गीत पाँचसात वटा फूलको बोटबाट एकएक थुंंगा टिपेर संयोजन गरेजस्तो रहेको बताए। ‘एउटाएउटा संवेदना टिपेर गीतको सुन्दर माला बनाइएको रहेछ,’ उनले भने, ‘गीतको संख्या कति रेकर्ड भयो भन्नुभन्दा पनि गीत गुणस्तरीय र कालजयी हुनुपर्छ।’
समीक्षक गीता डा. गीता त्रिपाठीले ‘धुर्कापानी’को गीतमा गीतमा प्रतीकात्मक अर्थ खोज्ने ठाउँ धेरै रहेको बताइन्। गीतमा अनगिन्ती रुवाइ रहेको उनको भनाइ थियो। ‘गीतमा व्यक्त रुवाइले हामी सबैको संवेदनालाई हल्लाइदिएको छ,’ उनले भनिन्, ‘यो गीत महारोदनको समयमा लेखिएको जस्तो लाग्छ।’ उनले धुर्कापानीलाई दुःखान्त गीतकारका रूपमा चिनाइन्।
संगीतकार राजु सिंहले गीतमा शब्द विन्यास असाध्यै राम्रो रहेको र त्यसलाई संगीतले न्याय गरेको बताए। ‘जुन कुरा शब्दले भन्न सक्दैन, त्यो कुरा संगीतले भन्न सक्नु यसको सफलता हो,’ उनले भने।
समाजशास्त्री एवम् विश्लेषक डा. विष्णु दाहालले सुगम संगीतको परिचय दिँदै पछिल्ला दिनमा सुगम संगीतलाई आयातीत र छाडा संगीतले प्रभाव जमाइरहेको बताए। उनले भने, ‘समाज बदलिँदै जाँदा प्रेमको प्रसंग बदलिँदो रहेछ। कथा बदलिन्छ। संगीतमा पनि फ्युजन हुँदै जाँदो रहेछ। समाज जस्तो छ, त्यहीअनुसारका श्रोता तयार हुन्छन्।’ उनले यस्ता गीतलाई समयानुकूल बनाउने संस्थाको अभाव रहेको बताए।
भौतिकशास्त्रका प्राध्यापक डा. राजुभाइ ट्याटले गीतको १२ पंक्तिमा व्यक्ति र प्रकृति सम्बन्धका विभिन्न सन्दर्भहरू रहेको बताए। उनले पहिला रातमा भन्ने कि दिनमा भन्ने दोधार रहेको पनि बताए। संगीतकार एवम् गायक विष्णु अधिकारीले धेरै पटकको प्रयासमा गरिएको संगीत संयोजन गरेपछि धुर्कापानीको गीत तयार भएको बताए। उनले गीतकारसँग बसेरै संगीत संयोजन गर्दाको रोचक अनुभव सुनाए।
प्रकाशित: १८ श्रावण २०८२ ०८:५० आइतबार





