२२ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयप्रति ‘बाङ्गा अक्षर’ काे विमति

हास्यव्यङ्गयकाे मझेरी ‘बाङ्गा अक्षर’ ले नेपाल सरकारले अङ्ग्रेजी भाषामा मात्र इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णय फिर्ता लिनुपर्ने जनाएको छ।

संस्थाले विज्ञप्ति मार्फत नेपाल सरकारले सार्वजनिक साइनबोर्डका रूपमा रहेको गाडीको नम्बर प्लेट अङ्ग्रेजीमा मात्र अनिवार्य गर्न खोज्नु संविधानविपरीत भएको बताएको छ।

संस्थाले अहिले नेपाली भाषालाई विस्थापित गरेर अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने कार्य नेपाल सरकारले तीव्रता दिएको उल्लेख गर्दै भनेकाे छ, ‘नेपालको संविधानको धारा ७ मा “देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ ” भनेर स्पष्ट लेखिएको छ।

सरकारी कामकाजको भाषामा सरकारका दस्तावेज, चिठ्ठीपत्र, सार्वजनिक सूचना र साइनबोर्ड समेत पर्दछन्। गाडीको प्लेट नम्बर पनि सार्वजनिक साइनबोर्ड नै हो। अङ्ग्रेजीमा मात्र इम्बोस्ड नम्बर प्लेट राख्नु नेपाली भाषा विस्थापित गर्ने आधिकारिक सरकारी अभियान हो।

संस्थाले विज्ञप्ति मार्फत भाषा र संस्कृति हराएपछि समाज पहिचानविहीन हुने बताएकाे छ, ‘कुनै देश र समाजको भाषा र संस्कृति मरेपछि आयातित भाषा र संस्कृतिले ठाउँ लिन्छ। त्यसपछि समाज त्यसै पहिचानविहीन बन्ने रहेछ।’

दक्षिण अमेरिका र अफ्रिकाका अधिकांश देशमा युरोपियनले उपनिवेश जमाए। युरोपियनले दक्षिण अमेरिका र अफ्रिकाको भूभाग छाडे तर भाषा र संस्कृतिले अझै छाडेको छैन। अफ्रिकीहरू अझै भाषिक दासताको जन्जीरमा छन्। युरोपको भाषा संस्कृतिमा अफ्रिकी स्वाद हुन सक्दैन। अफ्रिकी स्वादका लागि अफ्रिकी भाषा संस्कृति नै चाहिन्छ।

केही मानिसले अन्तर्राष्ट्रिय प्रचलनकाे उल्लेख गर्दै अङ्ग्रेजीमा नम्बर प्लेट राख्न जायज भएकाे बताएकाेमा बाङ्गा अक्षरले खण्डन गर्दै भनेकाे छ, ‘नेपाली जिब्रोमा गुन्द्रुकभातले दिने स्वाद बर्गरले दिंदैन। अफ्रिका लगायत विश्वका अधिकांश देश कुनै न कुनै बेला बेलायत र अन्य युरोपियन देशका उपनिवेश थिए। उनीहरूको सरकारी कामकाजको भाषा अङ्ग्रेजी हो। त्यही भएर उनीहरू अङ्ग्रेजीमा लेख्न बाध्य छन्।’

सरकारी कामकाजको भाषा र गाडीको प्लेट नम्बरको भाषा प्रायः फरक हुँदैन। चीन, कोरिया, जापान जस्ताे देशका गाडीका प्लेट नम्बर अङ्ग्रेजीमा मात्र लेखिएका छैनन्। अङ्ग्रेजी र सरकारी कामकाजको भाषामा लेखिएका छन्। 

नेपाल सयौं भाषाभाषीको फूलबारी हो। ती फूलका थुँगा एउटै मालामा उनेर संरक्षण गर्नुपर्छ। उन्ने अभियान सुरु पनि भएको छ तर त्यो अभियानले मूर्त रूप लिन नपाउँदै माला चुँडाएर हुर्कँदै गरेको नेपाली भाषाको रुखल ढाल्ने अभियान रोकिनुपर्छ। त्यसैले अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने कार्य नेपाल सरकारले तुरुन्तै रोकेर सके नेपालीमा मात्र, नसके अङ्ग्रेजी–नेपाली दुवै भाषामा राख्नुपर्छ।

संस्थाले भाषा मुटु भएकाे उल्लेख गर्दै विभिन्न संघसंस्थालाई आआफ्नो ठाउँबाट दबाब दिनुपर्ने बताएकाे छ। भाषा भनेको मुटु हो र मुटुविनाको शरीर मृत हुन्छ। मृत शरीरको कुनै अर्थ हुँदैन। विश्वविद्यालय, नागरिक समाज, साहित्य समाज, सबै भाषिक निकाय, नेपाली सञ्चार जगत् र विश्वभरिका नेपाली भाषा साहित्यलाई माया गर्ने हामी सबैले आआफ्नो ठाउँबाट दबाब दिनुपर्छ।

बाङ्गा अक्षर नेपाली भाषाको विकास, विस्तार र प्रवर्द्धनमा लागेको एक अन्तर्राष्ट्रिय संस्था हो। बाङ्गा अक्षरका सचिव बाबु आचार्यले अमेरिकाकाे क्यालिफोर्नियाबाट प्रेस विज्ञप्ति जारी गरेकाे छ।

प्रकाशित: ११ भाद्र २०८२ १०:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App