निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी २५४ उजुरीमध्ये ८८ वटामा स्पष्टीकरण सोधेको र त्यसमध्ये ५७ वटाको जवाफ प्राप्त भएको जनाएको छ।
स्पष्टीकरण सोधिएका ८८ उजुरीमध्ये ४ राजनीतिक दल, ३३ उम्मेदवार र ५१ सरकारी/शैक्षिक संस्था/कर्मचारी तथा अन्य व्यक्तिसँग सम्बन्धित छन्। प्रदेशगत रूपमा बागमतीमा ४०, मधेशमा १३, कोशीमा ८, लुम्बिनीमा ७, गण्डकीमा ६, कर्णालीमा ४ र सुदूरपश्चिममा ४ उजुरीमा स्पष्टीकरण सोधिएको छ।
आयोगले जाजरकोट-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार शक्ति बहादुर बस्नेत र रुपन्देही-२ मा नेपाल जनसेवा पार्टीका उम्मेदवार कमल भुसाल (निकोलस भुसाल) लाई जनही २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। उनीहरुलाई निर्वाचन आचरसंहिता विपरित काम गरेको पुष्टि भएकाले जरिवाना गरिएको आयोगले जनाएको छ।
यस्तै श्रम संस्कृति पार्टीलाई आचारसंहिता उल्लङ्घनमा २५ हजार रुपैयाँ जरिवाना गरिएको आयोगले जानकारी दिएको छ।आयोगले बाँके-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खगेन्द्र सुनारलाई आचारसंहिता प्रतिकूल अभिव्यक्ति नदिन सचेत गराएको छ।
त्यस्तै भक्तपुर-२ मा नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठक (शोभा)लाई जेनजी आन्दोलनसँग सम्बन्धित प्रतीकात्मक सामग्री दुरुपयोग नगर्न चेतावनी दिँदै पुनः त्यस्तो कार्य गरे कानुनबमोजिम कारबाही गरिने जनाएको छ।
प्रकाशित: १५ फाल्गुन २०८२ १८:१९ शुक्रबार





