१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

दिदीकाे नाममा एउटा कविता

कविता

घामसँग खेल्ने -

जूनसँग खेल्ने मेरी दिदी

बाेकेर सिङ्गो आकाशलाई

सङ्घर्षबाट नहार्ने मेरी दिदी

मुस्कुराउनुहुन्थ्यो

लालीगुराँसका थुङ्गा भएर

चराजस्तै उन्मुक्त भाव बाेकेर रमाउनुहुन्थ्याे।

बादल भएर फाँटहरूमा रमाउने

शीत भएर फूलहरूमा मुस्कुराउने मेरी दिदी

जूनकाे साैन्दर्य भएर आँगनीमा खेल्ने -

घाम भएर काेठासङ्घारमा पाेखिने मेरी दिदी

क्रान्तिकाे एउटा पाठ हुनुहुन्थ्यो

अन्धविश्वासलाई टेकेर हिँडेकाे समाजमा -

दिदीकाे क्रान्तिचेतना

मन पर्दैन थियो

ती केही आदिम साेच भएका

पुरातन मान्छेहरूलाई

र बमजस्तै

शब्दका निर्मम प्रहारहरू बर्साउँथे

दिदीका निस्वार्थ भावविरुद्ध।

खप्नु थियो

निर्मम प्रहारहरू दिदीले

खप्नुहुन्थ्याे

हिड्नु थियो काँडाहरूमाथि टेकेर

हिँड्नुहुन्थ्याे

थाम्नै नसकेर पीडाकाे अजङ्ग

त्यो पहाड

एकाएक हराउनुभयाे मेरी दिदी

उभिएको धर्तीबाट।

ती आदिम साेच भएका पुरातन मान्छेहरूलाई

रत्तिभर चिन्ता छैन

मेरी दिदी हुनु / नहुनुमा

आफ्ना भन्नेहरू नै

प्रत्येक दिन

उत्सव मनाइरहेका छन्

यता म भने -

प्रत्येक भाइटीकामा

दिदीकाे तस्बिर बाेकेर

आँसुको खाेला बगाइरहेकाे हुन्छु

उनीहरूलाई

कुनै दु:ख मनाउ छैन

निस्फिक्री छन्

एकान्तका मेरा मनहरूसँग

एकाकार हुन कहिल्यै खाेजेनन्

आज धेरै वर्षपछि

साेध्न मन लागेको छ

तिम्रा सन्तानहरू पनि 

मेरी दिदीजस्तै क्रान्तिकारी छन्

ती चराजस्तै स्वतन्त्र रमाउन चाहन्छन्  

तिनका विरुद्धमा

किन तिम्रा आवाजहरू माैन छन्?

मुस्कुराइरहेका छन् फूलहरू

खुसी छन् चराहरू

कुहिराे आफ्नै लयमा हिँडेकाे छ

बाटाे त मैले मात्र बिराएकाे रहेछु

दिदीकाे नाममा

एउटा  कविता लेखिरहँदा

मसँग मुस्कान नफक्रिएका ओठ छन् 

कुनै उत्साह नभएको एउटा उदास काेठा छ

र आँखाका डिलभरि आँसु छन्।

प्रकाशित: १७ श्रावण २०८२ १२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App